पुष्पराज भट्टराई,

सुनसरी, इटहरी उपमनपा वडा नम्बर १६ स्थित सरस्वती जब्दी मावि इटहरीले सिकाइका लागि मूल्यांकन विषयक एक दिवसीय तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय शिक्षामा जोड दिने अभिप्रायले उक्त तालिम सञ्चालन गरिएको प्रअ मात्रिका भट्टराईले बताए । ‘शिक्षण सिकाइ सम्बन्धी अनुभव आदानप्रदान गर्नका लागि यो कार्यक्रमलाई विद्यालयले निरन्तरता दिएको हो ।’ उनले भने । 

बालबालिकाको चाहनाअनुसार बालमैत्री सिकाइमा जोड दिनु आजको आवश्यकता हो समयको मागलाई सम्वोधन गर्न शिक्षकमा नयाँ सोच र प्रविधिको ज्ञान अनिवार्य जस्तै छ । आगामी दिनमा यस्ता सिकाइ अनुभव आदानप्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्र अ मात्रिका भट्टराईको भनाइ थियो । अर्को एक प्रसङ्गमा बोल्दै उनले भने, विद्यालयले  नवीन सोचाइका साथ प्रविधिमैत्री कक्षाकोठाको निर्माण र विद्यालयको आफ्नै वेभ साइड निर्माण गरिरहेको छ । 

आगामी सत्रबाट सम्पूर्ण शैक्षिक गतिविधिको जानकारी अनलाइनबाटै अभिभावक माझ पुर्याउने लक्ष्य राखेर विद्यालयले काम गरिरहेको प्रअ मात्रिका भट्टराईले बताए ।

नमुना विद्यालयको रुपमा विकास गर्ने लक्ष्यका साथ विद्यालयको पुरै टिम अहिले विद्यालयको शैक्षिक गुणस्तर उकास्न लागी परेको छ । प्रअको सो अभियानलाई साथ दिन सम्पूर्ण शिक्षकहरूले सामुहिक प्रतिबद्धता जनाएको कुरा सोही विद्यालयकी एक शिक्षिकाले बताइन् । 

उनले भनिन्, ‘सबै कुरा व्यवस्थापन र सकारात्मक सोचको रहेछ । केही वर्ष पहिलेको विद्यालयको दुरावस्था हेर्दा टिठ लाग्दो थियो तर आज रुप रंग फेरिएको छ ।’

प्रधानाध्यापक मातृकाप्रसाद भट्टराईको अध्यक्षतामा  सञ्चालित उक्त  अभिमुखीकरण कार्यक्रममा विशेष उपस्थितिका रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष सुजित ढुंगेल रहेका थिए । कार्यक्रमको सहजीकरण स्वयं प्र अ मातृकाप्रसाद भट्टराईले गरेका थिए भने तालिम शत्रमा शिक्षक मुकेश रिजालले मुख्य भूमिका खेलेका थिए । 

कार्यकक्रमको संचालन शिक्षक गंगाकुमारी राईले गरेकी थिइन् भने सम्पूर्ण सहभागी शिक्षाकहरूको सक्रिय सहभागिताले उक्त अभिमुखीकरण कार्यक्रम फलदायी बनेको सहभागी शिक्षकले बताए । यस्तो कार्यक्रमले शिक्षकलाई पुर्नताजकी प्रदान गरको छ । अनुभव साटासाट गर्ने अवसरले शैक्षिक गुणस्तरमा वृद्धि हुने उनको भनाइ थियो । उक्त अवसरमा मूल्यांकनका नवीन प्रविधिहरूको प्रयोगका सम्बन्धमा शिक्षकहरुले अनुभव साटासाट गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै शि अ संघ अध्यक्ष ढुङ्गेल भने,  ‘बेलाबेलामा यस्ता आन्तरिक तालिम, गोष्ठी तथा अन्तरक्रियाले शैक्षिक गुणस्तर उकास्न मद्दत पुग्न कुरामा हामी विश्वस्त छौँ ।’ विद्यालयको भवन मात्र होइन कक्षाकोठा भित्रको पठनपाठनमा समेत सुधार भएको कक्षा ६ का अभिभावक सन्तोष गिरीले बताए । सामुदायिक विद्यालयमा पढाइ खस्किरहेको अवस्थामा यस विद्यालयले भने सुधारका कार्यक्रम अगाडि सार्नाले नयाँ विद्यार्थीको आकर्षण बढ्दो रहेको पाइन्छ । 

बरको फेदमा टोलका केटाकेटी पढ्ने अवस्थाबाट आज यो अवस्थामा विद्यालयलाई देख्न पाउँदा आफूलाई खुसी लागेको नवनिर्वाचित  विव्यस अध्यक्ष प्रमोद शेर्पाले बताए । उनले भने, नयाँ विव्यस समितिले समयको माग र अभिभावकको चाहनाअनुसारको गुणस्तरीय  शिक्षामा जोड दिदै नमुना विद्यालय निर्माणका लागि आवश्यक नीति निर्माणको तहमा समिति अहोरात्र खट्न तयार छ । भर्खरै गठित नयाँ विव्यस समितिमा अभिभावकको तर्फबाट नगेन्द्र दाहाल, केदार कोइराला, विन्दा ढकाल अधिकारी, शिक्षाप्रेमीबाट गोमा गिरी र शिक्षक प्रतिनिधिमा गंगाकुमारी राई मनोनित भएका छन् । नयाँ समितिको चयनपछि विद्यालयका शैक्षिक एवं प्रशासनिक कामलाई अगाडि बढाउन सहज हुने कुरामा आफू आशावादी रहेको कुरा गोमा गिरीले बताइन् ।    

२०४९ सालमा स्थानीय बुद्धिजीवी, समाजसेवी पुरन चौधरी लगायतको सक्रियतामा स्थापना भएको सो विद्यालयमा ४५० विद्यार्थी पठनपाठन गरिरहेका छन् भने २७ जना शिक्षक कर्मचारी कार्यरत छन् ।  

स्मरण रहोस् गत पुस महिनामा कौसिकी आमा समूहले आयोजना गरेको ‘लागूऔषध  रोकथाममा समाजको भूमिका’ शीर्षकमा निबन्ध लेखन प्रतियोगितामा यसै विद्यालयकी छात्रा युनिका सुवेदी प्रथम, सरस्वती जब्दी मा वि कै सुशान्त खतिवडा तेस्रो स्थानमा पुरस्कार जित्न गर्न सफल भएका थिए ।