काठमाडौं - क्यानडाको टोरन्टोमा शनिबार साँझ आयोजित ‘साल्सा अन सेन्ट क्लेयर’ सडक महोत्सव नजिक भएको गोलीकाण्डमा दुई पुरुषको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
टोरन्टो प्रहरीका उपप्रमुख फ्र्याङ्क बरेडोका अनुसार प्रारम्भमा सक्रिय बन्दुकधारी (एक्टिभ सुटर) रहेको आशंका गरिए पनि अनुसन्धानपछि दुई व्यक्तिबीच एकअर्कालाई लक्षित गर्दै गोली हानाहान भएको पुष्टि भएको छ । प्रहरीका अनुसार राति ८ः१२ बजे सेन्ट क्लेयर एभिन्यू वेस्ट र आर्लिङ्टन एभिन्यू क्षेत्रबाट गोली चलेको सूचना प्राप्त भएको थियो । घटनास्थलबाट दुई वटा बन्दुक बरामद गरिएको छ ।
अहिलेसम्म कुनै पनि संदिग्ध पक्राउ परेका छैनन् । मृतक दुवै पुरुष रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । पछि घटनास्थल सुरक्षित रहेको घोषणा गरियो । उपप्रमुख बरेडोले भने, ‘सक्रिय बन्दुकधारी रहेको चिन्ता थियो, तर त्यो सत्य साबित भएन । तर गोली चलाउने दुई व्यक्तिले अन्धाधुन्ध रूपमा धेरै मानिसको ज्यान जोखिममा पारे ।’
टोरन्टोकी मेयर ओलिभिया चाउले परिवारसहित सहभागी भएका मानिसहरूको बीचमा भएको यस्तो हिंसात्मक घटनाप्रति आफू अत्यन्त दुःखी र आक्रोशित भएको बताइन् । प्रत्यक्षदर्शी भ्यालेरी रोड्रिगेजले आफू नजिकैको रेस्टुरेन्ट बाहिर बसिरहेको बेला अचानक मानिसहरू चिच्याउँदै भाग्न थालेको र केहीले भुइँमा सुत्न आग्रह गरेको बताइन् ।
महोत्सवमा व्यापार गरिरहेकी प्याट्सी गुटिएरेजले पनि ग्राहकलाई सेवा दिइरहेका बेला ठूलो भीड भाग्दै आएको देखेपछि सेवा रोक्नु परेको बताइन् । उनले यस्ता पारिवारिक कार्यक्रममा यस्तो घटना हुनु दुःखद भएको प्रतिक्रिया दिइन् । घटनापछि पनि महोत्सव क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । यो महोत्सव ल्याटिन अमेरिकी संस्कृति, संगीत, नृत्य, खानपान र सांस्कृतिक प्रस्तुतिको वार्षिक उत्सव हो, जहाँ हरेक वर्ष हजारौँ मानिस सहभागी हुने गर्छन् ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति आफू स्तब्ध भएको भन्दै दोषीलाई पक्राउ गर्न प्रहरीले गरिरहेको प्रयासमा पूर्ण समर्थन रहेको बताए । उनले मृतकका परिवार, गम्भीर घाइते तथा घटनाबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गरे । त्यस्तै, ओन्टारियोका प्रिमियर डग फोर्डले पनि यो निरर्थक हिंसाबाट दुई जनाले ज्यान गुमाएको र अन्य घाइते भएको घटनाले आफू अत्यन्त मर्माहत भएको बताए ।
करिब ३० लाख जनसंख्या भएको टोरन्टो उत्तर अमेरिकाका सबैभन्दा सुरक्षित ठूला सहरमध्ये एक मानिन्छ । सार्वजनिक स्थानमा धेरै व्यक्तिलाई असर पर्ने गरी हुने घातक गोलीकाण्ड त्यहाँ निकै दुर्लभ मानिन्छ ।


0 comment