ट्रिअरको पोर्टा निग्रा र क्याथेड्रल अवलोकन गरिसक्दा दिनको झण्डै ३ बजेको थियो । तत्पश्चात अव घरमै गएर आराम गर्ने कुरा गेरहार्डले गरेपछि मैले पनि स्वीकृति जनाए र हामी विस्तारै उस्को घर तर्फ लाग्यौ । घर पुग्दा वेलुकाको ६ वजेको थियो । घरमा नेपालदेखि आएको छोराको साथी पाहुना पाएर उसका वावुआमा पनि खुसि थिए । घरपुग्ने वित्तिकै हामी हरियो घासमाथि राखिएको टेवलको वरीपरि वस्यौ र कफि खादै गफ गर्यौ । उनीहरुले मलाई मेरो आमावुवाको वारेमा सोधे । मैले मेरो वुवा उत्तरी ध्रुव प्रदेश पुग्ने पहिलो नेपाली र आमा प्राथमिक शिक्षाको शिक्षण प्रशिक्षण लिने पहिलो समूहको महिला र उनैले मलाई ३ कक्षासम्म घरमै पढाइ एकै पटक ६ वर्षको उमेरमा ४ कक्षामा भर्ना गरेको कुरा सुनाउदा उनीहरु अचम्म भए । तत्पश्चात करिव ९ वजे तिर चिज, पाउरोटी र जुश खाएर हामी आआफ्नो कोठामा लाग्यौ । भोलीपल्ट विहान आठ वज्दा हामी सबै व्रेकफाष्ट टेवलमा जम्मा भएका थियौ । ब्रेकफाष्ट पश्चात गेरहार्डले त्यो दिन ऐतिहासिक बोपार्ड शहर र त्यहाँको दरवार सहितको किल्ला अवलोकन गर्ने अनि राइन नदी ज्यादै साघुरो गल्छी भएर वग्ने ठाउ लोरेलेइ गएर सानो पानी जहाज चढने र उसका वावुआमा पनि संगै जाने कुरा वताउदा मलाई आनन्द लाग्यो । करिव साढे नौ तिर लाग्यौ हामी चारैजना वोपार्ड शहरको मुटु तर्फ ।

बोपार्ड शहर
यो एउटा ऐतिहासिक तर राइन नदीको किनारमा स्थित ९ वटा गाउ मिलाएर वनाइएको सानो नगरपालिका रहेछ । यसै ठाउमा राइन नदी ज्यादै साघुरो गल्छी भएर वग्ने हुंदा यस ठाउ जर्मनीमात्रै नभै पुरै यूरोपको पर्यटन आर्कषणको केन्द्र रहेछ । यसलाई जर्मन सरकारले मान्यता दिएको टुरिष्ट रिसोर्ट रहेछ ।  यो १७ किलोमिटर लामो साघुरो गल्छी भएको ठाउलाई लोरेलेइ भन्दो रहेछ र यहि गल्छी उल्लेख भएको गीत पुरै जर्मन भरी लोकप्रिय रहेछ । राइन नदि यस ठाउमा आइपुग्दा पुरै घुमेको रहेछ यसैको कारण माथि वाट हेर्दा सासाना थुम्काहरुले छेकेको कारण खण्डित रुपमा तालहरुको समूह जस्तो देखिने कारण बोपार्डको थुम्कोलाई चारताल दृश्यावलोकन स्थल पनि भनिदो रहेछ । अर्को कुरा राइन नदिको किनार भएको कारण जुन महिना देखिनै यहा प्रचण्ड गर्मी हुने कारण यहा ब्यापक रुपमा अंगुरको खेति गरिने रहेछ । यहा भएको पुरातात्विक उत्खननबाट प्राप्त अनुसार १३ हजार वर्ष अगाडिनै यहा फेडरमेसर सस्कृति हावी भएको र ब्यापारिक वस्तुहरु भण्डारण गर्ने खुला गोदाम सहित चोकहरु भएको प्रमाणित भएको रहेछ । रोमनकालमा बोपार्डलाई रोमन सम्राट जुलियस सिजरले आफ्नो साम्राज्यमा गाभी राइन नदीको देव्रे किनारमा वस्ती वसाएका रहेछन् भने पछि तेश्रो शताब्दि तिर आएर ब्यपारको वृद्धि सँगै नदीको दाहिने तर्फ पनि वस्ती वस्न शुरु भएको रहेछ ।

बोपार्ड त्यतिखेर रोमन साम्राज्यको सीमामा रहेको हुंदा जर्मानिकहरुको आक्रमणलाई निस्तेज पार्ने उद्देश्यले यहाँ दरवार सहित किल्लापनि वनाइएको रहेछ पछि सन ४०५ को अन्त्यतिर गएर रोमन साम्राज्यको राजधानीको सुरक्षा भन्दै यहा भएका रोमन सैनिक रोम फिर्ता बोलाइएको रहेछ । पछि सन ६४३ मा बोपार्ड मेरोभिन्ज्यान वंशको प्रशासनिक केन्द्र वन्न पुगेको रहेछ । तत्पश्चात बोपार्ड सधै जर्मन साम्राज्यको अधिनमा रहेको सन १३०९ सम्म जर्मन सम्राटहरु यस ठाउमा मनोरञ्जन गर्न, विदा मनाउन र राइन नदीमा नौका विहार गर्न आउदा रहेछन् । त्यसको लागि उनीहरुले त्यहा आफ्नै निवाश पनि बनाएका रहेछन । बोपार्डको अर्को सुन्दरता भनेको काठको फ्रेममा वनाइएको धेरै सुन्दर घरहरु रहेछन । शहरको केन्द्र पुरै यस्ता मध्यकालिन घरहरुले सजिएका रहेछन् । यी घरहरुमा त्यतिखेर मंत्रीका कार्यालयहरु संचालन भएका रहेछन् । रोमनहरुले छोडेर गएपनि सन १३१२ तिर तत्कालिन रोमन सम्राट हेनरी सातौंले बोपार्ड आफ्ना भाई लक्जेमवर्गका वाल्डभिनलाई सुम्पेको कारण बोपार्डका जनता क्रोधित भई रोम साम्राज्यको विरुध्द संघर्ष शुरु गरी सन १३२७ मा बोपार्डमा आफ्नै स्वायत्त शासन शुरु गरेछन् । यस कार्यलाई आर्कविशप वाल्डभिनले सहज नलिई बोपार्ड माथि आक्रमण गरी फेरी आफनै नियन्त्रणमा लिएपछि यहाको शासन ट्रिअरको एलेक्ट्रोरेट अन्तर्गत गएको रहेछ । त्यही मौका वाल्डभिनले यहाँ किल्ला सहितको दरवार (क्यासल) बनाउन लगाएका रहेछन् । बोपार्डका जनता र विदेशी शासक वीच भएको बैमनश्यताको कारण फेरी सन १४९७ मा युध्द हुन गएको रहेछ ।

वोपार्डका जनताले युद्ध थेग्न नसक्दा उनीहरुको हार भएपछि रोमन साम्राज्यले यहा १२ हजार सैनिक स्थायी रुपमानै तैनाथ गर्न थालेछ । त्यसको ३० वर्षे पछि सन १६३२ मा वोपार्ड ओट्टो लुडभिगको शासन अन्तर्गत गएको तर पौलैण्डका राजवंशको कलहको कारण भएको युद्धमा फ्रेन्च सैनिकहले जित हात पारेपछि बोपार्ड फ्रान्सको अधिनमा, अनि फेरि पछि अष्ट्रिया वभेरियाको संयुक्त शासनको अधिनमा पुगेछ । पछि प्रसियन राजवंश चान्सेलर विस्मार्कको अगुवाइमा जर्मनीको एकिकरण शुरु गरेपछि बोपार्ड स्थायीरुपमा जर्मनीको अधिनमा रहदै आएको रहेछ । सन १९८९ को अगष्टमा बोपार्ड घुमेपछि फेरि सन २००६ तिर रोटरी क्लव डिल्लीवजारको प्रतिनिधिमण्डल लिएर म त्यहाँ गई नौका विहार गर्ने अवसर परेको थियो जुनकुराले मेरो मष्तिष्क अमेट छाप छोडेको छ ।