काठमाडौं - इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग ‘स्ट्रेट अफ होर्मुज’ अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेपछि अमेरिका–इरानबीचको तनाव थप चुलिएको छ।

अमेरिकाले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानी आक्रमण भएको आरोप लगाउँदै यस साताको तेस्रो चरणको हवाई कारबाही सञ्चालन गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणबाट जहाजमा गम्भीर क्षति पुगेको छ र एक चालकदल सदस्य बेपत्ता छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले भने चेतावनी अटेर गरेपछि जहाजमाथि कारबाही गरिएको दाबी गर्दै अमेरिकी हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ।

यसअघि तेल ट्यांकरमाथिका आक्रमण र त्यसपछिको अमेरिकी सैन्य कारबाहीमा १७ जनाको मृत्यु भएको इरानको दाबी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरे पनि कूटनीतिक प्रयास जारी रहने बताएका छन्।

तनावकै बीच नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले पहिलो सार्वजनिक सम्बोधन गर्दै अमेरिका र इजरायलविरुद्ध बदला लिने चेतावनी दिएका छन्। यता, ट्रम्पले आफूविरुद्ध कुनै पनि आक्रमणको प्रयास भए इरानलाई ‘पूर्ण विनाशकारी’ जवाफ दिइने चेतावनी दिएका छन्।

यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूले इजरायलले ट्रम्पको हत्या गर्ने इरानी योजनाबारे गुप्त सूचना वासिङ्टनलाई दिएको दाबी गरेका छन्। यद्यपि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।