काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सभामुख डीपी अर्याललाई भेटेर  सांसदहरुबाटै प्रहरीको मनोबल गिराउने काम भएको भन्दै गुनासो गरेका छन् । सभामुख अर्याललाई शुक्रबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेर कार्कीले गुनासो पोखेका हुन् । 

पछिल्लो समय संसदीय समितिको बैठकमा कसैको उजुरीको भरमा सुरक्षा निकायका प्रमुख तथा गृह सचिवलाई डाकेर धम्क्याउने र धर्काउने काम भएको जनाउँदै कार्की प्रहरी उच्च अधिकृतसहितको टोलीसहित सभामुखलाई भेट्न  पुगेका हुन् ।

आईजीपी भनेको कुनै व्यक्ति नभएर संस्था पनि भएको हुँदा शिष्टाचार र मर्यादाको कुरा पनि ख्याल गरिदिनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो । जेन-जी आन्दोलनबाट प्रहरीको मनोबलगिरिरहेका बेला संस्थामाथि बारम्बार प्रहार हुँदा तल्लो तहसम्मै समस्या देखिनसक्ने अधिकृतले बताएका थिए ।

सभामुख अर्यालले प्रहरी नेतृत्वले राखेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै यो विषयमा बुझिरहेको भनेका थिए । गृहमन्त्री सुधन गुरुङले पनि सो विषयप्रति लक्षित गर्दै उजुरीका भरमा न्यायाधीश नबन्न सांसदहरुलाई सुझाव दिएका थिए । लेखा समिति बैठकमा रास्वपा सांसद खगेन्द्र सुनार र आईजीपी कार्कीबीच नोकझोक भएको थियो ।