रुसको राजधानी मस्कोस्थित एक इटालियन रेस्टुरेन्टबाहिर  शनिबार साँझ भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

काठमाडौं - रुसी सरकारी सञ्चारमाध्यमले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उक्त विष्फोट घरेलु (होममेड) विष्फोटक पदार्थका कारण भएको हो । यो घटना स्थानीय समयअनुसार शनिबार राति करिब ८ बजे सहरको मध्यभागमा रहेको कुड्रिन्स्काया स्क्वायर नजिकै भएको थियो ।

‘नेशनल एन्टी-टेररिस्ट कमिटी’का अनुसार एक महिला विष्फोटक पदार्थ बोकेर रेस्टुरेन्टभित्र छिर्ने प्रयास गरिरहेकी थिइन् । तर, त्यहाँ तैनाथ सुरक्षा गार्डले उनलाई रोकेका थिए । सोही क्रममा विष्फोट हुँदा ती महिला, सुरक्षा गार्ड र रेस्टुरेन्टमा उपस्थित अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको समयमा रेस्टुरेन्टमा एक निजी कार्यक्रम भइरहेको थियो । अधिकारीहरूले हालसम्म उक्त कार्यक्रममा सहभागी व्यक्तिहरूको सूची सार्वजनिक गरेका छैनन् भने आक्रमणको मुख्य निशानामा को थिए भन्नेबारे पनि केही खुलाएका छैनन् ।

प्रत्यक्षदर्शीका अनुसार विष्फोटलगत्तै धेरै मानिसलाई रक्ताम्मे अवस्थामा रेस्टुरेन्टबाट बाहिर निकालिएको थियो । पछिल्ला वर्षहरूमा मस्को र यसको आसपासका क्षेत्रमा धेरै वरिष्ठ रुसी सैन्य अधिकारीहरूको हत्याका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । रुसले यस्ता आक्रमणहरूका लागि युक्रेनमाथि आरोप लगाउँदै आएको छ ।