काठमाडौं - युक्रेनले पहिलो पटक रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रुसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले आज हवाई आक्रमणको चेतावनी दिएको छ ।

अमेरिकी घोषणाको केही घण्टापछि कीभ र युक्रेनका अन्य भागमा केही समयका लागि हवाई आक्रमणको चेतावनी जारी गरिएको छ ।

युक्रेनले करिब तीन वर्षको युद्धमा पहिलो पटक लामो दूरीको अमेरिकी क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रयोग गरेपछि रुसले हिजो यसको जवाफ दिने चेतावनी दिएको थियो ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमी देशहरूले द्वन्द्व तीव्र पार्न चाहेको देखाएको बताउनुभयो ।

कीभस्थित अमेरिकी दूतावासले नोभेम्बर २० मा सम्भावित महत्वपूर्ण हवाई आक्रमण  सूचना प्राप्त भएको भन्दै अस्थायी रूपमा बन्द गरिएको जनाएको छ ।

इटाली,ग्रीस र स्पेनले पनि युक्रेनको राजधानीमा रहेका आफ्ना दूतावासहरू बन्द गरेका छन् भने बेलायतको दूतावास खुला रहेको बीबीसीले उल्लेख गरेको छ ।

वासिङ्टनले यस हप्ता युक्रेनलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा एटिएसिएमएस प्रयोग गर्न स्वीकृति दिएको पुष्टि गरेको छ । यो युक्रेनको लामो समयदेखिको माग थियो ।