“अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “महिलाको श्रमको पहिचान, मान्यता एवं रोजाईको काम गर्न पाउने

अधिकारका लागि महिला दवाब अभियान ”  

काठमाडौं – सम्मानित काम, उचित पारिश्रमिक, र हिंसा रहित जीवनयापन गर्न पाउनु प्रत्येक व्यक्तिको मानव अधिकार हो । हरेक वर्ष मार्च ८ का दिनमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई उत्सवको रुपमा संसारभरि नै मनाउने गरिन्छ  । इतिहासलाई नियाल्दा विश्वमा भएका श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी भएको हो ।   

उन्नाइसौं शताब्दीको मध्यबाट विश्वका विभिन्न देशमा महिला अधिकारका लागि श्रमिक महिलाहरूले आन्दोलनहरू शुरु गरेका थिए । सन् १८५७ मा अमेरिकाको गार्मेण्ट कारखानामा काम गर्ने श्रमिक महिलाहरूले निश्चित कार्य घण्टा, समान कामको समान ज्याला, मातृ शिशुको अधिकार, महिला मजदुरलाई ट्रेड युनियनको अधिकार लगायतका माग सहित गरेको प्रदर्शनले आन्दोलनको रूप लियो । 

श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको मञ्चबाट पहिलो पटक महिलाको समान अधिकारको लागि आवाज उठाउने प्रथम व्यक्ति जर्मन समाजवादी महिला नेता क्लारा जेट्किन थिइन् । पछि सन् १९०९ मा न्यूयोर्कको गार्मेण्ट कारखानाका मजदुरहरूलाई युनियनमा लागेको आशंकामा व्यवस्थापनले निस्कासन ग¥यो ।  
यो घटनाले गर्दा  श्रमिकहरू हडतालमा उत्रिन बाध्य भए । जसले गर्दा श्रमिक आन्दोलनमा गुणात्मक परिवर्तन ल्यायो र पहिलाभन्दा ठूलो संख्यामा महिलाहरू युनियनमा संगठित हुन पुगे । यो हड्ताल विश्वको इतिहासमा “महान उथलपुथल” को नामबाट चर्चित छ । 

सन् १९१० मा १७ देशका १०० जना समाजवादी महिलाहरूको बीचमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा क्लारा जेट्किनले महिला अधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाहरूले मार्च ८ लाई महिला अधिकार आन्दोलन दिवसका रूपमा मनाउन राखेको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो र सन् १९११ देखि यस दिनलाई विश्वका विभिन्न देशमा महिला अधिकारको आन्दोलनको प्रतीकका रूपमा मनाउन थालिएको हो । 

त्यसैगरि सन् १९१७ को मार्च ८ बाट तत्कालिन सोभियत संघमा लाखौँ श्रमिक महिलाहरुले “रोटी र शान्ति” भन्ने नारा सहित प्रथम विश्व युद्धको अन्त्य, मतदान अधिकार लगायतको माग राखि हड्ताल गरेका थिए । फलस्वरुप महिलाहरुद्धारा उठान गरेको आन्दोलनले दोस्रो रसियन क्रान्ति सम्पन्न गर्न प्रमुख भुमिका खेलेको थियो । संयुक्त राष्ट्र संघले भने सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष घोषणा गर्दै त्यस वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थाल्यो ।  

खासगरी  मजदुरको हकहितका लागि भनेर विश्वभर प्रत्येक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाईन्छ । यसैगरी नेपालमा पनी सोमबार १३४ औँ अन्तराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरि धुमधामसंग मनाईयो । दिवसकै अवसरमा सरकारले देशभर सार्वजनिक विदा पनि दिएको थियो । तर, जुन उद्देश्यका साथ मजदुर दिवस मनाउनु पर्ने हो त्यही काम भने हुन सकेको छैन् । दिवस केबल सरकारी र गैरसरकारी संघ संस्थाहरुलाई मात्रै लागेको देखिन्छ । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले श्रमिक दिवस मनाई रहदा वास्तविक श्रमिकहरु भने श्रममै व्यस्त थिए ।

दैनिक रुपमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई श्रमिक दिवस कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै छ । शहर बजारमा चर्को नारा लगाएर झाँकी जुलुससहित ताम झामका साथ विभिन्न संघ संस्थाहरुले कार्यक्रम गरि रहँदा पोखरा ११ की सुकमाया वि. क.लाई भने, त्यसको कुनै प्रवाहा नै छैन् ।
खोलामा गिट्टी कुटेर जिविका चलाउँदै आएकी ५५ वर्षीया सुकमाया विकलाई भने उनी दिवसका दिन पनि बिहानैबाट गिट्टी कुट्न र ढुंगा बटुल्नमा व्यस्त देख्खेन्थिन । विकलाई श्रमिक दिवस भनेको के हो ?, यो दिवस कहिले र किन मनाइन्छ त्यस बारेमा पनि उनलाई कुनै जानकारी छैन् । रोल्पा स्थायी घर भएकी विक १८ वर्ष पहिले दाङमा झरेकी हुन् । अहिले उनी पोखरामा बस्दै आएकी छिन् ।

उनी विगत ५ वर्षदेखि हापुर खोलामा गिट्टी कुटेर दैनिक गुजारा चलाउदै आएकी छिन् । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उनी खोला किनारमै गिट्टी कुटेर समय बिताउँछिन् । हत्तपत्त खुलेर कसै सँग कुरा नगर्ने उनी पत्रकार भन्ने थाहा पाएपछि त झनै बोल्न मान्दैनिन् । यस्ता दिवसहरुमा धेरै पत्रकारहरुले उनलाई खोज्दै समाचार संकलनको लागि आउँने गरेको पनि नारी संसारसंगको कुराकानीमा विकले बताईन् । ‘हामीले बोलेर के हुन्छ र, हाम्रो दुःख हामी सँगै छ, कसैले केही सहयोग गर्ने होईन’ हामीले आफ्नो नाम दिएर, दुख सुनाएर के हुन्छ र उनले भनिन् । यसरी विकले एक महिना गिट्टी कुटिन भने एक टिप हुन्छ तर त्यही गिट्टीकोे पनि उनले उचित मूल्य पाउँदिनन् । धेरै समस्याका बाबजुद एक टिप गिट्टी २ हजारमा बिच्ने गरेको उनले बताईन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कुरहरियाकी कल्पना रोकाको काहानी पनी यस्तै छ । उनलाई वर्ष दिनमा मनाईने श्रमिक दिवसले कुनै उपलब्धी ल्याएको छैन । सधै बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म इट्टा, बालुवा बोकेर उनको दैनिकी चल्ने गरेको छ । रोकालाई एकदिन काम नगरे बिहान बेलुका उनको भान्सामा के पकाउने भन्ने चिन्ता हुन्छ । 

श्रीमानले कान्छी श्रीमती लिएर भारत गएपछि एक्लिएकी रोका त्यसपछिका दिनहरुमा दैनिक मजदुरी गरेर दुईवटी छोरीहरुको पालन पोषणसहित पढाउँदै आएकी छिन् । गाउँमा काम नपाएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ रानी जरुवामा विगत ५ वर्षदेखि कोठा भाडामा बसेर लेवर काम गर्दै आएकी छिन् । अहिलेसम्म नत घर परिवार नत कुनै संघसंस्थाहरुबाट कुनै सहयोग पाएको उनी बताउँछिन् । देशमा तीनतहको सरकार पनि छ तर व्यवस्थाहरु परिवर्तन भए पनि वास्तविक श्रमिकहरुको अवस्था फेरिन सकेको छैन् ।