काठमाडौं - यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी मनोनयन गरेका मध्‍ये ३१ जनाले उम्‍मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समति प्रमुख,नगरपालिका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष,उपाध्‍यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदका लागि विभिन्‍न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४ सय १० जनाले उम्‍मेदवारी दिएका थिए ।

निर्वाचन हुने तीन स्थानमा भने ३ जना उम्मेदवार  निर्विरोध निर्वाचित भएका छन् ।

ओखलढुंगा जिल्लाको जिल्ला समन्वय समित प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली काँग्रेस कै उम्मेदवार  टीका कुमारी चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै रुकुम पूर्वीका  पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।

यसैगरी स्थानीय तह उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्‍ये हाम्रो नेपाल पार्टी,नेपाली कांग्रेस (वी.पी.),नेपाल कम्‍युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी),नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले कुनै पनि रिक्त पदका लागि उम्‍मेदवारी दर्ता नगराएको निर्वाचन आयोगले जनाएको छ ।