काठमाडौं - जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश हरिसिंह धामीको एकल इजलासले आज उनीहरूलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा उनीहरूविरुद्ध मुद्दा दायर भएपछि उनीहरू फरार रहेका थिए। उनीहरू आज अदालतमा आफैं उपस्थित भएका थिए।

सीआईबीले अध्यक्ष नेम्वाङ, महासचिव राईसँगै कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो। जोशी र पाण्डे यसअघि नै धरौटीमा छुटिसकेका छन्।