काठमाडौं - पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ ।
बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा १४ वर्षीय निकसन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने सुवास राईको १५ वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन । “विजयपुर नहरको पानी बन्द गरेरसमेत बगाएका बालकको खोजी गरिरहे पनि केही फेला पार्न सकेका छैनौँ, खोजतलास भइरहेको छ”, सहायक प्रजिअ बरालले भने ।
पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिक उनीहरूलाई दिउँसो १ बजेतिर खोलाले बगाएको थियो ।
घटनाको सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी खोजीमा खटिएका छन् ।
यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट खोताखोरसहित नौ जनाको टोली खोजी र उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


0 comment