– पार्वती खानाल

काठमाडौं – पति वा पत्नीको मृत्युपछि अर्काे विवाह नगरी बस्ने महिला अथवा पुरूषलाई समाजमा विधवा र विधुर भन्ने चलन थियो । यो परिभाषालाई बदलेर हिजोआज एकल भन्ने गरिएको छ । विधवा र विधुरप्रति समाजमा हुने असामान्य व्यवहारका कारण उक्त परिभाषा परिवर्तन गरिएको हो । पहिले महिलाहरू पतिको मृत्युपछि एक्लै जीवन बिताउनुपर्ने बाध्यतामा थिए भने पत्नीको मृत्युपछि अर्को विवाह गर्नैपर्ने बाध्यता पुरुषलाई थियो । 

पत्नीको निधनपछि अर्को विवाह नगर्ने पुरुषलाई पूजा–आजा तथा चुल्होचौकामा सामेल गरिँदैनथ्यो । पत्नीको साथबिना गरिने कुनै पनि धार्मिक कार्यको प्रतिफल प्राप्त हुँदैन, पत्नीबिनाको तीर्थ-व्रत बेकार हो भन्ने कुरा धर्मग्रन्थमै उल्लेख गरिएका कारण पनि वृद्धावस्थामा अर्को विवाह गर्न बाध्य थिए एकल पुरुषहरू !

६० वर्ष उमेर नाघेका वृद्धले ८ वर्षकी किशोरी विवाह गर्ने अवस्थाका कारण नेपाली समाजमा विधवाहरूको संख्या ठूलो हुनु स्वाभाविक थियो । अहिले यो विकृति धेरै हदसम्म हटेको छ । समाजले हेर्ने दृष्टिकोणका कारण वृद्धावस्थामा विवाह गर्नुपर्ने बाध्यता पुरुषलाई छैन । महिलाले पनि पतिको निधनपछि आफूले चाहे अर्को विवाह गर्न सक्ने अवस्था छ । 

यद्यपि एकल महिलाले सामान्यतः दोस्रो विवाह गर्ने परिस्थिति रहँदैन । छोराछोरी हुर्काउनुपर्ने दायित्व एकातिर हुन्छ भने अर्कातिर सामाजिक तथा धार्मिक रुढिवाद अझै तगारोका रूपमा छ । एकल महिलासँग विवाह गर्ने पुरुषलाई दोस्रो दर्जाका रूपमा हेरिन्छ । पुरुषहरू यस्तो जोखिम लिन हत्तपत्त चाहँदैनन् । विवाह गर्न चाहेको अवस्थामा एकल महिलाले आफ्नो स्तर सुहाउँदो पुरुष फेला पार्न सजिलो छैन । 

शब्द र परिभाषा बदलिँदैमा पात्र र प्रवृत्ति बदलिने होइन । विधवा वा विधुरको सट्टा एकल महिला वा एकल पुरुष भनिए पनि समाजले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको छैन । समाजको चेतनाको स्तर वृद्धिसँगै भएका सकारात्मक परिवर्तनलाई तुलना गर्ने हो भने एकल महिलाको सामाजिक हैसियत हिजोको तुलनामा उल्लेख्य परिवर्तन आएको पाइन्छ । 

शब्द परिवर्तनभन्दा सामाजिक चेतनाको स्तर परिवर्तनलाई प्राथमिकता दिनुपर्दोरहेछ भन्ने कुरा पटक-पटक पुष्टि भएको छ । चेतनाको स्तर परिवर्तन नभएसम्म जतिसुकै अनुकूल शब्द छनोट गरिए पनि, विधवा महिलालाई राज्यका जतिसुकै उच्च तहमा पु¥याइए पनि तात्विक उपलब्धि हुन सक्दो रहेनछ । हिजो पतिको निधन हुनासाथ पत्नीलाई त्यही चितामा सुताएर जिउँदै डढाइन्थ्यो । सतीप्रथाको उन्मूलनपछि अहिले महिलालाई जिउँदै डढाइँदैन तर जिउँदै डढाइएको जस्तै मानसिक यातना उनीहरूले पलपल बेहोर्नु परिरहेको हुन्छ । यसको एउटा उदाहरण हाम्रै अगाडि छ । हिजोआज एकल महिलाको विषय आउनासाथ यो उदाहरण प्रस्तुत गर्न थालिएको छ । 

एकल महिलाहरुका लागि व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन सकेको छैन । एकल महिलाका सवाल राज्यको मुल प्रवाहमा समाहित भए पनि अझै धेरै गर्न बाँकी रहेको सम्बद्ध निकायमा काम गर्ने जानकारहरु बताउछन् । सामाजिक सुरक्षा भत्तामा भएको वृद्धि, उनीहरुको क्षमता र दक्षता अभिवृद्धि गर्न सरकारले देखाएको तत्परता सकारात्मक भएपनि नेतृत्व तह र निर्णायक भूमिकामा एकल महिलालाई पु¥याउन अझै बाँकी रहेको उनीहरुको भनाई छ ।

मानवअधिकारका लागि एकल महिला समूहकी संस्थापक लिली थापा एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा विस्तारै परिवर्तन आएपनि अझै पनि दूरदराजमा उनीहरुलाई हेय, करुणा र विचारको भावले हेर्ने प्रवृत्ति हावी रहेको बताउनुहुन्छ । मुलुकमा रहेका ६ लाखभन्दा बढी एकल महिलामध्ये १ लाख २५ हजार मात्रै एकल महिला समूहमा आवद्ध भएको भन्दै सञ्जाललाई अझै देशभर पु¥याउन आवश्यक रहेको उहाँको भनाई छ । एकल महिलाका बारेमा तथ्यांक संलन गर्ने नेपाल दक्षिण एशियाकै उदाहरणीय मुलुक भएपनि सशस्त्र द्वन्द्वका त्रममा सबैभन्दा प्रताडित महिला र त्यसमा पनि एकल महिलाले अझै न्याय पाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

राज्यले एकल महिलाको गरिबी, शिक्षा लगायतका विषयलाई प्रमुख प्राथमिकताका साथ सम्बोधन गरी उनीहरुलाई समाजमा हिंसा रहित र सम्मानित जीवन जिउनको लागि सशक्त गराउनुपर्ने आवश्यकता छ ।