लेनिनवाद महान् नेता लेनिनद्वारा व्याख्या गरिएको मार्क्सवादको मौलिक क्रान्तिकारी सिद्धान्त हो। लेनिनवादले मार्क्सवादको विकासमा नौलो तहलाई प्रतिनिधित्व गर्छ। आधुनिक संशोधनवादीहरूले लेनिनवादमाथि दुष्टतापूर्वक आक्रमण गर्र्दैछन्, त्यसलाई बङ्गयाउँदै छन्।
साम्राज्यवादको अवस्थासम्मको विकासमा तिखारिंदै जाने पूँजीवादका अन्तरविरोधहरूको वैज्ञानिक विश्लेषण थपेर लेनिनवाद आएको हो। साथै सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकवादका विषयमा मार्क्सवादी सिद्धान्तलाई अझ समृद्ध तुल्याएर यसले मार्क्स र एंगेल्सका शिक्षाहरूलाई अगाडि बढाएको छ। महान् अक्टोबर क्रान्तिले लेनिनको प्रत्यक्ष नेतृत्वमा विजय प्राप्त गर्यो। अक्टोबर क्रान्तिबाट सिकेर चिनियाँ जनता र अरु धेरै देशका जनताले पनि अनेक विजयहरू प्राप्त गरेका छन्। यी मार्क्सवाद निम्तिका विजयहरू हुन्, लेनिनवाद निम्तिका विजयहरू हुन्।
लेनिनले एकचोटि मार्क्सवादबारे भन्नुभएको थियो– ‘यस मतले आफ्नो बाटोमा पाइलैपिच्छे जुध्नुपरेको थियो।'(१) यसैगरी लेनिनवाद संशोधनवादका विरुद्ध भएको दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियमा भएको सङ्घर्षको क्रममा विकसित भयो। लेनिनवादको हरेक नयाँ प्रमाणीकरण र विजय ‘राजनैतिक मूर्खता, अश्लीलता र अवसरवाद आदिका विरुद्ध एकपछि अर्काे लडाइँ'(२) द्वारा अभिन्न रुपबाट गाँसिँदै आएको छ।
दोस्रो अन्तर्राष्ट्रियमा संशोधनवादीहरूले जनसमूहलाई भ्रममा पार्न र मार्क्सवादबाट क्रान्तिकारी आत्मालाई काटेर झिक्न खोजे। तिनले भन्ने गरेको ‘आर्थिक विकासका नयाँ तथ्याङ्क’ को उपयोग गरे। तिनले ‘मार्क्सवाद’ को झूटो रङ्ग प्रदर्शित गरे।
विभिन्न परिस्थितिअन्तर्गत, विभिन्न रुपमा इतिहास आफै दोहोरिरहेछ। ‘लेनिनवाद’ को बदनाम गरिरहेका र ‘लेनिनप्रति बफादार’ रहेको देखाउन बेसार घस्ने आधुनिक संशोधनवादीहरू जनतालाई भ्रममा पार्न, लेनिनवादका क्रान्तिकारी शिक्षाहरूलाई क्षति पुर्याउन, लेनिनवादका तत्त्वहरू अर्थात् साम्राज्यवादबारे लेनिनका शिक्षाहरू र सर्वहारा क्रान्ति तथा सर्वहारा अधिनायकवादबारे उहाँका सिद्धान्त एवं नीतिहरूमाथि आक्रमण गर्न, ऐतिहासिक विकासबारे केही ‘नयाँ तथ्य’ को उपयोग गर्दै दुरुस्त त्यही पद्धतिलाई दोहोर्याइरहेछन्।
‘दोस्रो अन्तर्राष्ट्रिय’ मा संशोधनवादीहरूले पूँजीवादको नास हुँदै छ जसका थोरै दिनमात्र बाँकी छन् भन्ने कुरा अस्वीकार गर्न कडा प्रयत्न गरे। यो ‘शान्तिपूर्ण’ र ‘जनतान्त्रिक’ ‘उपल्लो साम्राज्यवाद’ को रुपमा टाढा पुगिसकेको छ। युगोस्लाभियाको टिटो गुटद्वारा प्रतिनिधित्व गरिएका संशोधनवादीहरू साम्राज्यवादी एकलौटी पूँजीवादी राजकीय यन्त्रलाई आकर्षक तुल्याएर देखाउने आफ्नो बाटोमा लागिसकेका छन्। उनीहरू राष्ट्रियकरणको तथाकथित नीति, साम्राज्यवादी देशहरूमा राजकीय एकलौटी पूँजीवाद तथा राजकीय आर्थिक मध्यस्थतालाई ‘समाजवादी उपकरणहरूको वृद्धि’, ‘योजनात्मक अर्थ व्यवस्थालाई बुझ्ने काम’, ‘समाजवादी सङ्क्रमण पद्धतिको प्रारम्भ’ आदि इत्यादिका रुपमा वर्णन गर्दछन्। ती ‘क्रमिक परिवर्तन’, ‘क्रान्ति तथा सुधारको अविभाज्यता’, ‘समाजवादी युगमा गहिरिएर प्रवेश गर्नु’ र यस्तै विषयमा बकवास गर्छन्। तर पूँजीवादबाट समाजवादमा सङ्क्रमण गर्न बुर्जुवा राज्ययन्त्रलाई म्हास्ने र बुर्जुवा अधिनायकवादको ठाउँ सर्वहारा अधिनायकवादले लिन क्रान्ति गर्नुपर्ने आवश्यकताबारे तिनीहरूले भन्नुपर्ने एउटा शब्दसम्म पनि कहिल्यै भन्दैनन्। यो सुविदित छ कि मौलिक मार्क्सवादी आधारविन्दु जसको व्याख्याका लागि लेनिनले ठूलो कष्ट गर्नुभयो, ठीक त्यस्तो क्रान्ति हो जसबाट बुर्जुवा राज्ययन्त्र नासिएर बुर्जुवा अधिनायकवादको ठाउँ सर्वहारा अधिनायकवादले लिन्छ किनभने त्यस्तो क्रान्तिविना, समाजवादी सङ्क्रमणबारेका सबै कुरा अर्थहीन हुनेछन् र राजकीय एकाधिकारी पूँजीवाद अरु केही नभएर पूँजीवाद नै रहनेछ। लेनिनले राम्ररी के भन्नुभएको थियो भने राजकीय एकलौटी पूँजीवादसहित, एकलौटी पूँजीवादको अस्तित्व र विकासले समाजवादको निम्ति भौतिक पूर्वावस्थाहरू परिपक्व भएको कुरालाई र समाजवादी क्रान्ति नजीकै छ भन्ने दृष्टिकोण तथा यसको अनिवार्यतालाई मात्र प्रदर्शित गर्छ, ‘यस्तो क्रान्तिबारे इन्कारीलाई सहने पक्षमा तर्क र पूँजीवादलाई बढ्ता आकर्षक देखाउने प्रयत्नहरूको पेसामा सारा सुधारवादीहरू लागेका छन्'(३) – लाई बिल्कुलै मद्दत गर्दैन।
यही हाम्रो युगको मूल्य निर्धारणमा मौलिक मतभेद छ। जब मार्क्सवादी–लेनिनवादीहरू ‘हाम्रो युगको मुख्य विषयवस्तु पूँजीवादबाट समाजवादतिर सङ्क्रमण हो जो महान् अक्टोबर समाजवादी क्रान्तिद्वारा रुसमा थालिएको थियो’ भन्छन्। तिनीहरू सर्वहारा क्रान्ति तथा सर्वहारा अधिनायकवादको दृष्टिकोणमा र महान् अक्टोबर समाजवादी क्रान्तिको मौलिक अनुभवमा आधारित छन्। तर आधुनिक संशोधनवादीहरू, यस दृष्टिकोणलाई महामारीझैं छोड्छन्, अक्टोबर क्रान्तिको अनुभवलाई बङ्ग्याउँछन् र मानव जातिको मुक्तितिर लैजाने मूल बाटोको रुपमा अक्टोबर क्रान्तिको बाटोको उल्लेखलाई पन्छाउँछन्। वास्तविक रुपमा, ती हाम्रो युगलाई ‘पूँजीवाद आफै समाजवादको रुपमा शान्तिपूर्ण किसिमबाट हुर्किरहेको’ ठान्दछन्।
मार्क्सवाद–लेनिनवादले जनतन्त्रको निम्ति सङ्घर्षलाई सधैं महत्त्व दिएको छ। पूँजीवादी जनतान्त्रिक क्रान्ति आफै पूरा नभइसकेका मुलुकहरूमा, सर्वहारा वर्गले जनसमूहलाई सङ्घर्षको निम्ति तयार पार्नैपर्छ, पूँजीवादी जनतान्त्रिक क्रान्तिलाई नेतृत्व गर्न प्रत्येक प्रयत्न गर्नुपर्छ र यसको विजयको निम्ति जुध्नुपर्छ। पूँजीवादी जनतन्त्र भएका मुलुकहरूमा, सर्वहारा वर्गले प्राप्त गरिसकिएका जनतान्त्रिक अधिकारहरूको शोषण तथा हिंसाको पूँजीवादी व्यवस्थासित जुध्न जनसमूहलाई शिक्षित, जागृत तथा सङ्गठित पार्नका लागि अझ बढी जनतान्त्रिक हकहरूको निम्ति जुध्नमा उपयोग गर्नुपर्छ। सत्ता कब्जा गरिसकेपछि, सर्वहारा वर्गले आफ्नो अधिनायकत्वलाई दृढ तथा बलियो तुल्याउनुपर्छ र साथसाथै राम्ररी केन्द्रित गरिएको जनतन्त्रलाई व्यापक रुपबाट फैलाउने काम क्रियान्वित गर्नुपर्छ। अर्काे शब्दमा, यसले शत्रुमाथि अधिनायकत्वलाई बलियो पार्नैपर्छ र समाजवाद एवं साम्यवादको सफलतापूर्ण निर्माणलाई सुनिश्चित पार्न जनताका पङ्क्तिमा जनताको जनतन्त्रको व्यवहार गनर्ुुपर्छ। जनतन्त्रको स्थायी रुपबाट वर्ग चरित्र हुन्छ। मार्क्सवादी–लेनिनवादीहरूले जनतन्त्रको समस्यालाई सधैं यसको ऐतिहासिक प्रसङ्गमा व्यवहार गरेका छन् र ‘भाववाचक रुपमा जनतन्त्र’ अथवा ‘सामान्य रुपमा जनतन्त्र’ को कुरा कहिल्यै गरेका छैनन्।
सर्वहारा अधिनायकत्वको आफ्नो सार्वत्रिक ध्येयलाई मद्दत गर्ने जनतन्त्रको निम्ति सङ्घर्ष गरेमात्र पूँजीवादको स्थितिका अन्तर्गत सर्वहाराले आफ्नो स्वाधीनतालाई सुरक्षित राख्न सक्छ भनी लेनिनले बल दिनुभएको थियो।(४) उहाँले औंल्याएर जानुभएको थियो कि पूँजीवादी अधिनायकत्वको ठाउँ सर्वहारा अधिनायकत्वले लिनुको अर्थ जनतन्त्रको विस्तार हो जसको विश्वव्यापी ऐतिहासिक महत्त्व छ। यसको अर्थ नक्कली जनतन्त्रबाट सक्कली जनतन्त्रको रुपमा परिवर्तन हो र यसको अर्थ अलिकता शोषकहरूलाई जनतान्त्रिक हकहरूबाट वञ्चित गर्नु र श्रमजीवी जनता, अत्यधिक बहुमतलाई जनतन्त्रको उपभोग गर्न समर्थ तुल्याउनु हो। सर्वहाराको अधिनायकत्वले जनतन्त्रको अस्वीकृति जनाउँछ भनी विचार गर्नु भ्रष्ट ‘उदार र झूटो प्रतिज्ञा’ हो जसले वर्ग सङ्घर्षको दृष्टि लोप गर्छ।(५)
पुरानोखाले संशोधनवादीले झैं, आधुनिक संशोधनवादीहरू जनतन्त्रको वर्ग चरित्र र पूँजीवादी तथा सर्वहारा जनतन्त्रमा भएको फरकलाई धमिल्याउन हरेक बहानाको उपयोग गर्छन्। ‘सामान्य रुपमा जनतन्त्र’ अथवा ‘सारा जनताको जनतन्त्र’ को ओट लिई सबैलाई उछिनेर अगाडि बढ्नामा वास्तविक रुपबाट ती पूँजीवादी जनतन्त्रको अर्थात् पूँजीवादी अधिनायकवादको पूज्य प्रतिमा तयार पारिरहेछन्। यस दृष्टिविन्दुबाट अगाडि बढेर, क्रान्तिलाई सुधारले विफल पार्न र आफ्ना सारा कामलाई पूँजीवादी अधिनायकत्ववादबाट स्वीकृत गरिएको परिधिभित्र सीमित राख्न तथा थुन्न ती आफ्नो शक्तिले भ्याएसम्मको प्रयत्न गर्छन्। लेनिनले निकै अघि यस अत्यन्त गलत दृष्टिकोणलाई अस्वीकार गर्नुभएको थियो। उहाँले भन्नुभयो –
‘मानव इतिहासको अत्यन्त गहन क्रान्ति त्यो जसले पहिलो पटक सत्तालाई शोषक अल्पमतबाट शोषित बहुमतमा सार्यो विनाप्रवल परिवर्तनहरू, जनतन्त्रका नयाँ रुपहरू तथा जनतन्त्रलाई उपयोग गर्न चाहिने नौलो स्थिति सुहाउँदा नौला संस्थाहरूको सिर्जना नगरीकन क्रियान्वित गर्न सकिन्थ्यो भन्ने विचार गर्नु अति मूर्खतापूर्ण हुने थियो इत्यादि।'(६) लेनिनको यो कर्तव्य निर्देशन अक्टोबर क्रान्तिको सम्बन्धमा सही सिद्ध भएको छ र समाजवादी क्रान्तिमा संसारका अनेक देशहरूले लगभग प्राप्त गरेका विजयहरूका सम्बन्धमा पनि पूर्णतया मनासिब ठहरिएको छ। अझै आधुनिक संशोधनवादीहरू त्यस्ता कुरामा हठ गर्छन्, जुन सरासर असङ्गतिपूर्ण सिद्धान्तलाई लेनिनले खण्डन गर्नुभएको थियो। समाजवादका अवस्थाहरूभित्र, आधुनिक संशोधनवादीहरू फेरि ‘सामान्य रुपमा जनतन्त्र’ को बहानामा, जनतन्त्रको वर्ग चरित्रलाई अस्वीकार गर्छन् र कुनै रुपमा पूँजीवादलाई अलि अलि गरी फेरि कायम गर्न होलो पार्नका लागि सर्वहाराको अधिनायकत्वलाई हटाउने आफ्नो ध्येय एकएक पाइला गरी प्राप्त गर्ने प्रयत्न गर्छन्।
विश्वशान्तिको निम्ति जुध्ने प्रश्न र शान्तिपूर्ण सहअस्तित्वका विषयमा पनि आधुनिक संशोधनवादीहरूले लेनिनवादलाई हुनसम्म अश्लील तुल्याइएका छन् र पूरा तवरबाट भ्रष्ट पारेका छन्।
संसारमा पहिलो समाजवादी राज्य प्रादुर्भाव भएदेखि, लेनिनदेखि पछिका सारा मार्क्सवादी–लेनिनवादीहरूले भित्र–भित्र सामाजिक अवस्था भएका मुलुकहरूका बीच शान्तिपूर्ण सहअस्तित्वको निम्ति काम गर्नु र आक्रमण तथा युद्धको साम्राज्यवादी नीतिहरूको विरोध गर्नु समाजवादी देशहरूको निम्ति मुख्य कार्य ठानेका छन्। कामरेड माओ त्सेतुङद्वारा नेतृत्व गरिएको चीनको कम्युनिष्ट पार्टीले सधैं राष्ट्रहरूका बीचको झै–झगडा बलजफ्तीबाट होइन कि शान्तिपूर्ण उपायबाट समाधान गरिनुपर्छ भन्ने ठानेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको यो दृष्टिकोण हाम्रा वक्तव्यहरूमा दृढतापूर्वक दोहोरिएको मात्र होइन हाम्रा नीति र कारबाहीहरूमा पनि दृढतापूर्वक व्यक्त भएको छ। सारा संसारलाई थाहा छ कि जनगणतन्त्र चीन शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको आरम्भकर्ता थियो र यसले स्थिरतापूर्वक ती सिद्धान्तहरूलाई व्यवहारमा ल्याएको छ। यी तथ्यहरूलाई नष्ट गर्न साम्राज्यवादीहरू, प्रतिक्रियावादीहरू र आधुनिक संशोधनवादीहरूद्वारा गरिएका सबै प्रयत्नहरू व्यर्थ छन्।
निश्चय नै, समाजवादी मुलुकहरूद्वारा अनुसरण गरिएको शान्तिको नीतिले संसारमा मूर्तरुपबाट रहेका धेरै किसिमका अन्तरविरोधहरूलाई विफल तुल्याएको छैन अर्थात् समाजवादी र साम्राज्यवादी देशहरूका बीचको अन्तरविरोध, पूँजीवादी देशहरूमा पूँजीवादी र सर्वहाराका बीचको अन्तरविरोध, साम्राज्यवाद र अरुको अधीनमा परेका राष्ट्रहरूका बीचको अन्तरविरोध र प्रत्येक साम्राज्यवादी देशभित्रका धेरै किसिमका एकाधिकारी गुटहरूका बीचको अन्तरविरोध, मार्क्सवादी–लेनिनवादीहरू कस्तो दृष्टिकोण लिन्छन् भने, विश्वशान्तिलाई सुरक्षित तुल्याउने हो र समाजवादी देशहरू तथा विभिन्न सामाजिक व्यवस्था भएका देशहरूका बीच शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने हो भने, भूतमा होस् वा वर्तमानमा अथवा भविष्यमा यी अन्तरविरोधहरूलाई अस्वीकार गर्न अथवा ढाकछोप गर्न सकिंदैन, जसलाई आधुनिक संशोधनवादीहरूजस्ता राजनैतिक अशिक्षितहरू गर्न खोजिरहेछन्। चिनियाँ कम्युनिष्टहरूलगायत मार्क्सवादी–लेनिनवादीहरूले सधैं ठानेका छन् कि समाजवादी देशहरूलाई उनीहरूका शान्तिको नीति लागू गरिरहन दिएर, आक्रमण तथा युद्धका साम्राज्यवादी शक्तिहरूका विरुद्ध दृढ एवं प्रभावकारी सङ्घर्षमा विभिन्न देशका जनताका क्रान्तिकारी शक्तिहरू तथा संसारका सबै शान्तिप्रिय मुलुकहरू एवं जनतालाई संयुक्त हुन बल पुर्याएर, साम्राज्यवादीहरूलाई धेरै किसिमबाट हतकडी लाइदिएर तथा उनीहरूको कार्यक्षेत्रलाई साँघुरो तुल्याएर, समाजवादी देशहरू र फरक–फरक सामाजिक व्यवस्था भएका देशहरूका बीच शान्तिपूर्ण सहअस्तित्वलाई प्राप्त गर्न सकिन्छ र विश्वयुद्ध, जसलाई साम्राज्यवादीहरू बाल्न खोजिरहेछन्, जोगाउन सकिन्छ। साथसाथै मार्क्सवादी–लेनिनवादीहरूले दृढतापूर्वक ठानेका छन् कि एकातिर समाजवादी देशहरू र फरक–फरक सामाजिक व्यवस्था भएका देशहरूका बीच शान्तिपूर्ण सहअस्तित्वको निम्ति प्रयत्न गर्नु र अर्काेतिर पूँजीवादी देशहरूभित्रको वर्ग सङ्घर्ष तथा अरुको अधीनमा परेका राष्ट्रहरूका क्रान्तिकारी साम्राज्यवादीविरोधी सङ्घर्षहरू एउटै कित्ताका होइनन्, तर दुई भिन्न–भिन्न किसिमका समस्या हुन् र पछिल्लोले पछिल्लोको ठाउँ लिन अथवा पछिल्लोलाई अस्वीकार गर्न सक्दैन। पूँजीवादी देशहरूमा थिचोमिचोमा परेका जनताले चलाएका सङ्घर्ष र अरुको अधीनमा परेका राष्ट्रहरूका सङ्घर्ष विश्वशान्तिको निम्तिका प्रयत्नहरू र फरक–फरक सामाजिक व्यवस्था भएका देशहरूका बीच शान्तिपूर्ण सहअस्तित्वको निम्ति सहायक छन्। ‘शान्ति’ र ‘शान्तिपूर्ण सहअस्तित्व’ का निम्ति पाखण्डी आह्वानहरूद्वारा थिचोमिचोमा परेका जनता तथा अरुको अधीनमा परेका राष्ट्रहरूको क्रान्तिकारी सङ्घर्ष हरूलाई रोक्ने, निर्धाे तुल्याउने र अस्वीकारसम्म पनि गर्ने आधुनिक संशोधनवादीहरूको प्रयत्न पूरा तवरबाट साम्राज्यवादीहरू तथा धेरै देशका प्रतिक्रियावादीहरूका इच्छाहरूसित मिल्छ र शान्तिको निम्ति सङ्घर्ष एवं फरक–फरक सामाजिक व्यवस्था भएका देशहरूका बीच शान्तिपूर्ण सहअस्तित्वको निम्ति हुनसम्म हानिकारक छ।
ठीक जसरी पुरानोखालेे संशोधनवादीहरूले कट्टरमतको विरोध गर्ने बहानामा मार्क्सवादलाई आक्रमण गरेका थिए, त्यसैगरी आधुनिक संशोधनवादीहरू पनि लेनिनवादलाई आक्रमण गर्ने त्यही बहानाको उपयोग गर्छन्। अघि बीसौं शताब्दीको शुरुतिर, लेनिनले लेख्नुभएको थियो कि धेरै देशहरूमा मजदुरवर्गीय आन्दोलनका सुधारवादीहरू र संशोधनवादीहरू ‘सबै उही परिवारका हुन्, सबै एक दोस्राको प्रशंसा गर्छन्, एक दोस्राबाट सिक्छन् र ‘कट्टर’ मार्क्सवादका विरुद्ध सँगसँगै प्रकट हुन्छन्।’ (७) साठी वर्षअघि लेनिनले जुन चित्र खिच्नुभएको थियो आज नयाँ ऐतिहासिक अवस्थाहरूमा के फेरि देखापरेको छैन? फरक खालि के छ भने आधुनिक संशोधनवादीहरूले मार्क्सवाद–लेनिनवादमाथि आफ्ना आक्रमणहरू झन् चर्काएका छन्। उदाहरणको निम्ति, शुद्ध धुर्त्याइँमा लागेका केही व्यक्तिहरू भन्छन् कि ‘कट्टरमतवादीहरू’ ‘पूँजीवादमाथि समाजवाद र साम्यवादको श्रेष्ठता युद्धद्वारा प्रदर्शित गर्न चाहन्छन्।’ यो मार्क्सवादी–लेनिनवादीहरूमाथि हुनुसम्म हास्यास्पद बदनामको टाँचा मारिएको र साम्राज्यवाद तथा धेरै देशका प्रतिक्रियावादीहरूलाई चापलुसीबाट पक्षमा लिन खोज्ने घृणित प्रयत्न होइन भने के हो?
क्रमश:
0 comment