काठमाडौं - हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएको केही घण्टापछि अमेरिकी सेनाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको छ।
पछिल्ला आक्रमणले दुवै देशबीचको युद्ध रोक्न गरिएको अन्तरिम समझदारी थप संकटमा परेको छ।
यी आक्रमण इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि चलिरहेका बेला भएका हुन्। गत फेब्रुअरी २८ मा सुरु भएको युद्धको प्रारम्भिक चरणमै खामेनेईको मृत्यु भएको थियो। पछिल्लो घटनाक्रमले हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने, इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने तथा युद्धको स्थायी अन्त्यका लागि जारी वार्तालाई थप जटिल बनाउने अनुमान गरिएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा सञ्चालित व्यापारिक जहाजमाथि आक्रमण गर्ने पक्षलाई ठूलो मूल्य चुकाउन बाध्य पार्ने उद्देश्यले सैन्य कारबाही गरिएको जनाएको छ।
नाम सार्वजनिक नगरिएको एक अमेरिकी अधिकारीका अनुसार आक्रमण इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, जमिनबाट आकाशमा प्रहार गरिने क्षेप्यास्त्र प्रणाली, जहाजविरुद्ध प्रयोग हुने क्रुज क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण केन्द्रहरूलाई लक्षित गरिएको छ। इरानका केही बन्दरगाहसम्बन्धी पूर्वाधार पनि आक्रमणको निशानामा परेको उनले बताएका छन्।


0 comment