प्रभातराज पाण्डे,

पृथ्वीनारायण शाह (वि.स. १७७९–१८३१) शाहवंशिय राजा थिए । पृथ्वीनारायण शाह गोरखाका राजा नरभूपाल शाहका छोरा हुन । उनी गोरखा दरवारका प्रथम शाहवंशिय राजा हुन । स–साना क्षेत्रका राजा रजौटामा बाँडिएका बाईसे र चौबिसे राज्यहरुलाई एकत्रित गरि एक देशको सृजना गर्ने पृथ्वीनारायण शाह आधुनिक नेपालका राष्ट्रनिर्माताका रुपमा चिनिन्छन् । यीनको संझनामा पौष २७ गते राष्ट्रिय एकता दिवस मनाईन्छ । यीनको मृत्यु पश्चात यीनका छोरा प्रतापसिंह शाह नेपालका राजा भए । 

पृथ्वीनारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभूपाल शाह तथा रानी कौसल्यावतिका छोरा थिए । वि.स. १७७९ पौष २७ गते यीनको जन्म भएको थियो । उनी वाल्यकाल देखिनै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान तथा मेहनती थिए । शुरुदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनितिको ज्ञान दिईएको थियो । धनुवाण, तरवार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए । यीनको पहिलो विवाह मकवानपुरकी राजकुमारी ईन्द्रकुमारीसँग भएको थियो । गोरखा र मकवानपुर वीच ओहरदोहर गर्नुपर्दा उपत्यकाको भू–बनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले । त्यसबखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन । त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतीशील काठमाण्डौ उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए । वि.स. १७९८ मा काठमाण्डौ आएका पृथ्वीनारायण शाहले गोरखा दरवारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजीत मल्ललाई दिए भने त्यसको कदरस्वरुप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनले मितेरी लगाई दरवारमा स–सम्मान लामो अवधिसम्म राखेका थिए ।

गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी मा दर्शन गर्न गएको थाहापाई काठमाण्डौका राजा जयप्रकाश मल्लले उनलाई दरवारमा ल्याई मितेरी लगाएका थिए । उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौबिस राज्यका संयूक्त फौजवीच वि.स. १८२८ मा घमासान युद्ध भएको थियो । अविरल युद्ध हुँदा केहरसिंह बस्न्यात सहित ५०० भन्दा बढि गोरखालीले वीरगति प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनपतिहरु प्नि शत्रुको कव्जामा पर्न गएकाले रणविर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकि सैनिक लिई निराशभई पराजित अवस्थामा काठमाण्डौ पुगेका थिए । पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सर्मपण गर्नेहरुको जागिर समाप्ती गरी बन्दुकको मोल बापत ६० रुपैया लिएका थिए । यो पराजयले गोरखालीहरुको महल्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोरख विरुद्ध कडा मुकाविला गरेमा विजय हुन सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जाग्रीत गरेको थियो । 

पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी ईन्द्र कुमारीसँग वि.स. १७९४ मा भएको थियो । मकवानपुर त्यसवेलाको एक शक्तिसाली राज्य भएकाले त्यहाँ नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो । तर, पछि हेमकर्ण सेनले असर्मथता जनाएपछि उनको दोस्रो विवाह काशिका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मी सँग भएको थियो । नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो ।