- रंजिला दाहाल
काठमाडौं – विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ । यँहाको सामाजिक,आर्थिक, शैक्षिक, राजनितिक, प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी (५१.५०%) हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन् । परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह, छोराको महत्त्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्थर विकास हुन सकेको छैन । लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरआदिमा कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ । महिला हक, अधिकार र शसक्तिकरणका लागि विभिन्न गैर सरकारी सङ्घ संस्था तथा सरकारी निकाय सम्मले कामहरू ससक्त रूपबाट गरिरहेकै छन् । नेपालको संविधानमा समेत महिला सम्बन्धि हक समेत सुनिश्चित गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पनि नारीलाई पुरूष सरह हरेक क्षेत्रमा समानता हुनु पर्छ भन्ने उदेश्यका साथ विभिन्न नारी सम्मेलन गरी सोहि घोसणा पत्रको बुदा लाई आधार बनाइ कामहरू भइरहेको अवस्था पनि छ ।
वैदिक काल
नेपाली समाज हिन्दू धर्म वा आर्य संस्कृतिमा आधारित समाज हो । यो समाजमा परिवारको मूली धेरैजसो पुरुषहरू मात्रै हुने गर्दछन् । हिन्दू धर्मको प्रमुख आधिकारिक ग्रन्थ वेदमा महिलाहरूलाई भेदभाव हुने किसिमको कुनै कुरा उल्लेख गरिएको पाइँदैन । वैदिक कालमा महिलाहरूलाइ पनि पुरुषसरह समान अधिकार प्राप्त थियो । उतिबेलाको समाजमा वेदविज्ञ महिलाहरूलाइ ब्रह्मवादिनी भनिन्थ्यो । गार्गी, मैत्रेयी, अश्वपाला आदी वैदिक कालकी प्रसिद्घ ब्रह्मवादिनीहरू थिइन् । वेदमा उल्लेख गरिए अनुसार “यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर शास्त्रहरूले पनि नारीको महिमा गाएका छन् तर मध्ययुगमा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको सुरुवात भयो, त्यसैगरी नारीप्रति पनि विभेद गरिन थालियो । धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरू प्रति भेदभाव गरिएको यसै मध्ययुग देखि चलि आएको पाइन्छ ।
विभेद मूलक कार्यहरू
महिलाहरू शारीरिक र शक्तिका दृष्टिले पुरुषभन्दा कमजोर हुने हुनाले पनि यो पुरुष प्रधान समाजले उनीहरूलाई घर–धन्दाको साथै बाहिरी कामको समेत जिम्मेवारी थपेको हुन सक्छ । नेपालमा महिलाहरू प्रति विगत सयकडौं वर्ष देखि गरिदै आएका विभेद मूलक कार्यहरु यसप्रकार छन् :-
१. महिलाले पतिको मृत्यु पछि सती जानु पर्ने, तर पुरुषले जानु नपर्ने ।
२. पुरुषले अर्की श्रीमती ल्याउँन पाउने, तर महिलाले अर्को पुरुषसँग लाग्न नपाउने ।
३. महिलालाइ सन्तान पैदा गर्ने साधनको रूपमा मात्रै लिने ।
४. अचल सम्पत्ति, जायजाद आदी पुरुषको नाममा मात्रै दर्ता हुने तर महिलाको नाममा नहुने ।
५. महिनावारी हुँदा अलग्गै वा छाउपडी गोठमा बस्नु पर्ने वाध्यता ।
६. महिलाहरूले बाल–बच्चाहरूको स्याहार–सुसार गर्ने, बच्चा हुर्काउने, खाना बनाउने ,बाल–बच्चाहरुलाइ खाना खुवाउने , भाडा माझ्ने, वस्तुभाउ हेर्ने, खेती–बाली गोडमेल गर्ने, बिउ रोप्ने, बुढा–बुढीलाई स्याहार सुसार गर्ने समेत गर्दछन् । यस्ता कामहरूमा पुरुषहरूको उपस्थिति भए पनि सहभागिता भने प्राःय हुँदैन । यस्ता विभेदले गर्दा महिलाहरू लाइ कहिल्यै फुर्सत नहुने तर पुरुषहरु लाई भने फुर्सतै–फुर्सत हुने ।
७. धेरै जसो परिवारहरूमा, अहिले पनि महिलाहरू परिवारका सम्पूर्ण पुरुष सदस्यहरूले खाना खाइसके पछि मात्र खाना खान्छन् । यो पनि महिला प्रति गरिने विभेद मूलक कार्य हो ।
८. सुदूर पश्चिमका दुर्गम जिल्लाका नव विवाहित बुहारीहरु अँझै पनि मध्य युगीन दाश प्रथाको जस्तै परिवेशमा जीवन यापन गरिरहेकी छिन् ।
९. शिक्षामा पनि विभेद जस्तै ः छोरालाइ स्कूलमा पठाउँने तर छोरीलाइ घरको काममा लगाउने, त्यसैगरी तराइ तिर छोरा लाइ निजी स्कूलमा र छोरीलाइ सरकारी स्कूलमा पढाउने ।
१०. विभिन्न कलकारखाना र उद्योगहरूमा पनि महिलाहरूलाई निम्न स्तरको पारश्रमिक दिने र मामुली काममा लगाउने आदी गरिनु ।
११. छोरीको विवाह गर्दा केटा पक्षले मागे जतिको दाइजो दिनै पर्ने वाध्यता, दिन नसके ज्यानै गुमाउनु पर्ने सम्मको अवस्थाको सृजना हुने । नेपालमा यो मामिलामा अँझैं पनि विशेष गरेर तराइका जिल्लाहरूमा महिलाहरूले ज्यान गुमाउने क्रम रोकिएको छैन ।
१२. महिला हिंशाको चरम नमुनाको रूपमा रहेको अर्को उदाहरणहो मध्य तथा सुदुर पश्चिमका महिलाहरूको छाउपडि प्रथा । यहाँका महिलाहरूलाइ रजस्वलाका भएका बेला छुट्टै गोठमा राखिन्छ । साथसाथै घरमा प्रयोग गर्दै आइरहेका रजाइ गद्दा, कम्बल, तकिया इत्यादी प्रयोग गर्न दिइदैन । त्यती बेलाका लागि भनेर अलग्गै ओड्ने–ओछ्याउने बनाइएका हुन्छन् । जुन अत्यन्तै घटिया किसिमका हुन्छन् । यसले गर्दा चीसोको मौसममा अत्यधिक ठंडि हुने हुनाले कैयौँ महिलाहरूको स्वास्थ्य बिग्रनुका साथै मृत्युसमेत भएको छ । यो प्रथा विशेष गरेर आछाम जिल्लामा छ । यस्ता छाउपडि गोठमा बसेका बेला महिलाहरू बिमारी परेकी छिन्, मरेकी छिन्, तथा बलत्कृत भएकी छिन् ।
आर्थिक अवस्था
आत्मनिर्भर बनाउने तथा निर्णय प्रक्रियामा सशक्त बनाउन महत्बपुर्ण भुमिका खेल्ने शक्ति हो, आर्थिक शक्ति। नेपालमा महिलाको आर्थिक आवस्था त्यति राम्रो देखिदैन।
शैक्षिक अवस्था
आफुलाई आत्मनिर्भर,आत्मविश्वास दिलाउन वा समग्र देश विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्दछ। भनिन्छ एक महिला शिक्षित भए सवै परिवार नै शिक्षित हुन्छन। केहि दशक यता समग्र रूपमा साक्षरताको दर उल्लेख्य रूपमा बृद्धि भएको भएतापनि हाम्रो देशमा निकै थोरै मात्र शिक्षित छन्। सन् २००१को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ४२.८ प्रतिशत देखाएको थियो त्यसको एक दशक पछि सन् २०११को जनगणनाले महिला जनसङ्ख्या साक्षरता दर ६५.९ प्रतिशत देखाएको छ। यसलाई पुरूष जनसंख्यसँग तुलना गर्ने हो भने झण्डै ११ प्रतिशतको अन्तर देखिन्छ। जनगणना २०११ले पुरूष जनसङ्ख्याको साक्षरता प्रतिशत ७१.१ प्रतिशत देखाएको छ ।
स्वास्थ्य अवस्था
स्वास्थ्य सेवा मनिसको आधारभुत आवश्यता हो। बिगतको तुलनामा महिलाको स्वस्थ्य स्थति सुधरान्मुख छ भन्ने तथ्याङ्कले देखाएको छ । एन डी एच एस सर्वे २००६ले मात्तृमृत्युदर प्रति लाखमा २८१ देखाएको छ । यस मात्तृमृत्युदर प्रति लाखमा ५३९ रहेको थियो ।
वर्तमान अवस्था
सती प्रथाको उन्मूलन भएसंगै नेपालमा महिलाहरूको अधिकार र स्वतन्त्रताको लागि पर्याप्त काम भएको पाइन्छ । जसको फलस्वरुप वर्तमानमा भएको परिवर्तन प्रत्यक्ष देख्न सकिन्छ । हाल आएर उल्लेख्य संख्यामा नेपाली महिलाहरू शिक्षित भएकी छिन् । यहाँका महिलाहरू शिक्षा ,सेना, प्रहरी, निजामतीमा मात्रै नभएर वैदेशिक रोजगारीमा समेत आफ्नो योगदान दिइरहेकी छिन् । विगतको दाशताको घोर युगबाट समय सापेक्ष परिवर्तन भइ एक्कीसौं शताब्दी महिलाहरूको सर्वाङ्गीण विकासको लागि सुनौलो मौकाको रूपमा फलिफाप हुने निश्चित छ । अझै पनि महिलाहरूको अधिकारको लागि पर्याप्त कार्य गर्नु बाँकी छ । जो कार्य गरिएका छन् । ती प्रशंसा योग्य छन् । नेपाल अधिराज्यको नव निर्मित संविधान २०७२ को भाग ३ को धारा ३८ मा ‘महिलाहरूको मौलिक हक कर्तव्य’ का कुराहरु यस प्रकार उल्लेख गरिएका छन् ।
१. प्रत्येक महिलालाइ लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ ।
२. प्रत्येक महिलालाइ सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी हक हुनेछ ।
३. महिला विरुद्घ धार्मिक सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा जन्यकार्य वा शोषण गरिने छैन, यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडित लाइ कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
४. राज्यका सवै निकायमा महिलालाइ समानुपातिक समावेशी सिद्घान्तको आधारमा सहभागी हुने हक हुने छ । महिलालाइ शिक्षा, ५. स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा अवसर प्राप्त गर्ने हक हुनेछ ।
६. सम्पित्त तथा पारिवारिक मामिलामा दम्पत्तीको समान हक हुने छ ।


0 comment