प्रभातराज पाण्डे,

अहिले विदेशी प्रभुहरुको ईशारामा आथिक प्रलोभनमा परेर सदियौदेखि कायम रहेको सामाजिक धार्मिक सद्भाव र एकतालाई जवर्जस्ती भत्काउने प्रयत्न गरिदै छ । शिवको तपोभुमि ऋषि महर्षिको ज्ञानभुमि राजा जनकको आस्थाभुमि गौतम बुद्धको शान्तिभूमि हिन्दु जीवन पद्धतिमा जीवनयापन गरेको करोडौ नेपालीहरुको जन्मभूमि नेपालीलाई विदेशीको लहलहैमा धर्म निरपेक्षताको ढोल बजाएर साम्प्रदायिक मुठभेडको विजारोपण गराइएको छ । अतः हिन्दु राष्ट्रको पहिचान र संरक्षणका लागि सम्पूर्ण हिन्दु धर्मालम्बी र आस्थावान् नेपालीहरुमा शास्वत ज्ञान प्राप्त होस् भन्ने कामना गर्नैपर्दछ । 

नेपालको भु–राजनीतिक अवस्थाको पृष्ठभुमिमा हिन्दु राष्ट्रको पहिचान र संरक्षण आजको अपरिहार्य आवश्यकताका रुपमा देखापरिरहेको छ । छिमेकी राष्ट्र भारत र चीनबीच अवस्थित नेपाललाई वाह्य शक्तिहरुको निहित स्वार्थबाट छूटकारा दिलाई राष्ट्र र राष्ट्रिय एकताको प्रतिकका रुपमा महत्वपूर्ण भूमिका खेलेको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई स्वीकार गर्नु नै उत्तम उपाय हो । हिन्दू राष्ट्र र राजसंस्थालाई शासन व्यवस्थाको रुपमा नलिई स्वाभिमान र पहिचानको प्रतिकको रुपमा हेरिनु उपयुक्त हुन्छ । संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रले अभिभावकत्व गरेको प्रजातान्त्रिक व्यवस्थामा राज्यको शासनपद्वति न्यायपूर्ण, प्रजातान्त्रिक, एवं मर्यादित र अनुशासित हुने गरेको तथ्य सबैका सामु प्रष्ट भएकै कुरा हो । 

आफूहरुलाई गणतान्त्रिक, लोकतान्त्रिक, अग्रगामी, क्रान्तिकारी भन्न रुचाउने राजनीतिक दलहरुले व्यक्तिगत र दलगत स्वार्थका लागि राष्ट्रियतालाई उपेक्षा गर्ने अनेकौँ राष्ट्रघाती सम्झौता, सहमति गरेको सर्वविदितै छ । तर हिन्दू राष्ट्र र राजसंस्थाका कारण हालसम्म राष्ट्र र जनताको शिर झुक्ने काम गरेको पाइँदैन । विगतमा राजनीतिक नेताहरु जिम्मेवार, उत्तरदायी र मर्यादित नहुँदा राजसंस्थाबाट अभिभावकीय दायित्व निर्वाह भएको जगजाहेर नै छ । केही विवाद र अपवादका घटनाहरुलाई कोट्याएर लामो इतिहास बोकेको राजसंस्थाले विभिन्न कालखण्डमा नेपालको राष्ट्रियता जोगाउन निभाएको महत्वपूर्ण योगदान र साहसिक भूमिकालाई यत्तिकै भूल्नु भनेको आफ्नो परिचय र अस्तित्व मेटाउनु हो । राजसंस्थाको विशेषता भनेको जस्तोसुकै आपत्कालीन वा संक्रमणकालीन अवस्थामा कत्ति पनि विचलित नभई शान्त, स्थिर एवं अनुशासित रहि राष्ट्र र जनताको संरक्षकका रुपमा अडिग रहनु हो । गणतन्त्रवादी नेताहरु राष्ट्रको भन्दा आफ्नो दलगत स्वार्थमा केन्द्रित भएका अनेकौ उदाहरणहरु छन् , तर नेपालको राजसंस्था कुनै दल, गुट, सम्प्रदाय वा जातको मात्र हित चिताउने संकीर्ण विचारको हुँदैन । यस स्थितिमा संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको विचारधारा स्वीकार गर्ने राजावादी शक्तिहरु एउटा कित्तामा र गणतन्त्रवादीहरु अर्को कित्तामा ध्रुवीकरण भएको वर्तमान नेपालको अवस्थालाई स्थायी निकास दिन सम्पूर्ण राष्ट्रवादी संस्था र व्यक्तिहरु हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना गर्न एकजुट हुनु अपरिहार्य छ । 

हिन्दु धर्म चलन चल्तीको धार्मिक पद्धति मात्र होइन यो एउटा सर्वोत्कृष्ट जीवनपद्धति हो, जसमा श्रद्धा, आस्था, करुणा मिश्रीत भई एक सन्तुलित, बैदिक सनातन धर्मको कर्म रहन्छ । हिन्दु धर्म कुनै व्यक्ति विशेषबाट प्रवर्तित छैन् । हिन्दु धर्म।लाई सनातन धर्म पनि भन्ने गरिन्छ, जसमा अनेक जातजाति, चिन्तन र ज्ञानबाट खारिएर तयार भएको महर्षिहरुको ध्यान केन्द्रित रहेको हुन्छ । विभिन्न वाद या उपनिषदहरुमा उल्लेखित वाणीहरु कुनै जात वा समुदाय मात्रको हो भनेर भ्रम फैलाउनु भनेको नियतवश अनैतिक आक्रमण गर्नुमात्र हो । विकृति, विसंगतिका रुपमा देखापरेको जातीय छुवाछुत र चरम गरिवीपनलाई केवल हिन्दूधर्म र संस्कृतिसगं जोडेर बदनाम गर्ने र क्षणिक लाभ, लालसा देखाएर धर्म परिवर्तन गराउने रणनीतिक प्रपञ्च हो भन्ने बुझिन्छ । हिन्दु धर्म भनेको शान्ति हो । शान्तिका दूत भगवान् गौतम बुद्ध जन्मेका नेपालमा अशान्तिको आगो बाल्ने तितो सत्यको वर्णन जति गरेपनि दानवरुपी विखण्डनकारी मनमस्तिष्कको उपज मात्र हो । अहिले विदेशी प्रभुहरुको ईशारामा आर्थिक प्रलोभनमा परेर सदियौंदेखि कायम रहेको सामाजिक, धार्मिक सद्भाव र एकतालाई जवर्जस्ती भत्काउने प्रयत्न गरिदै छ । शिवको तपोभूमि, ऋषि महर्षिको ज्ञानभूमि, राजा जनकको आस्थाभूमि, गौतम बुद्धको शान्तिभूमि हिन्दू जीवन पद्धतिमा जीवनयापन गरेका करोडौं नेपालीहरुको जन्मभूमि नेपाललाई विदेशीको लहलहैमा धर्म निरपेक्षताको ढोल बजाएर साम्प्रदायिक मुठभेडको विजारोपण गराइएको छ । अतः हिन्दू राष्ट्रको पहिचान र संरक्षणका लागि सम्पूर्ण हिन्दू धर्मावलम्बी र आस्थावान् नेपालीरुमा शास्वत ज्ञान प्राप्त होस भन्ने कामना गर्नैपर्दछ ।

(लेखक विशाल नेपाल महाअभियानका केन्द्रिय सदस्य हुनुहुन्छ)