हाइडेलवर्गको किल्ला सहितको दरबार (क्यासल), प्राचीन शहर, पुरानो पुल र हाइलिगगाइष्ट चर्चको अवलोकन गरिसक्दा दिनको ४ बजिसेकेको थियो । हामी तत्पश्चात स्पायर फक्र्यांै र हाम्रो अध्ययन र दिनचर्या आफ्नै किसिमबाट अघि बढिरहेको थियौँ । त्यसैबिच अक्टोबर १९८९ को अन्तिम हप्तातिर हामीलाई जर्मनीको अर्को ऐतिहासिक शहर नुरेम्वर्ग अवलोकन गर्न लग्ने कुरा थाहा पायौँ । यसले हामीलाई रोमाञ्चित गरिरहेको थियो । नभन्दै अक्टोबर महिनाको पछिल्लो आइतबार हामी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका सबै विद्यार्थीहरुलाई पुरा एकदिने कार्यक्रम अन्तर्गत बसबाट नुरेम्वर्ग लगियो । स्पायरबाट पूर्वतर्फ करिब २४० किलोमिटरको दुरीमा रहेको नुरेम्वर्ग पुग्न हामीलाई जम्मा २ घण्टा मात्रै लागेको थियो । बिहान साँढे ९ बज्दा हामी नुरेम्वर्ग पुगिसकेका थियौँ । पुग्दा–पुग्दै हामीलाई सबैभन्दा पहिले त्यहाँको मध्यकालिन किल्लासहितको इम्पेरियल दरबार अवलोकन गर्न लगियो ।    

नुरेम्वर्गको इम्पेरियल दरबार

चुनढुंगाले बनेको यस दरबार क्षेत्रलाई शहरी पर्खालहरुले किल्लाबन्दी गरेको रहेछ । जहाँभित्र दरबारजस्तै लाग्ने अरु मध्यकालिन भवनहरुको समूह नै रहेछ । यसै किल्लासहितको दरबार र भवनको कारण नुरेम्वर्गलाई जर्मन प्रादेशिक राज्य वभेरियाको शहरहरुमध्येकै एक मात्रै नभई यूरोपकै मध्यकालिन ऐतिहासिक शहर मानिँदो रहेछ । यस दरबारसहितको किल्लाले र शहरले पवित्र रोमन साम्राज्यको शक्ति, महत्व र यूरोपमा त्यसको भूमिकाको पनि प्रतिनिधित्व गर्दछ भन्दा रहेछन् । रोमन साम्राज्यकालमा रोमनहरुले सिँगै यूरोपलाई आफ्नो साम्राज्यमा गाभ्दै जाँदा उनीहरु जुन–जुन शहरमा पुगे त्यहीँ त्यहीँ आफ्नो राजधानी (मुकाम) बनाउँदै त्यहाँ किल्लासहितको दरबार र शहरको स्थापना गर्ने क्रममा नुरेम्वर्ग पनि पवित्र रोमन साम्राज्यको राजधानी बन्न पुगेको रहेछ ।  विभिन्न बेलामा विभिन्न जर्मन सम्राट, राजा र सामन्तहरुले यस दरबारलाई आफ्नो निवास बनाएका रहेछन् । यस दरबारसहितको किल्ला तीन भागमा विभाजित भएको रहेछ । जसमा पहिलो भागमा किल्लासहितको दरबार, दोश्रो भागमा बुरग्रेभ्स दरबार र तेश्रो भागमा दरबार जस्तै देखिने भवनहरु पर्दा रहेछन् । किल्लासहितको दरबारको निर्माण सन् १००० मा भएको र अरु भागहरु क्रमशः त्यसपछिका शताब्दीमा बनेका रहेछन् ।

पहिलो भागको निर्माण पवित्र रोमन साम्राज्य अन्तर्गतको जालियन वंशले, दोश्रो भागको निर्माण होहेनस्टाउफेन सम्राट र तेश्रो भाग अन्तर्गतका शहर र भवनहरु मध्यकालका पछिल्ला शताब्दीमा क्रमशः बन्दै गएका रहेछन् । सन् १६१८ देखि ४८ सम्म चलेको ३० वर्षे गृहयुद्धको बेलामा यस दरबारले आफ्नो महत्व गुमाएको पछि यसको मध्यकालिन महत्वलाई बुझी १९ औँ शताब्दीमा आएर यस दरबारको महत्वलाई कायम राख्न केही सुधारात्मक कार्य गरिएको रहेछ । पछि जर्मनीमा नाजीको शासन आएपछि यसलाई पूर्णरुपमा जिर्णोद्धार गरी पुरानै अवस्थामा फर्काइएको रहेछ । दोश्रो विश्वयुद्ध ताका भएको हवाई आक्रमणको कारण यो किल्लासहितको दरबार भग्नावशेष बन्न पुगेको रहेछ जसलाई पुनःनिर्माण गरी पहिले कै अवस्थामा ल्याउन ३० वर्ष लागेको रहेछ ।

दरबार पुग्न हामी चुनढुंगाको सानो पहाड चढी हिम्मेल्सटोर (स्वर्गद्वार) बाट भित्र छिर्‍यौँ । द्वारसँगै बोहेमियन परिवारले बनाएको हाजेनवुर्ग नामक टावर रहेछ । त्यसको सँगै रहेको १३ औँ शताब्दीको आधाआधीमा बनेको सिलिण्डर जस्तो देखिने टावर रहेछ जसलाइ सिनवेल टावर भन्दा रहेछन् । यस टावरलाई सन् १५६० मा अग्लो बनाइएको रहेछ । भित्र छिर्दै जाँदा एउटा झण्डै काठले बनेको घरको भित्र पट्टी ज्यादै गहिरो इनार रहेछ जुन दरबार जत्तिकै पुरानो रहेछ । यसको गहिराई ५० मिटर र पानीको सतहको गहिराई ३ मिटर भनेर लेखिएको रहेछ । इनार सफा गर्न मिल्ने गरी तलैसम्म खोपाहरु बनाइएको रहेछ जसले इनारमा छिर्ने मान्छेको लागि भ¥याङको काम गर्दो रहेछ । त्यही इनारकै छेउमा स्नानघर र लुगा फेर्ने गरी दुई साना कोठा रहेछन् । यो इनारले तत्कालिन समयमा दरबारको लागि आवश्यक पानी पुरै पूर्ति गर्दो रहेछ । अगाडि बढ्दै जाँदा बाहिरी चोकमा कास्टेलन्सगेवइड, सेक्रेटेरियट गेवइड र फिनान्च्जस्टाडेल नामक सरकारी काम काज सञ्चालन गर्ने भवनहरु रहेछन् ।

उत्तर मध्यकालिन समयमा बनेका यी भवनहरु दोश्रो विश्वयुद्धकालमा ध्वस्त भएपश्चात पुनःनिर्माण भएका रहेछन् । त्यसपछि दरबारको भित्री चोकमा पस्ने भित्रीद्वार रहेछ । यहाँ जालियन वंशको भग्नावशेषलाई संरक्षण गरिएको रहेछ । यहीँबाट इम्पेरियल सापल (शाही गजुर) र दरबार मुख्य कक्ष केमेनाट (महिला गृह) देखिँदो रहेछ । मुख्य दरबारलाई पलास नामाकरण गरिएको रहेछ । दुई तला भएको यो दरबारको पहिलो तलामा सम्राटको कार्यकक्ष र दोश्रो तलामा सम्राटको निवास रहेछ । पछि यसलाई दरबार प्रदर्शनीको रुपमा विकास गरिएको रहेछ ।

दरबारको आकर्षण भनेको खास इम्पेरियल सापेल नै रहेछ । यसको वास्तुशैलीकै कारण यो विश्वविख्यात हुन पुगेको रहेछ । सोपानको ढाँचामा बनेको यो सापेल (गजुर) ले मध्यकालीन समयमा समाजको वर्ग विभाजन कसरी भएको रहेछ भनेर जनाउन खोजेको रहेछ । इम्पेरियल सापेलसँगै त्यही बेला बनेको हाइडेनटुर्म नामक अर्को टावर रहेछ । यद्दपि त्यहाँ रहेका हाइडेन कालीन मूर्ति तथा पेन्टिङहरु त्यहाँबाट हटाइएको बताईंदो रहेछ । केमेनाट (महिलागृह) को निर्माण चाहिँ होहेनस्टाउफेन कालमा बनेको रहेछ । यो भवन १९४५ मा आगलागीमा परी ध्वस्त भएपछि पुनःनिर्माण गरिएको रहेछ । यति कुराहरु अवलोकन गरेपछि हामीलाई बुरग्रेभ्स दरबार अवलोकन गराउन लगियो । यो दरबार सिनवेलटावर लुगिन्सलाण्डको वीच क्षेत्रमा ठडिएको रहेछ । १४२० मा यो दरबार पुरै ध्वस्त भएको कारण यहाँभित्र भएका बहुमूल्य वस्तुहरु नगरपालिकाले खरिद गरी संरक्षण गरेको रहेछ । यी पुराना दरबारको समूहको उत्तरमा एक पाँच चुच्चे (पेन्टागोनाल) गोथिक शैलीको इट्टाले बनेको टावर ठडिएको रहेछ यस टावरलाई बुरग्रेभ्स दरबारको महत्वपूर्ण अंशको रुपमा लिईंदो रहेछ । यसै टावरसँगै अर्को एक वालवुर्गा सापेल (गजुर) देखिँदो रहेछ । दोश्रो विश्वयुद्धमा पुरै ध्वस्त भएको यो गजुर सन् १९७० मा पुनःनिर्माण गरिएको रहेछ ।