पोर्टा निग्रा अवलोकन गरिसक्दा दिनको १२ बजेको थियो । त्यसपछि मित्र गेरहार्डले नजिकैको रेष्टुराँमा लन्च गर्ने भनेर लग्यो । के खाने सोध्दा मैले त्यहाँको प्रचलित खाना खाने भनेपछि उसले जाउअर क्राउट र भुष्र्ट खाने सल्लाह दियो ।  खादेर अमिलो बनाएको रातो र सेताबन्दाको गुन्दु्रकलाई जाउअर क्राउट र ससेजलाई भुष्र्ट र त्यसको साथमा उसिनेको आलुको पेष्ट र तोरीको गेडा पिनेर बनाएको अचार दिँदो रहेछ । मलाई त्यो जर्मनी आएदेखि नै मनपर्ने खानाभित्र पर्दथ्यो । त्यो खाएर केही समय रेष्टुराँमा नै बिताएपछि हामी त्यहाँको क्याथेड्रल जस्लाई डोम भनिन्छ, त्यो अवलोकन गर्नतर्फ लाग्यौं ।
ट्रिअरको डोम 
यो डोम पनि जर्मनीको धेरै पुरानो चर्चमध्ये एक रहेछ । यो चर्चको वास्तु डिजाइन र पुरातात्विक महत्वको कारण विश्व विख्यात बनेको यो चर्चको निर्माण चारौं शताब्दिको प्रारम्भमा नै भएको रहेछ । तर पछिका शताब्दिहरुमा यस चर्चमा नयाँ नयाँ निर्माणहरु थपिंदै गएका रहेछन् । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको यस डोममा चारवटा रोमनशैलीका धरहरा जस्ता टावर रहेछन् । यस चर्चलाई क्रिश्चियनकलाको महत्वपूर्ण संग्रहालय पनि भनिँदो रहेछ । यस चर्चको खास नाम चाहिँ सेन्ट पिटर क्याथेड्रल रहेछ । ऐतिहासिक स्रोतलाई आधार मान्दा यस चर्चको निर्माण सम्राट कोन्स्टान्टिन महानले आफू क्रिश्चियन धर्ममा प्रवेश गरेको अवसर पारेर सन् ३२९ र ३४६ को बीचमा गर्न लगाएका रहेछन् । शुरुमा यस चर्चको तल्लो तलामा उनको आमाको दरबार रहेछ र त्यही दरबारलाई अग्लो बनाउँदै जाँदा यो डोम बन्न पुगेको रहेछ ।  त्यहाँ भएको पुरातात्विक उत्खनन अनुसार त्यतिखेर रोम बाहिर पश्चिम युरोपमा बनेको यो डोम सबैभन्दा विशाल क्रिश्चियन संरचना मानिदो रहेछ । 
अर्को महत्वपूर्ण कुरा भनेको यस डोमको जग डोमभन्दा चार गुणा ठूलो रहेछ जस्मा डोम लगायत पादरीहरु बस्ने गुम्बाहरु समेत ठडिएका रहेछन् । चर्चलाई घेरेको इटाका पर्खालहरुको भग्नावशेष चर्च निमार्णकै बेलाका प्राचीन रहेछन् । पछिल्ला शताब्दिहरुमा संरक्षणको अभावमा यो चर्च जिर्ण हँुदै गएको र सन ८८२ मा भाइकिंगहरुले यसलाई पुरै ध्वस्त बनाएका रहेछन् ।  पछि सन ९९३ मा ट्रिअरका विशप एगवर्टले पुरानै डिजाइनमा यस डोमको पुनरनिर्माण शुरु गराउन लगाएका रहेछन् जुन सन १०४१ मा गएर सम्पन्न भएको रहेछ । अहिले भएको डोमको पश्चिम मोहोडा त्यही बेलाको रहेछ । चर्चका धनुषाकारका कलात्मक दलिनको निर्माण भने सन ११९६ मा गएर मात्र सम्पन्न भएको रहेछ । पछिल्ला शताब्दिहरुमा यस डोमलाई सिगार्ने र विस्तार गर्ने कार्य निरन्तर रुपमा गरिएको रहेछ जस्मा वारोक शैलीको गजुर, पुनरजागरण कालिन मूर्तिहरु, गोथिक शैलीका धनुषाकार दलिन (भल्ट) हरु पर्दा रहेछन् । डोमको उत्तरी मोहोडाका संरचनाहरु रातो इँटाले बनेका रहेछन् । यसका एकै उचाइ र लहरमा बनेका जस्ता देखिने चारवटा टावरहरु जर्मनीको राइन नदी क्षेत्रपछि बनेका चर्चहरुको लागि उदाहरणीय भएको बताइँदो रहेछ । टावरको घडीमाथि खोपेर टाँसेको शिलालेखमा तिमीलाई थाहा छैन कति बजे भगवान् यहाँ आइरहन्छन् भनेर लेखिएको रहेछ । पछि जालियन वंशको शासनकालमा उनीहरुकै शैलीमा चर्चको पश्चिमी मोहोडा र पूर्वी गजुर, पवित्र पोशाक (ट्युनिक) र संगीत कक्ष बनाइएको रहेछ । यसको भित्री भागमा रहेको प्रार्थना कक्ष (नेभ) ११२ मिटर लम्वाइ र ४१ मिटर चौडाइको गोथिक शैलीमा बनाइएको रहेछ । पूर्वी संगीत कक्ष अवलोकन गर्न सजिलो होस् भनेर भित्तामा ठूलो प्वालहरु बनाइएका रहेछन जहाँबाट चर्चको पूजा संचालन गर्ने मंच (आल्टर) अवलोकन गर्न सकिदो रहेछ । चर्चभित्र सन् १५३१ देखि १७५६ बीचमा बनेका चारवटा कलात्मक आल्टर रहेछन् ।  पश्चिमतर्फ रहेको संगीत कक्ष भने जर्मन बारोक शैलीमा बनाइएको रहेछ । त्यही आल्टरको भित्तामा क्राइष्ट आफ्नी आमा मेरी र सेन्ट पिटरसंग बसेको देखाइएको रहेछ । त्यसैको ठ्याक्कै मुन्तिर सुनका वारसहितको ढोका रहेछ । यस चर्चभित्र विभिन्न बेलामा भएको क्रिश्चियन पादरी विशप र आर्कविशपहरुको चिहान पनि रहेछ । क्राइष्टलाई भित्तामा किला ठोकेर झुण्डाइ मार्नु अगाडि उनले लगाएको पवित्र लुगा (ट्यूनिक) लाई चर्चको विशेष आर्कषणको पुरातात्विक वस्तु मानिदो रहेछ ।