– लक्ष्मी खनाल

म स्त्री हुँ म नारी हुँ 
म कली हुँ म फुलवारी हुँ 
म दर्शन हुँ म दर्पण हुँ 
म नाद हुँ म गर्जन हुँ 
म छोरी हुँ म आमा हुँ
म बलिदान को गाथा हुँ
म द्रौपदी हुँ म सीता हुँ

काठमाडौं – मलाई समाजले कमजोर बनायो, आमा बाबा ले की आफैले तर म कमजोर छु । मेरो श्रीमान कमाउने हुन पर्छ । एउटा घर त हुनै पर्छ । बाबा आमा मिलनसार हुन पर्छ । किन कि म नारी हो नी । पुरुष जस्तो हुन्न नी । भगवानले नै कमजोर बनाएको हो कि म आफै भकी हौ ? तिम्ले आफ्नो सपना आफैले कुल्चेकी छौ, कमजोर आफैले ठानेकी छौ । नारी लाई नारीले कमजोर बनाउछन् । त छोरी होस नी ? तेरो लागि बोल्न नी पुरुष चाहिन्छ ?  की अझै मानसिक दमन खेप्न बाध्य हुन्छेयौ ? तीमी प्रतिकार गर नारी र पुरुषमा केही फरक छैन ।

म एक नारी, नेपाली समाजमा हुर्केकी बढेकी अनि यही समाजमा बाँचिरहेकी । समाजले बनाइदिएका र तोकिदिएका नियमकानुनलाई मान्दै आफ्नो जिवनलाई अघि बढाइरहेकी नारी हुँ । मलाई लाग्छ मलाई यो समाजले एक असल नारीको संज्ञा दिएको छ, किनकी म समाजले तोकिदिएको दायराभन्दा बाहिर गएकी छैन अर्थात म बिहान सबेरै उठ्छु, चिया पकाएर घरका परिवारलाई दिन्छु, अनि खाना बनाउँछु, बच्चालाई खुवाँउछु अनि आफू खाएर कार्यालय जान्छु, साँझ कतै नगइकन सरासर घर फर्कन्छु र पुनः घरको काममा आफूलाई समर्पित गर्छु। छुट्टीको दिन घर सरसफाई गर्छु। आजकलको मेरो दिनचर्या यही हो ।

यही दिनचर्याको आधारमा मलाई एक असल, व्यवहारिक र संस्कारी बुहारी र छोरीको संज्ञा दिएको छ यो समाजले । यही समाजमा मैले ६ महिनाअघि अर्की एक नारीलाई जन्म दिएकी छु। आजकल जब जब म उनलाई हेर्छु मेरो मातृत्वसगैँ उनका बारेमा अनगिन्ति कुराहरु मनमा आइपुग्छन्। उनी जान्ने बुझ्ने हुँदा यो समाजले उनलाई असल वा खराब केको संज्ञा दिन्छ होला, उनी ठूली हुँदा समाज कस्तो बन्ला, समाजका मान्छेको सोचाई फेरिएलाकि नफेरिएला, यो समाजले मेरी छोरीलाई के कस्ता दायरामा राख्देला? आदि आदि ।

म मेरी छोरीलाई असल बनाउन हरसम्भव प्रयन्त गर्नेछु तर यो समाजले छुट्याइदिएको असल र खराबको बुँदाको भूमरीमा फसाएर होइन, उसमा मानवीय गुणको बिजारोपण गरेर। अनि अर्को कुरा म मेरी छोरीलाई मेरो सपनाको भारी बोकाएर निसासिन दबाब दिने पनि छैन, नत समाजले निर्धारण गरिदिएको दायरामा बस्न नै दबाब दिनेछु। मैले पुरा नगरेको काम तिमीले पुरा गर्नुपर्छ भनेर कहिल्यै उसमाथि दबाब दिनेछैन। ऊ के बन्छे, कस्ती बन्छे त्यो समयले निर्क्र्यौल गर्दै जानेछ । अब एउटा यथार्थ कुरा गरौँ, महिला भएकै कारण म पुरूषभन्दा कमजोर छु, महिला भएकै कारण मैले समाजले तोकिदिएको दायराभित्र मात्र बस्नुपर्छ, महिला भएकै कारण मैले नरम भएर मात्र बोल्नुपर्छ, महिला भएकै कारण म घरेलु बन्नुपर्छ, महिला भएकै कारण म राति हिँड्न हुँदैन, आदि इत्यादि कुरामा मैले आफूलाई सिमित गरेकी छु, म मात्र किन धेरैले सिमित गरेका छन्।

तर मेरी छोरीले जान्ने सुन्ने हुँदा महिला भएकै कारण भेदभाव भएको अनुभूति कहिल्यै गर्न नपाओस्, उसलाई भित्रैदेखि म महिला हुँ त्यही भएर म पुरूषभन्दा कमजोर छु भन्ने अनुभूति कहिल्यै नहोस्  र महिला र पुरुषबीच हुने भेदभावका कुरा उनका लागि कथा बनोस्, यथार्थ नबनोस् ।

मेरी आमाले मलाई जन्माउँदा ‘फेरि छोरी नै पो जन्मी’ भनेर मुख खुम्च्याउने समाजको सामना २८ वर्षपछि मेरी छोरीलाई जन्माउँदा मैले पनि गर्नुप¥यो, त्यतिमात्र कहाँ, म र मेरो श्रीमान छोरीको आगमनमा उत्साहित भइरहँदा मेरा केही आफन्त र समाजका केही मान्छे खासै खुसी र उत्साहित भएनन् किनकि मैले छोरा नभई छोरी जन्माएँ। मेरी आमाले मलाई जन्माउँदा र मैले मेरी छोरी जन्माउँदा फरक यति थियो, यो बेला मेरो अगाडि आएर मेरो आमालाई भनेजस्तो कसैले पनि ‘ए छोरी पो जन्मी’ भन्ने हिम्मत गरेनन्। तर, मैले र मेरी आमाले छोरी पाउँदा नाक खुम्च्याउँने समाजको सामना मेरी छोरीले भने गर्नु नपरोस्। मेरी छोरीलाई आफू महिला भएको र आफूले महिलालाई नै जन्म दिएको भन्ने कुरामा समाजले केही भन्ला भन्ने भान समेत नहोस्। त्यो छोरा र छोरी बिचको अन्तर हुन्थ्यो रे भन्ने कुरा हामीलाई अहिले सतीप्रथा थियो रे भनेजस्तो इतिहास बनोस् ।

यो सबै भनिरहँदा मैले मेरी छोरीलाई समाजले भनेको कुरा नमान, एकदम रुखो स्वरमा मात्र बोल, घरेलु नबन लगायतका कुरा सिकाउन पक्कै खोजेको होइन, तर महिला भएका कारण मैले नरम बोल्नुपर्छ, समाजले भनेको मान्नुपर्छ भन्ने अनुभूति उसले गर्नु नपरोस् मात्र भन्न खोजेकी हुँ । अर्थात म महिला हुँ त्यही भएर म नरम स्वरमा बोल्नुपर्छ भन्ने नभई नरम बोल्नु भनेको सभ्यता हो, संस्कार हो भन्ने मान्यता बनोस् । 

मेरो बुझाईमा महिला पुरुष बराबरीको अर्थ युरोपीयन समाजमा जस्तो खुला लुगा लगाएर हिँड्न पाउनु, लिभिङ् टुगेदरमा बस्नु, वाइन खानु, ठूलो ठूलो स्वरमा बोल्नु, राति अबेर घर आउनु होइन र मैले समानतालाई यो कुरासँग जोड्न खोजेकी पनि होइन तर कमसेकम भोलि ऊ अबेर घर आँउदा वा खुला लुगा लगाएकै आधारमा चरित्रहिन र संस्कार नभएकी छोरी वा बुहारीको संज्ञा भिर्नु नपरोस् ।

कमसेकम मेरी छोरीको चरित्र र संस्कारलाई यी यस्ता झिना मसिना कुराले निर्धारण नगरियोस्। उसको चरित्र ऊ कति बजे घर फर्कन्छे, के लुगा लगाएर हिँड्छे जस्ता समाजले तोकिदिएका मापनको आधारमा नभई उसमा भएको मानवीय गुण, संस्कारको आधारमा गरियोस्। मैले यहाँ भन्न खोजेको मतलब मेरी छोरीले डिस्को जान पाउनुपर्छ, छोटा कपडा लगाउन पाउनुपर्छ भन्ने मात्र होइन तर यी दुबै काम गरेको आधारमा उसको चरित्रको मापन नगरियोस् भन्ने मात्र हो ।
चरित्र भनेको लगाउने लुगा वा घर फर्किने समयमा वा खाना बनाउन र लुगा धुन जान्दैमा हुँदैन, चरित्र त उसको व्यवहारमा हुन्छ, उसले आफूभन्दा कमजोरलाई गर्ने सहयोग, सम्मान र सद्भावको आधारमा निर्धारण हुन्छ र निर्धारण हुनुपर्छ ।

मैले मेरी छोरीलाई सिकाउने ज्ञान भनेको नै यही हो की ऊ असल, मानवीय गुणले भरपुर भएकी व्यक्ति बनोस्। ऊ असल की खराब भनेर दायरा तोकिदिने यो समाजको डरमा र दबाबमा पर्नु नपरोस् भन्नेमा म सधैँ सचेत भइराख्नेछु । मेरी छोरी खराब वा असल भनेर फैसला सुनाउने यो समाज न त न्यायलय हो, न त न्यायाधीश नै ।

महिला र पुरूषबीचको असमानताले देशको विकासमा बाधा पुर्याइरहेको छ । साथै राष्ट्र निर्माणमा पनि वाधा पुग्छ । यो महिलाको जन्मसिद्ध अधिकार हो जो समाजमा पुरुष सरह उनीहरुलाई महत्व दिनुपर्छ । विशेषतः महिलालाई पनि आफूमा सशक्तीकरण ल्याउनुभन्दा पहिले आफ्नो अधिकारका पनि ज्ञान हुन अनिवार्य छ । महिलाहरू केवल घर–परिवार तथा पारिवारिक झैं–झमेलाको जञ्जालमा मात्र नफसेर सामाजिक क्षेत्रमा पनि आफ्नो सकारात्मक भूमिका निभाउन सिक्नु पर्ने छ । किनकी सामाजिक कार्यले महिलालाई आफ्नो स्थानमा दरिलो बनाउन साथ दिन्छ ।