पृथ्वीको सतहको बस्तु तथा विवरणहरुको प्रतिनिधित्व गरेर देखाउने सामग्रीलाई नक्सा भनिन्छ । एउटा नक्सामा पृथ्वीको सम्पूर्ण भाग अथवा यसको केही भाग देखाइएको हुन्छ । नक्सा बनाउने भनेको एक प्रकारको कार्टोग्राफिक कला हो र हिजोआजको जमानामा यो विज्ञान पनि हो । एउटा नक्साले यसको अभिप्राय अनुसार खास वस्तुहरु छनोट गरी लिएको हुन्छ र अन्य असम्बन्धित वस्तुहरुलाई बेवास्ता गरिएको हुन्छ । जस्तो, सीमा नक्साले देशहरुबीच दौडेको सीमारेखालाई अंकन गरेको हुन्छ । माननापले भ्याएमा सीमास्तम्भका विन्दुहरु नम्बरसहित देखाइएको हुन्छ र नदीनाला पहाड पर्वत जमिनको अग्लाई–होचाई, ठाउँको नाम तथा अन्य प्राकृतिक विवरणहरु अंकित गरिएका हुन्छन् । नक्सा वैज्ञानिक अनुसन्धान तथा अध्ययनको निमित्त आवश्यकीय साधन अथवा एक प्रकारको औजार पनि हो ।

नेपालको सीमा नक्सा १८७२ चैत्र १ गते (४ मार्च १८१६) मा सम्पन्न भएका सुगौली सन्धिपछि लगत्तै बनाउन शुरु गरिएको पाइन्छ । सुगौली सन्धिमा नेपालले काउण्टर हस्ताक्षर गर्ने बित्तिकै सन्धिको धारा ३ को उपदफा ५ अनुसार मेची नदीभन्दा पूर्वको जमिन गोर्खाली सेनाले ४० दिनभित्र खाली नगर्ला भन्ने शंकाले अंग्रेज सरकारका तर्फबाट लेफ्टिनेन्ट जोन् पिटर बोईलुको नेतृत्वमा खटिएको सर्भे टोलीले मेची नदीको किनारमा जंगेस्तम्भसमेत स्थापना गरी सन १८१६ देखि नै सीमा नक्सा तयार गर्न शुरु गरेको पाइन्छ । यो टोलीले पहिले हस्तलिखित (म्यानुस्क्रीप्ट) नक्सा तयार गर्यो र मेची शिरदेखि कोशीनदी सम्मको सीमा देखिने नक्सा छपाई गरी सन् १८१८ मा प्रकाशित गरेको पाइन्छ । एउटै सिट भएको यस नक्साको स्केल १ इन्च बराबर २ माइलको छ र यसमा जंगेस्तम्भको अवस्थिति अंकन गरिएको छ । यस्तै सन् १८१६ देखि १८६० सम्ममा पाँचथर जिल्लाको फालेलुङ्ग (नेपाल–सिक्किम–भारत) देखि कन्चनपुर जिल्लाको ब्रम्हदेवमण्डी विन्दुसम्मको सर्भेक्षण गरी म्यानुस्क्रिप्ट नक्सा बनेको पाइन्छ । कन्चनपुर खण्डको महाकाली (शारदा) नदीले बाटो बदली नयाँ भङ्गालाहरु बनाएको भारतले टनकपुर बाँध बनाउने सिलसिलामा दुई देशबीच जमिन सट्टापट्टा गर्नसमेत त्यस क्षेत्रको सन् १८९०–१९०६ तथा १९३० मा नक्साहरु बनेको पाइन्छ । यसै अवधिभित्र Map of Nepaul Frontier and Terrye between River Gunduk and Bogmutty नोभेम्बर १८२१ म १’=४ माइलको स्केलमा १ सिटमा र Map of the Frontier Districts of Nipal and North Behar River Gunduk and Cosee सन् १८४० मा १’’=४ माइलको १ सिटमा प्रकाशित भएका छन् ।

यसबाहेक नेपाल बाउण्डरी सर्भे नामक नक्साहरु तीन सिरिजका तीन अवधिमा सीमारेखा तथा सीमास्तम्भ देखाई बनाइएको पाइन्छ । यी नक्साहरुमध्येमा कुनै सिरिजमा दशगजा क्षेत्र अंकित गरिएको देखिन्छ । तीन सिरिजका नक्साहरुमध्ये सन् १८७४–७५ मा ४ इन्च बराबर १ माइलको स्केलमा (फारसीलिपिमा जिल्ला मोरंग मुलुक नेपाल) मेची (भद्रपुर) देखि कोशीसम्म १४ सिट नक्सा तथा सन् १८८२–८३ मा ४’’=१ माइलमा मेचीदेखि ब्रम्हदेवमण्डीसम्म ४३ सिट एवं सन् १८८३–८४–८५ को सिजनमा १’’=१ माइलमा ४५ सिट नक्साहरु बनेको पाइन्छ । यी पछिल्ला दुई सिरिजा ४१’ १ माइलमा ४५ सिट नक्साहरु बनेको पाइन्छ । यी पछिल्ला दुई सिरिजका सीमा नक्साहरु सर्भे अफ् इण्डियाबाट बनेका हुन् ।

उपरोक्त नक्साहरु बाहेक सन् १९२४ देखि १९२७ सम्म सिमानासमेत देखिने गरी नेपालको टोपोग्राफिकल सर्भे गरी स्थलरुप नक्सा सिटहरु सर्भे अफ् इण्डियाबाट १ इन्च बराबर १ माइल, २ माइल, ४ माइलको स्केलमा तयार पारी १९३६ दखि १९४० सम्ममा प्रकाशित भएको पाइन्छ । यसमध्ये १’’=१ माइलका नक्सा सिटहरुको संख्या ४५ (फालेलुङ्देखि ब्रम्हदेवमण्डीसम्मको) रहेको छ । यिनै नक्साहरुको आधारमा हवाई सर्भेक्षण तथा ग्राउण्ड सर्भे गरी सन् १९५८ देखि १९६७ सम्ममा नयाँ सिरिजको टोपोसिट नक्साहरु पटकपटक गरी प्रकाशित भएका पाइन्छ । कुनै छुटपुट सिटहरु सन् १९७४ मा पनि प्रकाशित भएको देखिएको छ ।

यी नक्साहरुमध्ये फालेलुङ्देखि ब्रम्हदेवमण्डीसम्मको नेपाल–भारत दुबै तर्फको संयुक्त रुपमा या पछि मन्जुरी जनाएर तयार भएको सन् १८८२–८३ को नक्साहरुलाई आधार नक्सा मानिएको छ । यसदेखि बाहेक दुबै उत्तरतर्फको नक्साहरु सर्भे अफ् इण्डियाले एकतर्फी रुपमा बनाएको अवगत हुन्छ । भारतद्वारा तयार गरिएको नेपालको टोपोग्राफिकल नक्साको दाहिने पुछारमा ठूलो अक्षरले निषेधित (Restricted) लेखिएको पाइन्छ । यसैसँग ‘यो नक्साको अंश या पूरै फोटोग्राफी गरेर या अन्य कुनै तरिकाबाट सार्न, पनुः उत्पादन गर्न, प्रकाशित गर्न पाइने छैन । यसलाई सुरक्षित बन्धनका साथ राख्नुपर्छ र आधिकारिक व्यक्तिले मात्र संचालन गर्नुपर्छ भनी लेखिएको छ । कुनै नक्साको तल मध्यभागमा ‘भारत–नेपाल सिमाना मोटामोटी हो’ लेखिएको र कुनैमा ‘यो नक्सामा अंकन गरिएको अन्तर्राष्ट्रिय सिमानालाई आधिकारिक मान्नु हुँदैन’ भनी उल्लेख गरिएको छ । नेपालमा यी नक्साहरु सर्वसाधारणले किन्न पाउनु प्रायः असम्भव छ तर भारतमा भने सजिलै पाउन सकिन्छ ।

यी नक्साहरुभन्दा अगाडि सन् १९४०–४१ मा बंगाल ट्राभर्स पार्टी एण्ड ड्रइङ्ग अफिसले नेपाल–सिक्किम–भारतको त्रिदेशीय विन्दु फालेलुङ्(स्तम्भ नं. १) देखि झापा भद्रपुर (नेपाल–बङ्गाल–पूर्णिया) को त्रि–बिन्दु (स्तम्भ नं. १२०) सम्मको सीमारेखाको २४ थान नक्सा बनाएको भेटिन्छ । यो नक्साको स्केल १६ इन्च बराबर १ माइलको छ । नेपाल भारत संयुक्त प्राविधिक सीमा समिति अन्तर्गतका संयुक्त नापी टोलीहरुले हिजोआज सीमाविन्दुको दुबै तर्फको आधा–आधा किलोमिटर गरी जम्मा एक किलोमिटर भू–भाग देखिने गरी सीमारेखा नक्सा (Strip map) १ः५०० देखि १५,००० को स्केलमा बनाइरहेको छ । यसमा प्रत्येक सीमाबिन्दुको नम्बरसमेत अंकन गरिएको छ ।

नेपाल–चीन सीमारेखाको अध्यावधिक नक्सा दुई देशका बीच सीमा सम्झौता तथा सीमांकन भई नोभेम्बर १९७९ मा हस्ताक्षर भएको सीमा बडापत्र (बाउण्डरी प्रोटोकल) मा संलग्न भएको पाइन्छ । यो नक्साको स्केल १ः५०,००० रहेको छ र सीमारेखाको दुबैतिर ५ किलोमिटर चौडा भएको धर्सो नक्सा हो । यो नेपाल–चीन संयुक्त नापी टोलीबाट तयार पारिएको हो ।

हवाई फोटोहरुको आधारमा बनाइएको यस रंगिन नक्साको समोच्चरेखाको अन्तराल २० मिटरका छ । यसमा प्रशस्त मात्रामा उचाई विन्दुहरु दिइएका छन् । नक्सामा टड्कारो रुपले देखिने गरी सीमारेखा रातो लाइनले तानिएको छ र त्रिकोणमितीय विन्दुहरु अंकन गरिएका छन् । ५७ थान नक्साहरुको सेट एटलासको रुपमा तयार भएको नेपालको उत्तरी सिमानाका नक्साहरुमा नेपाली तथा चिनिया लिपिमा ठाउँका नामहरु लेखिएका छन् । नदीनाला, ताल, हिमनदी, निलो रंगले भू–उपयोग तथा जंगल हरियो रंगले तथा राजमार्ग, पैदल, गोरेटो बाटो कालो रंगमा देखाइएका छन् । यसबाहेक सिमानाका चुलीहरुको उचाई अंकन गर्नुका साथै मन्दिर, गुम्बा, मानी, चैत्य, गाउँबस्ति, घर, आबादी, चरन, बाँसका झ्याङ, बन–बुटेन पनि चित्रण गरिएका छन् ।

सन् १९६१ म सम्पन्न नेपाल–चीन सीमा सन्धिका साथमा सबभन्दा पहिले सातवटा रंगिन नक्साका एटलास संलग्न गरिएको थियो । यी नक्साहरुमध्ये १ः५००,००० मान नापको दुई सिट नक्सामा पश्चिमको लिपुधुरा (टिङ्कर भन्ज्याङ नजिक) दखि पूर्वको चाबुक भन्ज्यासम्मको १,१११.४ किलोमिटर लामो नेपाल चीन सीमारेखा अंकन गरिएको छ । ५०० मिटरको अन्तरालमा कन्टुरलाइनहरु खैरो रंगमा, नदी, खोला–खहरे, हिउँ निलोमा, सीमारेखा तथा सीमास्तम्भ (नम्बर समेत) रातो रंगमा स्पष्टरुपले देखाइएका छन् । दुबैतर्फका ठाउँका नामहरु नेपाली तथा चिनिया भाषामा कालो अक्षरमा लेखिएका छन् ।

सिमानाको पूर्वी र पश्चिमी भागको उपरोक्त दुई सिट नक्साबाहेक सो समयमा क्षेत्रीय नक्साको रुपमा १ः५०,००० माननापमा अरु पाँचवटा नक्साहरु बनेका थिए । यी पाँच नक्साहरुले क्रमशः उरै भन्ज्याङदेखि नालकंकरसम्म, ६२१५ मिटरदेखि चाक्लो, ग्यालादेखि थाप्ले भन्ज्याङ, याङरा हिमालदेखि चोसुम्दो र ६२०८ मिटरदेखि न्याउले पुलसम्मको भाग ढाकेको छ । यी नक्साका आन्तरिक विवरणहरु सन् १९७९ को नक्साहरुमा पनि उतारिएका छन् । ती विवरणहरु बाहेक १९६१ को सीमानक्साको तल्लो खण्डमा सीमारेखामा स्थापना गरिएका ७८ वटा सीमा स्तम्भहरुको अवस्थिति देखाइको ठूलो स्केल १ः२०,००० माननापमा पूर्ण विवरणका नक्साहरु पनि दिइएका छन् ।

नेपाल–भारत सीमारेखाको सन् १८८२–८३ को मौसममा बनाइएको नेपाल बाउण्डरी सर्भेको ४३ सिट नक्साहरु अध्ययन गर्दा यसको स्केल १ इन्च बराबर चौथाई माइल भएको तर समोच्च रेखा (कन्टरलाइन) तथा उचाई बिन्दुहरु देखाइएका छैनन् । जंगे सीमास्तम्भको दुबैतिर दायाँ बायाँ गरी आधार माइल क्षत्रको स्ट्रिप नक्सामा नदी, पोखरी, गाउँवस्ती, पैदल बाटो, गाडाको बाटो अंकन गरिएको छ । नेपाल तथा भारतका जिल्लाहरुको नाम सीमारेखाको दुबैतिर लेखी सम्पूर्ण अंग्रेजी लिपिमा बनाइएको यस एकरंगा नक्साका चार कुनामा ग्रिड उल्लेख गरिएका छ । यस नक्सामा भएका सीमास्तम्भका नम्बरहरु सन् १८१८ को सिजनमा लेफ्टिनेन्ट बोइलुले तयार गरेको नक्साको सीमास्तम्भका नम्बरसँग मिलान गर्न Reference to the Numbering of Pillars भनी एक तालिका पनि उल्लेख गरिएको छ । यस नक्साको संकेत संग्रहमा सीमारेखाको दुबैतर्फ दशगजा क्षेत्रको पनि समानान्तर रेखा खिचिएको छ र यसलाई Bank & Ditch भनी उल्लेख गरिएको छ । यसबाहेक अंकन नगरिएको सिमानाको संकेत चिन्ह उल्लेख गरिएको छ र नदीको बीचमा सिमाना तानिएको भनी उल्लेख गरिएको छ ।

यस नक्सामा नेपाल बाउण्डरी पार्टीका इन्चार्ज, डेपुटी सुपरिन्टेण्डेण्ट सर्भे अफ् इण्डिया भनी निजले नक्सामा दस्तखत गरेका छन् तर नेपालतर्फबाट कसैको पनि सहीछाप देखिदैन ।

सन् १८८३–८४–८५ को सिजनमा बनेको १ इन्च बराबर १ माइलको स्केलमा तयार भएको नेपाल बाउण्डी सर्भेको ४५ सिट नक्सा (दोश्रो संस्करण) को विवरणहरु पनि माथि उल्लिखित सन् १८८२–८३ को नक्साहरुमा जस्तै छन् तर दशगजारेखा देखाइएको छैनन् । यस नक्सामा आक्षांश तथा देशान्तर उल्लेख भएका छन् र नक्सामा कसैको पनि हस्ताक्षर भएको छैन । यस नक्सामा समोच्च रेखाको रुपमा ह्याचुरिङ्ग प्रविधिजस्तै अपनाई ब्रोकन लाइनमा रेखाहरु खिचिएका छन् । तर उचाइका अंकहरु कतै पनि लेखिएका छैनन् ।

सन् १८७४–७५ को नेपाल बाउण्डरी सर्भे (जिल्ला मोरंग मुलुक नेपाल) नामक फारसीलिपिको १४ सिट सीमानक्सामा जंगे स्तम्भहरु देखाई यी स्तम्भहरुलाई जोडेर सीमारेखा तानिएका छन् । यस नक्साका माननापमा स्केल याने पैमाना १ मिल बराबर ४ इन्च भनी उल्लेख गरिएको छ । यस नक्सामा सीमा स्तम्भ नम्बर तथा सीमा रेखाको दायाँबायाँका विवरण आदि समेत सम्पूर्ण विवरणहरु उर्दु लिपिमा मात्रै लेखिएका छन् । फारसीलिपि पढ्न नसक्ने व्यक्तिले यस नक्साको बारेमा केही ज्ञान गर्न सक्दैन । यसमा एउटैमात्र कुरा अंग्रेजीमा ‘डेपुटी सुपरिन्टेण्डेण्ट रेभेन्यु सर्भे’ भनी क्याप्टेन लेखेर स्वहस्त दस्तखत गरिएको छ ।

सन् १९४०–४१ को Bengal Traverse Party & Drawing Office बाट तयार भएको २४ सिट नक्साको स्केल १६ इन्च बराबर १ माइल छ । नक्सामा सीमास्तम्भको नम्बरसमेतको अवस्थिति देखाई सीमारेखा तानिएको छ । ठाउँ ठाउँमा मुख्य सीमास्तम्भको दायाँबायाँ रिफरेन्स पिलरहरु र यसको दूरी पनि लेखिएको छ । आवादीमा गाडिएको स्तम्भको दुबैतर्फ प्रत्येक जग्गा कित्ताको नक्सा पनि प्लट गरिएको छ र पैदल बाटो पनि अंकन गरिएको छ । नदी भएको स्थानमा अथवा मेची नदीको चौडाई खिचिएको छ । यस नक्सामा कन्टुरलाइनहरु छैनन् र गाउँवस्ती तथा अन्य बस्तुका विवरणहरु उल्लेख गरिएका छैनन् । तर मौजाको नाम जे.एल. नम्बर लेखिएका छन् । यस नक्साको महत्वपूर्ण कुरा चाहिँ भारत तर्फको अफिसर इन्चार्जले मितिसमेत जनाई अंग्रेजीमा स्वहस्त हस्ताक्षर गरेको छ र त्यसमा नेपाली पक्षले नेपालीमा काउण्टर सहीछाप गरेको छ तर मिति उल्लेख गरिएको छैन ।

बुद्धिनारायण श्रेष्ठको ‘नेपालको सिमाना’ नामक किताबबाट