काठमाडौं - नोभेम्बर २५ तारिक विश्वभर लैङ्गिक हिंसा विरुद्धको दिवसको रुपमा मनाउँदै आइरहेको छ । नेपालमा यो दिवस पुस १० गते सम्म १६ दिन अभियानको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने क्रम जारी छ ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहँदा हिंसामा परेका पिडितहरुले न्यायको लागि विभिन्न तरिकाले आवाज उठाउँदै आइरहेका छन् ।

विश्वभर लैङ्गिक हिंसा विरुद्धको दिवस मनाइरहँदा पनि महिला तथा घरेलु हिंसामा पर्ने पिडितहरुको संख्यामा कमि आउनुको साटो बढदै गएको राष्ट्रीय महिला आयोग र नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० मसान्त सम्म सात वटा प्रदेश र उपत्यकामा गरी जम्मा ४ हजार २ सय ५७ घरेलु हिंसा भएका छन् भने १ हजार ९८ वटा महिला हिंसा भएका छन्। त्यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ५८ घरेलु हिंसा र ३ हजार ५ सय ७४ महिला हिंसा भएको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी राष्ट्रीय महिला आयोगको तथ्यांक अनुसार गत २०७८/७९ आर्थिक वर्ष भित्र घरेलु हिंसा १ हजार ३ सय १८ र महिला हिंसा १ सय ४७ रहेका छन्। चालू आर्थिक वर्षको श्रावण १ गते देखि कार्तिक मसान्त ४ महिनामा ३ सय १६ घरेलु हिंसा र महिला हिंसा ३१ गरी ३ सय ४७ वटा घटना भएको देखाएको छ ।

आफ्नै श्रीमान र घर परिवारबाट पिडित भएका महिलाहरु न्यायको लागि प्रहरी प्रशासन र न्यायलयको ढोकामा पुग्दा न्यायलयबाट न्याय पाउनुको साटो उल्टो पिडित बनाउने काम भइरहेको पिडितहरुको गुनासो रहेको छ ।

जबसम्म सरकार यसप्रती जिम्मेवार हुँदैन तबसम्म यो वर्सेनि अभियान मात्र चलाएर केही अर्थ नहुने महिलाहरुको हक अधिकारको लागि लड्ने राष्ट्रीय महिला आयोगका आयुक्त कृष्ण कुमारी खतिवडा बताउँछिन्। 

सरकार आफैं पनि महिलाहरुको हक अधिकार खोस्दै महिला दमन तर्फ उन्मुख हुँदै गएको खतिवडाले आरोप पनि लगाइन्।

महिला हिंसा तथा घरेलु हिंसा हुनुमा शिक्षाको कमिको कारण हुने हुँदा त्यसको अन्त्यको लागि हरेक क्षेत्रमा शिक्षाको पहुँच हुन जरुरी रहेको नेपाल प्रहरीका सहप्रवक्ता दानबहादुर कार्की बताउँछन् । 

जबसम्म सरकार आफै लैङ्गिक हिंसा अन्त्य तर्फ जागरुक हुँदैन, जिम्मेवार बन्दैन तबसम्म अभियान मात्र चलाएर लैङ्गिक हिंसाको न्युनिकरण असम्भव छ ।