काठमाडौं - पश्चिमी पाकिस्तानमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार बलुचिस्तान प्रान्तको क्वेटाबाट खैबर पख्तुनख्वा प्रान्तको पेशावरतर्फ जाँदै गरेको यात्रुवाहक बस झोब जिल्लाको पहाडी दाना सार क्षेत्रमा सडकबाट  करिब २१ देखि २४ मिटर तल खोलामा खसेको थियो।

झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीका अनुसार दुर्घटनामा ४० जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। घाइते ११ जनालाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन्।

दुर्घटना दुर्गम पहाडी क्षेत्रमा भएकाले उद्धार कार्यमा कठिनाइ भएको सेरानीले जानकारी दिए। घटनापछि उद्धार टोलीले स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार र शव निकाल्ने कार्य सञ्चालन गरेको थियो।

बलुचिस्तानका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस क्वेटाबाट पेशावरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको पुष्टि गरेका छन्। उनका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ बलुचिस्तान र खैबर पख्तुनख्वा दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।

प्रारम्भिक रूपमा दुर्घटनाको कारण खुल्न नसके पनि पाकिस्तानमा ट्राफिक नियम उल्लंघन, तीव्र गति, कमजोर सडक सुरक्षा मापदण्ड तथा लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण यस्ता सडक दुर्घटना बारम्बार हुने गरेका छन्। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ।