काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै हुने सबै मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिएका छन्।
राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धका सम्बन्धमा घोषणा गरेको नयाँ नीति २४ घण्टा नबित्दै परिवर्तन गरेका छन्। इरानको प्रभाव कमजोर पार्ने प्रयास बीच उनले उक्त निर्णयलाई परिवर्तन गरेका हुन्। विश्लेषकहरूले भने यसलाई जटिल परिस्थितिबाट असामान्य उपायमार्फत बाहिरिने उनको प्रयासका रूपमा हेरेका छन्।
ट्रम्पले २० प्रतिशत शुल्कको सट्टा खाडी क्षेत्रका मुलुकहरूसँग “विशाल” व्यापार र लगानी सम्झौताहरू गरिने बताएका छन्। उनले यो घोषणा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः सुरु गर्नु भन्दा केही घण्टाअघि गरेका हुन्।
अमेरिका र इरानबीच पुनः सैन्य आक्रमण सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। साथै हर्मुज जलमार्गबाट हुने तेल ट्यांकरहरूको आवागमन लगभग ठप्प भएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले मंगलबार राति विज्ञप्ति जारी गर्दै इरानले व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्ने सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले थप हवाई आक्रमण सुरु गरिएको जनाएको छ। हर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक मानिन्छ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानी जहाजमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी पुनः सुरु गरिएको घोषणा गर्दै हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै मालवाहक जहाज अमेरिकाका सहयोगी राष्ट्रका जहाजसमेतबाट २० प्रतिशत शुल्क उठाइने बताएका थिए। उनका अनुसार उक्त शुल्क विश्वकै संवेदनशील समुद्री मार्गमा सुरक्षा प्रदान गर्न अमेरिकाले व्यहोरेको खर्चको क्षतिपूर्तिका लागि लिइने थियो।
तर त्यसको भोलिपल्ट उनले यो प्रस्ताव पूर्ण रूपमा फिर्ता लिए। यसको सट्टा अमेरिकाले खाडी क्षेत्रका आफ्ना साझेदार राष्ट्रहरूसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने र त्यसको बदलामा हर्मुज जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने संकेत दिए।
ट्रम्पको यो आकस्मिक निर्णय परिवर्तन इरान–अमेरिका द्वन्द्वको पछिल्लो मोड हो। चार महिनाभन्दा बढी समयदेखि जारी यो तनाव एक महिनाअघि भएको समझदारीपत्र (एमओयू) मार्फत अस्थायी युद्धविराम र वार्ताको ढाँचा तय गरिए पनि अन्त्य हुने कुनै संकेत देखिएको छैन।
विश्लेषकहरूका अनुसार ट्रम्प युद्धलाई थप चर्काउन अनिच्छुक देखिन्छन्। युद्धप्रति अमेरिकी जनमत सकारात्मक नरहनु, ऊर्जा मूल्य थप बढ्ने जोखिम हुनु तथा इरानबाट अमेरिकी सेना र सहयोगी राष्ट्रहरू फेरि आक्रमणको निशानामा पर्न सक्ने सम्भावनाले उनलाई दबाबमा पारेको छ। अर्कोतर्फ, सन् २०१५ मा तत्कालीन राष्ट्रपति बराक ओबामाको प्रशासनले गरेको परमाणु सम्झौताभन्दा राम्रो सम्झौता नगरी युद्ध अन्त्य गर्नु पनि ट्रम्पका लागि सहज विकल्प नहुन सक्छ।
डिफेन्स प्रायोरिटिज अन्तर्गत मध्यपूर्व कार्यक्रमकी निर्देशक रोजमेरी केलानिडले यो द्वन्द्व चाँडै अन्त्य हुने सम्भावना कम रहेको बताइन्।
उनले भनिन् “सबैभन्दा सम्भावित परिणाम भनेको कुनै स्पष्ट अन्त्य नहुनु हो। यो अब क्षयकारी युद्धमा परिणत भएको छ र यस्ता युद्धहरू प्रायः लामो समयसम्म चलिरहन्छन्।”


0 comment