काठमाडौं – विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ । यँहाको सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक, प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी (५१.५०%) हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन् । परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह, छोराको महत्त्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्थर विकास हुन सकेको छैन । 

लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसर आदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ । छोरी भएर जन्मेकै आधारमा आफ्नै अभिभावकबाट मारिनुपरेका दर्दनाक समाचारहरू पढ्न–सुन्न पाइन्छ । आशा गरेजति दाइजो नपाएकाले केटा पक्षका परिवार, छिमेकी या केटा आफैंले महिलामाथि शारीरिक तथा मानसिक हिंसा मात्रै नगरेर उनको हत्या नै गरेका समाचारहरू न आएका होईनन् ।

कामका सिलसिलामा यात्रा गर्दा या अबेरसम्म काम गर्नुपरेका कारण घर आउन ढिलो हुँदा महिलालाई थाकेकी हौली भनेर सहानुभूति दिनुको सट्टा, उनको चरित्रमाथि प्रश्न उठाई शारीरिक तथा मानसिक हिंसा गरेका कैयौं घटना हामीले सुन्दै र पढ्दै आएका छौं । बाहिर नआएका यस्ता घटनाहरू झन अझ कति होलान कती ?

मानिस किन यति क्रुर भए, खै मानवता ? एक महिलाको अस्तित्व, आत्म र प्राण कति क्रुरताका साथ हरण गर्न सकेका हुन् ? हामी आफ्नो सामान्य निर्जिव वस्तु बिग्रदा, टुट–फुट हुँदा वा हराउँदा निकै चिन्तित हुन्छौं । हामीले घरमा पालेका कुकुर, बिराला, बाख्रा लगाएत घरपालुवा जनावरलाई धेरै माया गर्छौं । उनीहरुलाई केही हुँदा वा गुमाउँदा निकै मर्माहत हुन्छौं ।

यहाँ त कसैका छोरी, चेली, बुहारी आफन्त निरन्तर हिंसाका सिकार भएका घटनाहरु एकपछि अर्को गरी निरन्तर आइरहेका छन् । कति बलात्कृत भएका छन्, कति शोषित भएका छन्, कतिको हत्या भएको छ । तर,यस्ता घटना सार्वजनिक हुनु, सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउनु भने सामान्य जस्तै भएका छन् ।

निजी र सार्वजनिक जीवनमा महिला माथि लक्षित गरि शारीरिक, मानसिक, यौनिक र मनोवैज्ञािनक तवरमा उनिहरुलाई हानी पुर्याउनुलाई महिला हिंसा बुझिन्छ । महिला भएको कारण लैगिङ्क विभेद गरि उनिहरुलाई शारीरिक, मानसिक रुपमा दिइने पीडा, संस्कार र परम्पराको नाममा गरिएको अमानवीय ब्यवहार, प्रतिबन्ध लगाएत जुनसुकै तबरबाट महिलाको आत्मसम्मानमा पुर्याईने सबै किसिमका आघातलाई महिला हिंसाको रुपमा बुझ्नुपर्छ । महिला भएकै कारण “कम बुद्धिमानी र कमजोर छन्” भनेर राखिने सोँच पनि महिला माथि गरिएको मनो वैज्ञानिक हिंसा नै हो ।

बलात्कार, घरेलु हिंसा, कुटपिट, बोक्सीको आरोपमा खुवाइएको दिसा–पिसाब, एकल महिला माथि उठाएका नजर र गरिएको नैतिक अपहेलना जस्ता विविध सामाजिक विकृति महिला माथि भएका हिंसा हुन । नेपालको सन्दर्भमा महिला हिसा भर्खर मात्र देखा परेको होइन । कतिपय महिला माथि गरिने दु्रव्यवहारहरु संस्कारको रुपमा नै किटान गरिएका छन् । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भुमिका निर्वाह गरिरहेका छन ।परम्परा र समाजिक सरचनाले त महिलालाई जन्मसिद्ध असमान, कमजोर र अपवित्र तुल्याएकै हो । अझ थप सरकारले महिला हिंसाका घटना माथि राजनीतिकरण गरेर महिलालाई राष्ट्रबाटनै बारामबार अपहेलनाको महसुश गराएको छ ।

कतिपय कानूनी ब्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन । छिमेकी मुलुकले पृथ्वी कै विकल्प खोजिरहेको यो विकसित समयमा पनि हाम्रा देशका नारी सडकमा होइन कठै घरमै सुरक्षित छैनन् । अझै नारीले नारीकै पीडा बुझ्न नसक्नु कति ठूलो बिडम्बना होला । आठ वर्षकी छोरी बाबुबाट बलात्कृत हुन्छिन् । निर्मलाको घटनाले संसार रुवायो । चितवनमा सविता भन्डारीको घटनाले सामाजिक सञ्जाल ततायो ।

तर, देशकै मुख्य र सम्मानीय पदमा महिला नै राष्ट्रपति हुँदा पनि यी विषयहरुमा गम्भीर भएर रोकथाम, नियन्त्रण र दोषीलाई कारवाहीका सवालमा महत्वपूर्ण निर्णय र कार्यान्वयन हुन सकेका छैनन् । महिला हिंसा गर्नेलाई हुने फितलो कारबाहीले पनि महिला हिंसाले प्रसय पाइरहेको छ । महिला हिंसाको निम्ति स्वयम् राज्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाको भूमका, महिला अधिकारवादीसँग योजना नभएका होइनन् । तर, योजनाहरु आवश्यक स्थान परिमाणमुखि भएनन् । महिला चेतना र कानूनी कारवाही भन्दै घटना घटिसके पश्चात् सडकमा चिच्याएर मात्र महिला हिंसा रोक्न सकिँदैन । अपराधी बचाउन लागि पर्ने राज्यको निकायमा बस्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याई कारवाही गर्नु पर्दछ ।

महिला हक, अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी सङ्घ संस्था तथा सरकारी निकाय सम्मले कामहरू ससक्त रूपबाट गरिरहेकै छन् । नेपालको संविधानमा समेत महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उदेश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोहि घोसणा पत्रको बुदा लाई आधार बनाइ कामहरू भइरहेको अवस्था पनि छ ।

संविधान सभाले विक्रम संवत् २०७२ साल असोज ३ गते घोषणा गरेको नेपालको संविधानले देशको राज्य व्यवस्थालाई एकात्मक र केन्द्रीकृतबाट सङ्घीय शासन प्रणालीमा रूपान्तरण गरेको छ । यसलाई नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो शासकीय परिवर्तनको रूपमा लिइन्छ । यसैगरी समानान्तररूपमा अगाडि बढेको महिला आन्दोलनले उठाउँदै आएका धेरैजसो मुद्दालाई पनि यस संविधानले समेटेको छ ।

मूलतः महिलालाई महिला भएकै कारण पितृसत्तात्मक समाज र स्वयं राज्य व्यवस्थाले गर्दै आएको शोषण, भेदभाव र नियन्त्रणात्मक संयन्त्रलाई सम्बोधन गर्दै संविधानले समतामूलक व्यवस्थाहरू आत्मसात् गरेको पाइन्छ । विशेषतः नेपालको संविधानको धारा ३८ ले महिला हकको व्यवस्था गरेको छ । यसअन्तर्गत सबै महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक व्यवस्था गरिएको छ । 

यसैगरी महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर, महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा वा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने व्यवस्था पनि छ । यस्तो गरेमा कानुनबमोजिम दण्डनीय हुने र पीडितलाई क्षतिपूर्ति हुने जस्ता व्यवस्थासमेत गरिएको छ । यसका साथै महिला र सीमान्तकृत समूहहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रगतिशील कानुनको परिणामस्वरूप अब महिलाहरू ३ तहका सरकारमा निर्वाचित पदहरूमा एकतिहाइ भन्दा बढी छन् । 

कतिपय विषयमा भने मौलिक हकसम्बन्धी विभिन्न कानुन भए पनि नियमावली र कार्यविधिगत दिशानिर्देशहरूको तर्जुमामा भएको ढिलाइका कारण कानुनको पूर्ण र प्रभावकारी कार्यान्वयनमा बाधा पुगेको छ । यही कारण महिला तथा यौनिक अल्पसङ्ख्यकहरूविरुद्धका भेदभावपूर्ण कानुनहरू यथावत् छन् । महिलासम्बन्धी विभिन्न कानुनी ढाँचाले महिला र सीमान्तकृत समूहहरूको अधिकारलाई अगाडि बढाउन ठोस आधार उपलब्ध गराएका छन् तापनि यी कानुनको प्रभावकारी कार्यान्वयनमा चुनौती भने यथावत् छन् । 

नेपालमा विगतमा रहेको सती, देउकी, झुमा, बोक्सिी जस्ता प्रथाप्रतिको अन्धविश्वासका कारण त्यतिबेलाको समाजमा महिलाको अवस्था कस्तो थियो भन्ने सजिलैसँग अनुमान गर्न सकिन्छ । यद्यपि बेलाबेलामा त्यस्ता व्यवस्थाविरुद्ध आवाज नउठेका भने होइनन् । महारानी राजराजेश्वरीबाट आफ्ना राजाको मृत्युमा सती जान अस्वीकार गरिएको घटना, सामाजिक आन्दोलनको अगुवाइ गर्ने योगमायालाई तत्कालीन शासकले आत्महत्या गर्न बाध्य पारेका घटना र छिटफुटरूपमा भएका अन्य आन्दोलनलाई परिवर्तनका लागि गरिएका तत्कालीन विद्रोहका रूपमा हेर्न सकिन्छ । 

पुरुषको विरुद्ध बोल्नु र जानु महिला अधिकार होइन । महिलालाई अधिकार थम्याउँदैमा महिला हिंसा पूर्णरुपमा रोकिन्छ भनेर दिएका अभिब्यक्तिहरु हाँस्यास्पद बाहेक केहि होइनन् । नीतिगत रुपमा केहि महिला अधिकारवादि सकारात्मक केहीतवरले अधि बढेको देखिएता पनी महिला हिंसाका ब्यवहारिक पाटामा भूमिका निर्वाह गर्न चुकिरहनु परेको छ । समाजमा महिलासँग जोडिएर हुने घटनाहरु प्रज्वलनशील नै छन् ।

नेपाली समाज हिन्दू धर्म वा आर्य संस्कृतिमा आधारित समाज हो । यो समाजमा परिवारको मूली धेरैजसो पुरुषहरू मात्रै हुने गर्दछन् । हिन्दू धर्मको प्रमुख आधिकारिक ग्रन्थ वेदमा महिलाहरूलाई भेदभाव हुने किसिमको कुनै कुरा उल्लेख गरिएको पाइँदैन । वैदिक कालमा महिलाहरूलाइ पनि पुरुषसरह समान अधिकार प्राप्त थियो । महिला हिंसाका घटनामा निरन्तरता हुनुले आजको समय, सोँच, सत्ता र शासनसँगै हामी मानवजातिप्रति नै नैतिकता र मानवीयताको शंका उब्जेको छ । शिक्षित, समृद्ध र आधुनिक समाजमा पनि विकृत र अमानवीय घटनाले निरन्तरता पाउनु, पीडितले न्याय नपाउनु, अपराधीले सजाय नपाउनु जस्ता गतिविधिले झनै क्रसित बनाएको छ ।तसर्थ अबका दिनमा महिला हिंसाका विषयमा नयाँ तवरले सोँच्न आवश्यक छ ।

शिक्षा, प्रविधि सचेतनाका बावजूद पनि किन महिला हिंसा लगाएतका जघन्य अपराध भएका छन् । आखिर मुख्य कारकहरु के–के हुन्, तीनको निराकरण गर्दै कसरी महिला हिंसाका घटना न्यूनिकरण र नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक रुपमा कार्यान्वयन गर्दै घटना घटीहाले पीडितले न्याय र दोषीले कारवाही पाउनै पर्छ । किनकी वेदमा उल्लेख गरिए अनुसार “यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर ।