दीर्घराज प्रसाई

पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश-मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाईनैं ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड हो । संसारमा हिन्दुअस्मिता बोकेका राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन,संस्कृति र सभ्यताको विस्तार भएको हो । अहिलेको संसारमा इसाई साम्राज्य स्थापना गराएर हिन्दु तथा बौद्धको अस्त्त्वि समाप्त गर्न खोजेको छ । इसाईहरुले आफ्नो धर्म महान हो भनेर सिर्जना गरेका भ्रमलाई पत्याउने कुरा आउँदैन । वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो । हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु– मुस्लिम, क्रिस्चियन हुन् ।

इतिहासविद् योगी नरहरिनाथले उल्लेखगर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्द महासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ यही हिसावले नेपाल–भारत हिन्दुहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ । विदेशी अधिक्रमणको कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो । भारतमा अंगे्रजहरुबाट हिन्दुअस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन । तर गोरखाका राजा पृथ्वीनारायण शाहले स-साना टुक्राहरुमा विभाजीत हिमवतखण्डका राज्यहरुको एकीकरण गरेर समयमैं विश्वभरमा हिन्दुहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर राख्नेकाम गरे । यसउसले यो भूमि कहिले पनि बिटुलो भएन ।

वैदिक सनातन हिन्दु दर्शन हिमवत्खण्ड नेपालको उपज हो । यही हिन्दुस्थलमा २५६० बर्ष अगाडि हिन्दु राजा शुद्धोधन र रानी मायाँदेबीबाट सिद्धान्र्थ गौतमको जन्म बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । हिन्दुहरुका प्रवर्धनमा वैदिक ग्रन्थ, उपनिषद, मनुस्मृति लगायत गोरखनाथ मार्गदर्शक हुन् । आध्यात्मिक साधनाको क्षेत्रमा गुरु गोरखनाथको योगदान अद्वितीय छ । गुरु गोरखनाथको दर्शनले एकातिर वैदिक दर्शन, संस्कृति र बौद्ध दर्शन, संस्कृतिलाई नजिक्याएको छ भने अर्कोतिर तन्त्र र मन्त्रको सुन्दर सामन्जस्य गरी हाम्रो पूर्वीय दर्शनलाई धनी बनाएको छ । यसैगरी एकातिर उच्च षडङ्ग योगदर्शनको शिक्षा दिएको छ । हिन्दु तथा बौद्धभित्र मूर्ति पूजा गर्ने, मूर्ति पूजा नगर्ने, जनै लगाउने, जनै नलगाउने, टुप्पी पाल्ने टुप्पी नराख्ने, मान्साहारी, शाकाहारी, आीसतक, नास्तिक, बैरागी, सन्यासी यी सबै एकसाथ सहअस्तित्वको हिन्दुत्व र बुद्धत्व माथि विश्वास गर्छन् । ‘‘ॐकारको साधना” नै प्रमुख साधना हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो ।

हिमवतखण्डका ५४ भन्दा बढी स-साना ‘हिन्दु राज्यहरु’ एकीकृत भएर बनेको विशाल नेपाल ‘हिन्दु अधिराज्य’ हो । ‘हिन्दु अधिराज्य’ यसक्षेत्रको आधिकारिक थलो हो । धर्म, संस्कृति, अनेकौं चाडपर्वहरु यसक्षेत्रका पहिचान हुन् । हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु मुस्लिम, क्रिस्चियन्हरुले विश्वका अनेकौं राष्ट्रलाई धर्म सापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्म निरपेक्ष हुनुपर्ने ? यो कस्तो न्याय हो ? क्रिश्चियन्हरुले–‘क्रस’, यहुदीहरुले–‘षडकोण’, मुसलमानहरुले–‘काबा’ को अस्तित्व त्याग्न तयार हुनसक्नु पर्दछ ।

प्राचीनता सभ्यताको कुरा उठाउँदा विश्वका सभ्यताहरुमा यही भूभागलाई नैं सभ्यताको उद्गम् मानिन्छ । कैलास–मानसरोवरदेखि गगासम्मको हिमवतखण्डको यो भूभाग एक सम्वृद्ध सभ्यताको मूल हो । अनादिकाल देखिनै श्रृषिमुनीहरुको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण, अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरु कैलास–मानसरोवरदेखि गंगासम्मकै भूभागमा सिर्जिएका हुन् । यस क्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरुको महान देन छ । सप्त ऋषिहरु ब्राम्हण र क्षेत्रीहरु भएता पनि किरातीहरुका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरुको नामबाट विभिन्न जातिहरुको गोत्र चलेको छ ।

किरातीहरुको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन उनको गोत्र पनि चलेन । हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनीहरु– कस्यप, भारद्वाज, विश्वामित्र, कौसिक), वशिष्ट, अत्री, गौतम, जमदग्नी, सप्तऋषिहरु, ‘नेमुनीे’, परशुराम, उपमन्य, मौतगल्य, शाण्डिल्य, मरिची, अंंगिरा, गार्गी, यज्ञवल्क्य, मैत्रेयी, ब्यास पुलह, भृगु, माण्डव जस्ता यस्ता सैयौं ऋषिहरुको तपोभूमि, कर्मभूमि हो– यो हिमवतखण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरु यही क्षेत्रकै उपज हुन् । बाल्मिकि ऋषिले चितौनको बाल्मिकि आश्रममा बसेर रामायण लेखेका थिए ।

जनक राजाले मिथिला क्षेत्रमा हजारौंबर्ष अगाडि सच्यताको विकास गरे । मैत्रेयी र यज्ञवल्क्य जस्ता महान ऋषिहरुले वेदका ऋचा लेखेका थिए । तेइससय बर्ष अगाडि अशोकले यसक्षेत्रका सभ्य र सुसंकृत क्षेत्रीबंशका देवपालसँग आफ्नी छोरीे चारुमतीलाई बिवाह गराएका थिए । वशिष्ट ऋषि रामका गुरु थिए । उनको वासस्थान देवघाट– वशिष्ट गुमामा थियो । अहिले पनि हामीहरु वशिष्ट गुमा देख्न सक्छौं । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको विषयलाई लिएर– “भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेको कुरालाई हृदयंगम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ । कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा “हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेका छन् ।

‘कृर्वन्तो विश्वमार्यम्’ विश्वलाई नैं सभ्य बनाऔं, भन्ने ऋषि महर्षीहरुको उद्घोस थियो जहाँ विश्वका कैयौं देशहरुमा ऋषिहरु र वेत्ताहरुबाट वैदिक ज्ञान ब्यापक भएको र यही भूखण्डबाट विश्ब्यापीरुपमा सभ्यताको विकास भएको थियो । अत:अव नेपालको स्थायित्व, एकता र प्रतिष्ठाको लागि नेपालको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित राजसंस्था र हिन्दु अधिराज्य स्थापित हुनुपर्छ ।