परीक्षा कोइराला, 

विजया दशमीका हिन्दुहरुको महान पर्व हो, जुन निकै प्राचीन कालदेखि मनाउदै आएका छौ  ।  यस दिन  देशमा भएका वा विदेशबाट पनि आफ्नो घरपरिवार सम्झी मान्यजनबाट  प्रसाद स्वरूपमा  टीका, जमरा लगाई आशीर्वाद लिने गरिन्छ । देशमा दिन वर्षभरीको दुख, दर्द बिर्सेर आफ्नो घरपरिवारसँग बसेर  रमाइलोसँग मनाइन्छ ।  यो पर्वमा  शक्तिकी देवी दुर्गाको  उपासना गरिन्छ ।  जगत्जननीको कृपा प्राप्ति गर्नु नै जीवनको मुख्य उद्देश्य हुनु पर्दछ। 

नेपालको महान् चाड दशै मातृशक्तिको उपासनाको पर्व हो । नवरात्रिका नौ दिन दुर्गा भवानीको आराधना , उपासना र भक्ति गर्नाले भवानीले शक्ति प्रदान गर्छिन् । आफुले चाहेको फल पनि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ । नवरात्रिको अवसरमा जगत् जननी दुर्गा माताले समस्त प्राणीकालागि , आफ्ना भक्तको कल्याणकालागि फल प्रदान गर्छिन् ।

नवारत्रिमा विभिन्न देवीलाई विभिन्न रुपमा पुजिन्छ । शैलिपुत्री – आश्विन शुक्लपक्षको प्रतिपदाको दिनमा  घटस्थापना पर्दछ । यस दिन हरेकमा घरघर  शुद्ध र पवित्र गरी माटी, तामी अथवा तिलका कलश स्थापना गरिन्छ र जमरा राख्ने प्रचलन छ। यस दिनमा माता दुर्गाको पहिलो स्वरूप शैलपुत्री स्वरूपको पूजा गरिन्छ।पर्वतराज हिमालयको घर पुत्रीको रुपमा जन्म भएकाले उहाँको नाम शैलपुत्री रहेको हो । शैलपुत्रीको दाँया हातमा त्रिशुल र बाँया हातमा कमल शुशोभित छ । उनलाई  सती, पार्वती, भवानी र हेमवतीको नामले पनि जानिन्छ । पूर्वजन्ममा उहाँ सतीको रुपमा हुँदा भगवान शिवको निन्दा सहन गर्न नसकेर अग्निकुण्डमा हाम फालेर देहत्याग गर्नुभएको प्रसंग छ । 

शैलको अर्थ हुन्छ शिखर अथवा पर्वत । शैलको अर्थ हुन्छ शिखर अथवा पर्वत । शैलपुत्री हिमालय पुत्री हुन् । हिमालय शितलता, अचल र उच्चतम मानसिक स्थितिलाई पनि दर्शाउदँछ । माँको एउटा हातमा भएको त्रिशुलको डण्डा दृढ निश्चयको प्रतीक हो । यसले मानवको अध्यात्मिक उन्नतिकालागि मद्धत गर्दछ ।  पर्वतसमान अचल, अडोल र दृढ संकल्पधारी , प्रतिकुल परिस्थितिमा पनि  स्थिर हुन ,अन्तर्मुखी हुन सहयोग गर्दछ ।

आश्विन शुक्ल द्वितीयाको दिन माता दुर्गाका ब्रह्मचारिणी स्वरूपको आराधना उपसना गर्ने गरिन्छ। भगवान शिव प्राप्तिको उद्देश्यले गरिएको कठोर तपस्या स्वरूप नै ब्रम्हाचारिणी हुन् । दाहिने हातमा जप माला देब्रे हातमा कमण्डलु लिनुभएकी दिव्य स्वरूप नै  माता दुर्गाको ब्रह्मचारिणी स्वरूप हो  ।  तपस्याले मनिस  संयम हुन्छ र पवित्रता अनुभव गर्न सक्षम बन्दछ। 

चन्द्रघण्टा

नवरात्रिको तेस्रो दिनलाई चन्द्रघण्टा भनिन्छ र यस दिन माता दुर्गाको तेस्रो  स्वरूप चन्द्रको आराधना गर्ने गरिन्छ। उनको शिरमा  घन्टा आकारको अर्धचन्द्र छ । नवरात्रीको तेस्रो दिन देवी दुर्गालाई माँ चन्द्रघण्टाको रुपमा पूजा गरिन्छ । शरीरको रंग स्वर्णसमान चम्किलो छ भने स्वरुप अत्यन्तै शान्त र शौम्य  छ । उनको  मस्तकमा घण्टाको आकारको अर्धचन्द्रको चिन्ह छ । । उनको घण्टाको ध्वनिले भक्तहरुलाई सदैव बाधा एवं समस्याहरुबाट सचेत गराउँछ र सुरक्षा प्रदान गर्दछ भन्ने मान्यता छ। उहाँका दशवटै हातमा वाण, खडग जस्ता शस्त्रअसत्रहरुले विभुषित छन् । उहाँको वाहन सिंह हो । सिंहमा विराजमान भएर पनि सदैव शान्त, शौम्य र कल्याणकारी रहनु उनको  विशेषता हो । 

 चन्द्रमा शान्तिको प्रतीक हो भने घण्टा ईश्वरीय ज्ञानको प्रशारणको प्रतीक । दशवटै हातका विभिन्न अस्त्रशस्त्रहरु आत्माभित्र विद्यमान काम, क्रोध, लोम, मोह, अहंकार, आलस्य, स्वार्थ, घृणा, ईष्र्या र द्वेषजस्ता आसुरी प्रवृत्तिमाथि विजयका प्रतीक हुन् । देवीको बाहन सिंह पराक्रम र निर्भयताको प्रतीक हो । शिव भगवानसँग शक्ति लिएर निर्भयता र पराक्रमलाई धारण गरेर स्वयंभित्रका दुर्भावना, दुर्गुण र दूराचाररुपी आसुरी सम्पदालाई समाप्त गरी आत्मामा सद्भावना, सद्गुण, सदाचार जस्ता दैवी सम्पदाको विकास गर्नु नै माँ चन्द्रघण्टालाई आह्वान गर्नु हो । 

कुष्माण्डा

नवरात्री पर्वमा देवी नवदुर्गालाई चौथो दिन माँ कुष्माण्डाको रुपमा पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार माँ कुष्माण्डाको निवास सूर्यलोकभित्र भएको, सूर्यवंशी हुनाको कारण उनको  कान्ती र प्रभा सूर्यसमान देदिप्यमान भएको र उनको  तेज दशौं दिशामा फैलिएको बताइन्छ । जब चारैतिर अन्धकार छाएको थियो, तब माँ कुष्माण्डाले आफ्नो मन्द मुष्कानद्वारा ब्रîमाण्डको रचना गर्नुभयो भन्ने मान्यता छ । त्यसैले उनलाई  सृष्टिको  आदिशक्ति पनि भनिन्छ । माँ कुष्माण्डालाई सिंहमा सवार, अष्ठ भूजाधारी भक्तवत्सलको रुपमा चित्रण गरिन्छ । उनको का आठ हातहरुमा क्रमशः कमण्डलु, धनुष, बाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र, गदा, जपमाला शुशोभित छन् । निराशा, दुःख, पीडाले ग्रसित अन्धकारमय जीवनमा एक मुष्कानले एक नयाँ उत्साह ल्याउछ र  एक नयाँ संसार  निर्माण गर्न सकिन्छ भन्ने संदेश हो  र प्रेरणा पनि हो ।  

स्कन्दमाता

नवरात्रिको पाँचौं दिनमा भवानीलाई  स्कन्दमाताको रुपमा  पूजा प्रार्थना गरिन्छ । । स्कन्दकुमारकी माता भएका कारणले उहाँलाई स्कन्दामाता भनेर चिनिन्छ । स्कन्दकुमारको अर्को नाम कार्तिकेय अथवा कुमार पनि हो । उनलाई  ज्ञानशक्ति र कर्मशक्तिको सूचक मानिन्छ र माँ स्कन्दमाता यी दुबै शक्तिको समन्वय मानिनुहुन्छ । । मोक्षको द्वार खोल्ने माता परम सुखदायी हुनुहुन्छ । माँ आफ्नो भक्तहरुका समस्त इच्छाहरुलाई पूर्ति गर्नुहुन्छ । 

माँ स्कन्दमाताको दुई हातमा कमलपुष्प शुशोभित छ, एक हातमा स्कन्दकुमार विराजमान हुनुहुन्छ भने अर्को हात वरदमुद्रामा स्थित छ । कमलको आसनमा विराजमान हुनुभएकाले उहाँलाई पद्मासनादेवी पनि भनिन्छ । सिंह पनि उहाँको अर्को बाहन हो । घटना र परिस्थितिको विषमता साथै मानिसहरुको विभिन्नतालाई सहर्ष स्वीकारेर माँ र शक्तिरुपको संगम बनेर स्वीकार्यता, प्रेम, स्नेह र पालना दिदैं समस्याको समाधान गर्नु नै माँ स्कन्धमाताको आह्वान   गर्नु हो । 

कात्यायनी

नवरात्रिको छैटौं दिन दुर्गा भवानीलाई कात्यायनीको रुपमा पुजा गरिन्छ ।  कात्य गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनले पुत्री प्रप्तिकलागी  भगवती पराम्बाको कठोर तपस्या गरे  माता पराम्बा उनको भक्ति देखेर खुशी भएर छोरीको रुप लिएर उनको घरमा जन्म लिइन् ।यसरी यी देवीको नाम कात्यायनी रहन गयो ।  माता कात्यायनीको कृपाले  सबै कार्य पूर्ण  हुन्छ भन्ने विश्वास छ । माता कात्यायनी अमोघ फलदायिनी छिन् । भगवान कृष्णलाई श्रीमानको  रुपमा पाउनका लागि ब्रिजका गोपिनीहरुले यिनै देवीको पूजा कलिन्दी यमुनाको तटमा  गरेका थिए ।  त्यसैले यी देवी अधिष्ठात्री देवीको रुपमा प्रतिष्ठित छिन् । यिनको स्वरुप अत्यन्त भव्य र दिव्य छ र यिनी स्वर्ण जस्तै चम्किली छिन् । यिनका चार हातहरु छन् ।  माताको बायाँतिरको माथिल्लो हातमा तलवार र तल्लो हातमा कमलको फूल सुशोभित छ । यिनको वाहन पनि सिंह नै हो । यिनको उपासना र आराधनाले भक्तहरुले सजिलै धर्म, अर्थ, काम ,  मोक्ष  र पद प्राप्त गर्न सकिन्छ  ।

कालरात्रि

 नौ जातका वनस्पतिमा (धानको बोट बोटात अदुवा, हलेदो जयन्ती फूल, अशोक, बेल, दारिम तथा कर्कलो चढाउने गरिन्छ। यसै दिन गोरखका माता गोरखालीको दरबारबाट फूलपाती ल्याई काठमाडौँको हनुमानढोकाको दरबारमा भित्रयाउने चलन रहि आएको छ।

माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक–फरक छन् । आजका दिन साधका मन सहस्र चक्रमा स्थिर हुने र ब्रह्माण्डका समस्त ढोका खुल्छन् भन्ने मान्यता छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् ।असूरको बध गरेर बिजयी भएकी कालरात्री देवीको एक हातमा तरबार र अर्को हातमा असूरको टाउको हुन्छ । कालरात्री देवीको बाहन गधा हो । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन् उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्री दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि विजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।

महागौरी

नवरात्रको आठौँ दिन दुर्गा भवानीको आठौँ स्वरूप माहागौराको  विधिपूर्वक पूजा आराधना गरिन्छ  । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा छिन्  िअघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् । शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।

सिद्धिदात्री

समस्त प्रकारको सिद्धि प्रदान गर्ने हुनुभएकाले उहाँ सिद्धिदात्रीको नामबाट भयो। कमलपुष्पमा विराजित, सिंहवाहिनी शंख, चक्र, गदा एवं कलपुष्पयुक्त चतुर्भुजावाली देव दानव, गन्धर्व आदिद्वारा शोभित दिव्य एवं अलौकिक स्वरूप ने जगदम्बा सिद्धिदात्रीको स्वरूप  हो । उनको यस स्वरूपको ध्यान साधनाको प्रभावद्वारा साधकले लौकिक एवं पारलौकिक समस्त प्रकारका सिद्धिशक्ति प्राप्त गर्न सक्दछ। 

देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ । 

नवरात्रिको नौ दिनसम्म माता जगदम्बा दुर्गाको नौ स्वरुपको ध्यान, साधना , उपासना गरि दसौ दिन विजयादशमीको दिन उनको प्रसाद स्वरूप मान्यजनबाट टिका , जमरा लगाई आशिर्वाद लिने गरिन्छ ।