काठमाडौं - चीनले अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लासहित ९ कम्पनीका ४२ लाख ७५ हजार ७ सय ४३ वटा गाडी फिर्ता पठाउने भएको छ। चीनको राष्ट्रिय बजार नियमन प्रशासनले २१ अगस्ट २०२६ मा सार्वजनिक गरेको निर्णयअनुसार यीमध्ये टेस्लाकै गाडी सबैभन्दा धेरै २९ लाख ७५ हजार ९ सय १० रहेका छन्। फिर्ता प्रक्रिया २५ सेप्टेम्बरदेखि सुरु भइसकेको छ। 

टेस्लाबाहेक सियाओमीका ३ लाख ९० हजार ४ सय ३५, लिपमोटरका ३ लाख ७१ हजार २ सय, सियाओपेङका २ लाख ६४ हजार ८ सय ४२, जिकरका ९२ हजार ६ सय ५८, चेरीका ६८ हजार ४ सय ८८, डोङफेङका ५३ हजार ४ सय ५२ रहेका छन्। बेइजिङ अटोमोटिभ (बीएआईसी) समूहअन्तर्गतको ब्लुपार्कका ४६ हजार ८ सय ५० र चीनको पहिलो अटो मोबाइल समूह (एफएडब्ल्यू) का ११ हजार ९ सय ८ गाडी पनि फिर्ता हुँदैछन्। रोयटर्सका अनुसार यो चीनकै अहिलेसम्मको सबैभन्दा ठूलो गाडी फिर्ता अभियान हो।

फिर्ताको कारण गाडीको आपत्कालीन ढोका खोल्ने प्रणालीमा देखिएको समस्या हो। दुर्घटनामा विद्युत्् आपूर्ति बन्द भएमा विद्युतीय ह्यान्डलले काम नगर्न सक्छ, र त्यस्तो बेला चलाउनु पर्ने यान्त्रिक ह्यान्डल धेरै गाडीमा सजिलै भेट्टाउन सकिने अवस्थामा नरहेको चिनियाँ नियामकको निष्कर्ष छ। फिर्ता अभियानअन्तर्गत गाडीमा चेतावनी चिह्न थपिनेछ र आवश्यक सफ्टवेयर अध्यावधिक गरिनेछ। 

चीनको यो फिर्ता अभियान अचानक आएको भने होइन। चीनले यसअघि नै, २८ जनवरी २०२६ मा, ‘जीबी ४८००१–२०२६ ः मोटरगाडीको ढोका ह्यान्डलसम्बन्धी सुरक्षा प्राविधिक आवश्यकता’ नामक अनिवार्य राष्ट्रिय मापदण्ड जारी गरिसकेको थियो। राष्ट्रिय बजार नियमन प्रशासन र राष्ट्रिय मानकीकरण प्रशासनले संयुक्त रूपमा स्वीकृत गरेको यो मापदण्ड १ जनवरी २०२७ देखि लागू हुँदैछ।

नयाँ मापदण्डअनुसार दुर्घटना वा विद्युत् प्रणाली बन्द हुँदा पनि गाडीको ढोका खोल्न सकिने व्यवस्था अनिवार्य हुनेछ। ह्यान्डल सजिलै भेट्टाउन सकिने र आपत्कालीन अवस्थामा यात्रु तथा उद्धारकर्ताले प्रयोग गर्न सक्ने हुनुपर्ने प्रावधान पनि यसमा राखिएको छ।

रोयटर्स्ले ३ फेब्रुअरीमै चीनले २०२७ देखि बाहिरबाट लुकाइएका विद्युतीय ढोका ह्यान्डल हटाउने निर्णय गरेको समाचार सार्वजनिक गरेको थियो। टेस्लाले लोकप्रिय बनाएको यस्तो डिजाइन पछि चिनियाँ विद्युतीय गाडी उत्पादकहरूले पनि व्यापक रूपमा अपनाएका थिए।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले भने चीनको यो निर्णयलाई टेस्लामाथिको एकल कारबाहीभन्दा टेस्लासँगै सियाओमी, लिपमोटर, जिकर र सियाओपेङलगायत चिनियाँ कम्पनी पनि उही नियमको दायरामा परेको उल्लेख छ। चीनले आफ्नै उद्योगलाई समेत यही नियममा बाँधेको तथ्यले भने यो निर्णय टेस्ला लक्षित नभएको भन्न सकिन्छ।

तर यसको अर्थ टेस्लाभन्दा निकै ठूलो छ। चीन विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडी बजार हो र यस्तो विशाल बजारमा लागू हुने अनिवार्य सुरक्षा मापदण्डले त्यहाँ कारोबार गर्ने विदेशी कम्पनीलाई समेत आफ्नो डिजाइन बदल्न बाध्य पार्छ। चीनको बजारका लागि बनेको एउटा नियमले उत्पादकको विश्वव्यापी उत्पादन प्रक्रियामा समेत असर पार्न सक्छ।

चीनले प्रश्न उठाएको यही ढोका प्रणालीमाथि अमेरिकाले पनि चासो देखाइसकेको छ। अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले टेस्लाका गाडीमा विद्युत् आपूर्ति बन्द हुँदा ढोका खोल्न कठिन हुने गुनासोमाथि छानबिन गरिरहेको जनाएको छ। रोयटर्स्का अनुसार अमेरिकी नियामक यस्ता ढोका प्रणालीका लागि थप सुरक्षा मापदण्ड आवश्यक पर्ने वा नपर्ने विषयमा पनि काम गरिरहेको छ।

यसअघि ब्लुमवर्गले टेस्लाका ढोका दुर्घटना पछि नखुलेका घटनाहरूबारे आफ्नै अनुसन्धान गरेको थियो, जसमा कम्तीमा १५ जना यात्रुको मृत्युको कारण यस्तै ढोका प्रणालीसँग जोडिएको दाबी गरिएको थियो।

चीनले उठाएको सुरक्षा प्रश्नलाई अमेरिकी नियामकको छानबिनले पनि उही प्रविधिमा सुरक्षा चुनौती रहेको देखाएको छ। तर यही घटनाले अमेरिका–चीनबीचको अर्को प्रतिस्पर्धालाई पनि सतहमा ल्याइदिएको छ।आजको विद्युतीय गाडी केवल गाडीमात्र होइन, यसमा ब्याट्री, सफ्टवेयर, सेन्सर, कृत्रिम बुद्धिमत्ता, सञ्चार प्रणाली र प्रयोगकर्ताको तथ्यांकसमेत जोडिएका हुन्छन्। त्यसैले विद्युतीय गाडीको बजार अब व्यापारसँगै प्रविधि र राष्ट्रिय सुरक्षाको विषय पनि बन्दै गएको छ।

टेस्लाका लागि चीनको महत्व अझ ठूलो छ। चीन ठूलो बजारमात्र होइन, टेस्लाको प्रमुख उत्पादन केन्द्र पनि हो। त्यसैले चीनमा बनेको एउटा अनिवार्य मापदण्डले टेस्लाको चीनस्थित उत्पादनदेखि विश्व बजारमा पठाइने गाडीको डिजाइनसम्म असर पार्न सक्छ।

यहीँबाट यस घटनाको आर्थिक–कूटनीतिक पाटो सुरु हुन्छ। टेकक्रन्चले २१ अगस्टको समाचारमा टेस्लाको फिर्ता अभियानलाई एउटा कम्पनीको समस्याका रूपमा नभई चीनभरि लागू हुने ‘चीनव्यापी अभियान’का रूपमा प्रस्तुत गरेको छ। रोयटर्सले पनि विद्युतीय गाडी उद्योगमाथि चीनले नियमन क्रमशः कडा बनाउँदै गएको सन्दर्भमा यो निर्णय आएको बताइएको छ।

यसको अर्थ, चीनले आफ्नो विशाल बजारलाई केवल गाडी बेच्ने ठाउँका रूपमा मात्र नभई उत्पादन र सुरक्षा मापदण्ड निर्धारण गर्ने प्रभावको आधारका रूपमा समेत प्रयोग गर्न सक्ने सम्भावना बढेको छ।

चीनले विश्वका सबै देशमा यही नियम लागू गराउन खोजेको भन्दा पनि आफ्नो बजारका लागि अनिवार्य बनाएको मापदण्डका रुपमा बुझ्नु उपयुक्त हुने जानकारहरू बताउँछन्। यसको तयारीमा स्वदेशी तथा विदेशी दुवै किसिमका गाडी उत्पादकको सहभागिता थियो। मापदण्ड तयार पार्ने प्रक्रियामा टेस्लासहित फोर्ड, टोयोटा, फोक्स वागन, मर्सिडिज–बेन्ज र बीएमडब्ल्यूजस्ता विदेशी कम्पनी पनि सामेल रहेको बताइएको छ। 

४२ लाखभन्दा बढी गाडी फिर्ता गर्ने यो निर्णयको तत्कालीन उद्देश्य यात्रुको सुरक्षा सुनिश्चित गर्नु हो। तर दीर्घकालमा यसले गाडीको डिजाइन, उत्पादन लागत, आपूर्ति प्रणाली र कम्पनीहरूको विश्वव्यापी उत्पादन रणनीतिसम्म असर पार्न सक्छ। त्यसैले टेस्लाका करिब ३० लाख गाडी फिर्ता हुनु केवल एउटा कम्पनीको समस्या मात्र होइन।

चीनले अहिले गाडीको एउटा ढोकामा रहने ह्यान्डल परिवर्तन गर्न लगाएको छ। तर त्यससँगै विद्युतीय गाडीको विश्व बजारमा भोलि गाडी कस्ता बनाउनेभन्दा नियम कस्ले बनाउने भन्ने प्रश्न पनि सँगसँगै खडा भएको छ। विद्युतीय गाडीको आगामी विश्व बजारमा सुरक्षा मापदण्ड पनि व्यापारिक शक्तिको नयाँ हतियार बन्न सक्ने संकेत यो घटनाले दिएको छ।
 (एजेन्सीको सहयोगमा)