सिक्किम भारतमा पछि गाभिएको राज्य हो । त्यसमा पनि नेपालको पुरापूर हक लाग्छ । कसरी त ? इतिहासमा जाउँ । विश्वका पुराना देशहरुको सूचीमा नेपाल पर्छ । त्यो सुचीमा भुटान र सिक्किम छैनन् । जब हामी पुनः एकीकरणको प्रक्रियामा थियौं, त्यतिबेला बाइसे र चौबिसे जस्ता ससाना टुक्रामा विभाजित देशहरु थिए । ती सबैमा राजा थिए । सिक्किम त्यस्तै एउटा देश हो ।

पुनएकीकरणका क्रममा हामीले सिक्किमको दुई तिहाइ भाग आफ्नो पक्षमा पारेका हौं । नेपालले युद्ध हारेपछि बि्रटिसले आफ्नो टेरिटोरी र नेपालका बीचमा ‘बफर स्टेट’का रुपमा सिक्किमलाई हालिदिए । २०१७ मा सिक्किम र अंग्रेजबीच टिटालिया सन्धी भएको थियो । उक्त सन्धीमा ‘नेपालसित लिएको जमीन तिमीलाई दिएका छौं’ भनेर प्रष्ट लेखेको छ । यसको मतलब सिक्किम पहिले नेपालकै अधीनमा थियो भन्ने स्वीकारोक्ति हो ।

सिक्किमलाई ब्रिटिशले स्वतन्त्र राष्ट्रको मान्यता भने थिएनन् । आफ्नो ‘संरक्षित राज्य’ का रुपमा राखे । ब्रिटिशले छाडेर गएपछि भारतले १९५० मा सिक्किमसित सन्धी गर्‍यो । उक्त सन्धीमा आन्तरिक रुपमा सिक्किम स्वतन्त्र छ, तर बाह्य मामलाहरु भारतले हेर्नेछ भन्ने उल्लेख गरिएको छ ।

नेपाल र सिक्किमबीच मेची नदिको विषयमा विवाद भयो । सिक्किमले सिद्दीलाई नै मेची भन्यो । नेपालले अहिलेको मेचीलाई मेची भन्यो । त्यो विवाद मिलाउनका लागि ब्रिटिश अधिकारीहरु नेपाल आउने क्रममा दार्जिलिङमा प्रवेश गरे । उनीहरु त्यहाँको हावापानीबाट खुबै प्रभावित बने । आराम गर्न र स्वास्थ्योपचारको हिसाबले पनि बस्न लायक ठाउँ रहेको भन्दै उनीहरुले दार्जिलिङका भूभाग लिनलाई आफ्नो देशमा सन्देश पठाए । त्यतिबेला सिक्किम राज्यमा पर्थ्यो दार्जिलिङ । बेलायतले यो कुरा सिक्किमका राजा चोग्याललाई राख्यो । चोग्यालले प्रस्ताव सहजै स्वीकार गरी उपहारका रुपमा दार्जिलिङ ब्रिटिशलाई दिए ।

बि्रटिश उपनिवेश हटेपछि चोग्यालकी अमेरिकन रानी होप कुकले दार्जिलिङ सिक्किमको अधिनमा रहनुपर्ने भन्दै भारत सरकारलाई स्मरणपत्र लेखिन् । ‘ब्रिटिशलाई आराम गर्न र स्वाथ्योपचारका लागि मात्रै आफ्नो भूभाग दिएको’ र यसको सार्वभौमसत्ता सिक्किमसँगै रहेको भनेर लेखहरु पनिलेखिन् । यसबाट भारत सशंकित मात्र बनेन, चोग्यालप्रति आगो भयो ।

त्यसपछि उसले सिक्किमलाई नै निल्ने रणनीति बनाएर लेन्डुप दोर्जेलाई उभ्यायो । सिक्किम भारतमा विलय गर्ने कि स्वतन्त्र रहने विषयमा लेन्डुप र राजाको बीचमा काटोछिनो भयो । चुनाव भयो । लेन्डुपको पार्टीले ३२ मा ३१ सिट जित्यो । उनले संसदबाट भारतमा मिल्छौं भन्ने प्रस्ताव पारित गराए । त्यसपछि जनमत संग्रहको नाटक पनि मञ्चन गरियो । सिक्किम खासमा जनतालाई झुक्याएर भारतमा गाभिएको हो । जनमत संग्रहमा राजा चाहिन्छ कि प्रजातन्त्र भनेर सोधिएकोमा यसलाई सिक्किम स्वतन्त्र रहने कि भारतमा मिल्ने भन्ने प्रश्नमा रुपान्तरण गरियो र भारतमा मिल्ने पक्षमा बहुमत देखाइयो । यदी ग्रेटर नेपाल कायम भयो भने सिक्किम भारतको हातमा रहदैन ।