नेपालको राष्ट्रियता र राजनीतिक पार्टीबीच विवादको विषय बनेको महाकाली कहाँबाट शुरु हुन्छ त ? २०४९ मा अनिवार्य अवकाशमा पर्नुभएका नापी विभागका तत्कालिन महानिर्देशक बुद्धिनारायण श्रेष्ठ त्यसपछिका दिनहरुमा सिमा सम्बन्धी अध्ययनमा लाग्ने क्रममा अमेरिकाको लाईब्रेरी अफ कंग्रेसमा यसबारे दुई हप्तासम्म अध्ययन गरेर फर्किनु भएका श्रेष्ठले बताउनुभयो–मैले दुई वर्ष अघि लण्डनको ब्रिटिश लाईब्रेरीको ‘इण्डिया अफिस रेकर्डस एण्ड कलेक्सन’ विभागमा ३ हप्ताको अध्ययन गर्दा लिम्पियाधुरा नै महाकालीको उद्गमस्थल हो भन्ने फेला पारेको थिएँ, त्यसलाई थप पुष्टि गर्ने प्रयासका क्रममा अमेरिका पुगेका बेला लाईब्रेरी अफ कंग्रेसमा बसेर अध्ययन गर्दा त्यसको पुष्टि हुन सक्यो ।

नक्सा अध्ययन गर्ने क्रममा आफ्नो अनुभव बताउँदै बुद्धिनारायण श्रेष्ठले भन्नुभयो–सन् १८६० सम्म नक्साहरुमा महाकालीको उद्गम लिम्पियाधुरा हो भन्ने पाइन्छ तर सन् १९०० को आसपासमा आईपुग्दा भारतीयहरुले लिपुलेकबाट आएको नदीलाई काली भनेर लेख्न थाले । यो नक्साचाहीं नेपालको नापी विभागमा पनि छ । पछिल्ला नक्साहरुमा काली नदीलाई कुट्याङदी नदी भनेर लेख्न थाले । अहिले जुन खोलालाई भारतीयहरुले काली भन्ने गरेका छन्, त्यो खोला यसअघि नक्सामा कुनै नदीका रुपमा उल्लेख भएको पाइदैन ।
जब यो विवाद उठ्यो नेपाल–भारत संयुक्त सीमा समितिको काठमाडौंमा बसेको बैठकमा नेपाली पक्षले १८५६ को नक्सालाई आधार मानेर छलफल गरिनुपर्ने अडान लिए । तर भारतीय पक्षले त्यसबेलाको नक्साको बैज्ञानिक आधार नभएकोले अहिले सान्दर्भिक नहुने बताए । उनीहरुको भनाई चाहीँ १९२१ को नक्सा दुबै पक्षको सहमतिमा तयार गरिएकोले त्यसैलाई आधार मानिनु पर्छ भन्ने थियो । त्यसबेला नेपालको कथित सहमति गैर प्राविधिकहरुले गरेको १९२१ को नक्सा नेपाललाई मान्य नहुने अडान दोहोर्‍याएपछि छलफल भएको ऐजेण्डामा नै सहमति हुन सकेन । त्यसपछिका बैठकहरु पनि अनिर्णयमै टुंगिएका छन् ।

अहिले बेलायत र अमेरिकामा फेला परेका प्रमाणका आधारमा नेपालले आफ्नो दाबी दोहोर्‍याउन नसक्ने अवस्था छैन । भूमिचित्र कम्पनी प्रा.लि. संचालन गरेर बस्नु भएका बुद्धिनारायण श्रेष्ठले यस बारे बताउनु भयो– तर भारतले पनि मान्न पर्‍यो । यसको लागि ऐतिहासिक आधारहरुले समेत पुष्टि गर्न सके राम्रो हुने बताउँदै श्रेष्ठले भन्नुभयो– ब्रिटिश लाइब्रेरी र लाईब्रेरी अफ कंग्रेसमा ऐतिहासिक प्रमाणहरु भेटिन सक्छन् । इतिहासवेत्ताहरुले यसका लागि प्रयास गर्नुपर्ने बताउँदै श्रेष्ठले आफूले ब्रिटिश लाइब्रेरीमा १८४० तिरको भारतीय जनगणना हेर्दा लिम्यिाधुरा पूर्वका ती गाउँको गणना गरिएको नपाएको पनि उल्लेख गुर्नभयो ।

(नेपालको सिमानाबाट)