काठमाडौं - भारतको काङपोकपी जिल्लामा संदिग्ध उग्रवादीहरूले एक ५३ वर्षीय आदिवासी किसानको गोली हानी हत्या गरेका छन् । यो हमला शनिबार दिउँसो भएको हो । किसान आफ्नी श्रीमतीसँग धान खेतमा काम गरिरहेका बेला उनलाई निशाना बनाइएको थियो । काङपोकपी प्रहरीले मृतकको पहिचान गोवाजाङ गाउँका हाओलाल सिङसिटका रूपमा गरेको छ ।
घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘शनिबार हाओलाल आफ्नो खेतमा काम गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले उनीमाथि गोली चलाए। धेरै गोली लागेका कारण उनको घटनास्थलमै मृत्यु भयो । आक्रमणका बेला उनकी श्रीमती पनि त्यहीँ थिइन्, तर उनी सुरक्षित स्थानतर्फ भाग्न सफल भइन् ।’
प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी आसपासका क्षेत्रमा आक्रमणकारीको खोजी अभियान चलाइरहेको छ । काङपोकपी जिल्लाको ट्विलाङ क्षेत्रस्थित गोवाजाङ कुकी समुदायको अन्तिम गाउँ हो, जहाँ अहिले डर र त्रासको वातावरण छ । यसैबीच शनिबार दिउँसो करिब २ बजे मैतेई समुदायका केही घरमा आगजनी गरिएको छ, जसपछि क्षेत्रमा तनाव थप बढेको छ ।
यस घटनाबारे प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा बयान जारी गर्दै काङपोकपी जिल्लाको कान्टो सबल गाउँ (जुन मैतेई समुदायको गाउँ हो) मा भएको हिंसा र खाली घरहरूमा आगो लगाउने प्रयासको घटनामा कारबाही गरिएको जनाएको छ ।
मणिपुर प्रहरी, सीआरपीएफ, आरएएफ र सेनाको संयुक्त टोलीले लिमाखोङ एरिया प्रोटेक्सन कमिटीका अध्यक्ष तथा हेङजाङ गाउँका मुखिया कम्मङ ल्होवम (६५ वर्ष) र खुनखो कुकी गाउँका पैगिन हाङसिङ (३० वर्ष) लाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको जनाएको छ ।


0 comment