– दीपा मेवाहाङ राई 

" मानौँ, भान्सा स्वास्नीमान्छेको ठेक्का हो, पाहुनापासालाई सत्कार गर्ने ठेक्का पनि महिलाकै भागमा परेको छ । श्रीमती, बुहारी, छोरी नै चिया बोकेर हाजिर हुनुपर्छ । लोग्नेमान्छेले चियाको ट्रे बोकेर बैठक कोठामा उभिएको बिरलै देखिन्छ । सोच्छु, के संस्कार, संस्कृति बचाइराख्ने ठेक्का महिलाको मात्र हो ? "

काठमाडौं – ‘हाम्रोमा भाँडा त केटी मान्छेले मात्रै माझछन् ।’ साजाङनिम (साहु)ले भने । उनी म काम गर्ने कम्पनीको मालिक हुन् । उनैको कम्पनीमा विगत चार वर्षदेखि काम गरिरहेकी छु । पछिल्लो समय कम्पनीले हामीलाई नयाँ घरमा सा¥यो । कोरियामा नयाँ घरमा सर्दा छिपदुरी (घरपैँचो) गर्ने चलन रहेछ । नयाँ घरमा सरेको दिनदेखि नै साहुले सोधिरहेका थिए, ‘छिपदुरी कहिले गर्छौ ?’ उनले दुई–तीनपटक नै सोधिसकेका थिए । खासमा छिपदुरी बहाना मात्र थियो । उनलाई त हामीले बनाउने नेपाली परिकार खाने लोभ रहेछ । उनी नेपाली खानाको स्वादमा पल्किएका रहेछन् । त्यसैले पटक–पटक छिपदुरीका लागि उत्सुक भाव व्यक्त गरिरहेका थिए । नत्र हामीजस्तो अर्काको देशमा काम गर्ने कामदारलाई के मतलब छिपदुरी गरौँ, नगरौँ ।

उनको दिनहुँको सोधाइलाई सम्बोधन गर्न रुममा बस्ने हामी सबैले सल्लाह ग¥यौँ । पाहुनाको लिस्ट तयार पा¥यौँ । साजाङनिम (साहु), खोङ्जाङजाङ्निम (कम्पनी प्रबन्धक), छाजाङ्निम (म्यानेजर), इमो (आन्टी) र अरू–अरू पनि । छिपदुरीका लागि शनिबार साँझ ७ बजेदेखि तयारीमा जुट्यौँरु। पोखराको नाम चलेको होटेलमा कुक बनिसकेको भाइले पकाउने जिम्मा लियोरु। हामीले निमन्त्रणा गरेकोमध्ये साजाङिनम र खोङ्जाङजाङ्निम मात्रै उपस्थित भएरु। खानपिन सुरु भयो । गफ–गाफ चल्यो । कोरियन रीतिरिवाज, खानाको परिकार र चाडबाडबारे चर्चा भयो । खानपिन सकियो । जुठो भाँडा उठायौँ । एकजना दाइ र म भएर माझ्न लाग्दा साजाङिनमले दोहो¥याए, ‘हाम्रोमा त भाँडा केटीले मात्र माझ्छन।’

हामी अवाक भयौँ । हामीले सुन्दै आएको कोरिया विकसित राष्ट्रहरूमा पर्छ । टेक्नोलोजीदेखि हरेक क्षेत्रमा फड्को मार्दै धनी राष्ट्रको सूचीमा सूचीकृत कोरियाको प्रतिनिधित्व गरिरहेको साजाङिनमले भनेका वाक्यले मेरो मस्तिष्कमा घन प्रहार ग¥यो। ‘तिमी आफूलाई विकसित देशको नागरिक भन्छौ। तिम्रो चेतना के यही हो ? ओठे जवाफ फर्काउन मन थियो । परिस्थितिले मनको भडास घाँटीमै अड्कायो । तर, मेरो चेतनालाई भने बारम्बार यही प्रश्नले हिर्काइरह्यो । हामीलाई उपलब्ध गराएको फ्ल्याटमा तीन दाजुभाइ र म गरी जम्मा चारजना बस्दै आइरहेका छौँरु। बिहानको खाना कम्पनीले नै उपलब्ध गराउने भएकाले भातभान्साको झन्झट हुँदैन । साँझ भने हामी मिलेर पकाउँछौँ । खान्छौँ र भाँडा सफा गर्छौँ । हामीले रुटिन बनाएका छौँ । त्यसैलाई पछ्याउँछौँ । बितेका चार वर्षमा कसैले पनि, ‘तिमी छोरीमान्छे हौ । पकाउने, भाँडा माझ्ने काम तिमीले गर्नुपर्छ’ भनेको सुनेकी छैन ।

जसरी कम्पनीमा गर्ने काममा वर्गीकरण छैन, त्यसरी नै भान्साको काममा वर्गीकरण छैन । तर, त्यसदिन साजाङिनमको सोच उजागर हुँदा उनीप्रति त्यसैत्यसै दया पलाएर आयो । जुन देशमा महिला स्वतन्त्र छ, कुनै भेदभाव छैन भनिएको छ, त्यही देशको नागरिकले सत्य ओकल्दा हात्तीको देखाउने र खाने दाँत फरक हुन्छ भन्ने कथन सम्झिएँ । महिलाप्रतिको दृष्टि त जहाँ पनि उस्तै त रहेछ भन्ने लाग्यो । महिलाप्रति हेय र तिरस्कारको भाव जति नै विकसित भनिएको देशमा पनि हुँदोरहेछ, मात्रा मात्रै घटीबढी रहेछ भन्ने लाग्यो । यो सन्दर्भले मलाई फेरि एकपटक विगततिर धकेलिदियो ।

एकजना साथी छिन् । उनी बिहानको घर–धन्दा सकेर काममा जान्छिन् । साँझ लोग्नेसँगै घर फर्किन्छिन् र सीधै भान्सामा पस्छिन् । उनको लोग्ने भने मोबाइलको स्क्रिन स्क्रोल गर्नतिर लाग्छन् । मन त महिला साथीलाई पनि लाग्छ, आराम गरुँन । आज एक दिन भए पनि लोग्नेले भान्सा सम्हालिदेओस । ज्यान त उसको पनि मांसपिण्ड र हाडले नै बनेको हो । तर, लोग्नेले पाएको प्रिभिलेजसँग उनको केही लाग्दैन । जति नै कामना गरे पनि भान्सामा लोग्ने ढिम्किैनन् । मानौँ, भान्सा स्वास्नीमान्छेको ठेक्का हो, पाहुनापान्छीलाई सत्कार गर्ने ठेक्का पनि महिलाकै भागमा परेको छ । श्रीमती, बुहारी, छोरी नै चिया बोकेर हाजिर हुनुपर्छ । 

लोग्नेमान्छेले चियाको ट्रे बोकेर बैठक कोठामा उभिएको विरलै देखिन्छन् । सोच्छु, के संस्कार, संस्कृति बचाइराख्ने ठेक्का महिलाको मात्र हो ? सुन्दा सामान्य लागे पनि विभेदको यस्तो शृंखलाले महिलालाई सधैँ ‘तँ केही गर्न सक्दिनन् । तँ पुरुषको सेवाका लागि मात्र जन्मिएकी होस । तँ दास होस’ भन्ने भाष्य निर्माण गरिरहेको हुन्छ । केही वर्षअघि एकजना साथीले कुराकानीकै क्रममा भने, ‘केटीहरूलाई त के छ र ! बिहे गरेर अरूको घरमा गइहाल्छौ । बिहेपछि सब कुरा बुढाले पु¥र्याइदिन्छ । न कमाउने टेन्सन, न अभाव होला भन्ने टेन्सन ।’ भन्न त साथीले जिस्काउने भावमा भनेको होला । तर, त्यो चेतनामा पित्तृसत्ताको गन्ध आइरहेको थियो । 
त्यो भनाइ मेरो मस्तिष्क र हृदयमा तीरजसरी प्रहार भएको थियो । कुन शब्द कोषमा लेखिएको छ महिलाले अरूकै भरमा बाँच्नुपर्ने भनेर ? के महिला आफँैमा सक्षम हुन सक्दैनन् ? आत्मनिर्भर हुन सक्दैनन् ? बिहेपछि पुरुषको रोबोट बनेर जीवन व्यतित गर्न महिला अभिशप्त छ ? आजसम्मको यात्रामा विश्वविद्यालयबाट प्राप्त शैक्षिक डिग्री बोकेर आफूलाई सभ्य र शिक्षित हुँ भन्ने अहं बोकेर हिँड्ने धेरै पुरुष देखेँ, जो घुमाउरो पाराले लैंगिक विभेद गर्छन् । सैद्धान्तिक ज्ञान लिने तर व्यवहारमा लागू नगर्ने यस्ता शिक्षित भनाउँदाहरू झन् बढ्ता ढोंगी हुन्छन् । बरु शिक्षाको उज्यालोबाट वञ्चित भएर पनि कतिपय अवस्थामा सामुदायिक र पारिवारिक वातावरणले महिलालाई विभेदको पाठ पढाउँदैनन् । मसँग यस्तै अनुभव छ ।

म हुर्किएको गाउँमा भेला, सभा, बिहे, मलामी जाँदा महिला–पुरुष भन्ने विभेद छैन । सबै सराबरी सहभागी हुन्छन् । सुँगुरको मासु काटेर बेच्न होस् वा नहर बनाउने काममा होस् महिला–पुरुष बराबर उपस्थित हुन्छन् । मलाई अझै याद छ, हाम्रो घरको छाना चैते हुरीले प्रायः उडाइर हन्थ्यो । उडाएको जस्तापाता बोकेर ल्याउनेदेखि धुरी कस्नेसम्म आमाले नै गर्नुहुन्थ्यो। कसैले पनि आइमाई भएर धुरी चढ्नुहुन्न भनेको सुनिनँ । म बाँचेको समाजमा महिला-पुरुषको कामको वर्गीकरण थिएन । त्यस्तो संस्कारमा हुर्किएकीले होला मलाई साजाङिनमले भनेका वाक्यले चिढ्याएको थियो । गाउँमा आमा भनिरहनु हुन्थ्यो, ‘काम भनेको छोराछोरी जसले गरे पनि हुन्छन् । तर, काम सधैँ असल हुनुपर्छ ।’