काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय तहमा उम्मेदवारी दिएको ठाउँमा चुनावी कार्यक्रम गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले रास्वपाले मंसिर ८ र ९ गते आफूले उम्मेदवारी दिएको ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा सभापति लामिछानेको मुद्धालाई समेत उठाउने निर्णय सो पार्टीले गरेको छ । अब सामाजिक आन्दोलनलाई जोड दिईने पनि जनाईएको छ ।

साथै प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा छानबिन गर्न समेत माग गरेको छ ।

पार्टीको आजको बैठकपछि जारी गरिएको विज्ञप्तिमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग पछिल्लो समय उठेको विवादास्पद विषयसॅग जोडेर केही व्यक्ति पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता ल्याउन सरकारसँग माग गरिएको छ ।

ओलीको कम्बोडियामा लगानी रहेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक विवादास्पद भिडियो सार्वजनिक गरे पछि सो प्रकरणमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ।

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आज काठमाडौं जिल्ला अदालतले अनुमति प्रहरीलाई अनुमति दिएको छ ।