काठमाडौं - इजरायली सेनाले गाजा सिटीलाई पूर्ण रूपमा कब्जा गर्ने र स्थलगत आक्रमण गर्ने योजना अन्तर्गत करिब ६० हजार आरक्षित सैनिक थप्ने घोषणा गरेको छ।

यी आरक्षित सैनिकहरू सेप्टेम्बरमा ड्युटीमा हाजिर हुनेछन् र आक्रमणका लागि परिचालित हुने एक सैन्य अधिकारीले जनाएका छन् । अधिकांश फौज सक्रिय सेवामा रहेका सैनिकहरू हुनेछन्।

सैनिकहरूले हालैदेखि नै जायतुन र जबालिया क्षेत्रमा उक्त योजनाको तयारी स्वरूप कारबाही गरिरहेका छन्। यो योजना रक्षा मन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका हुन् ।  यसलाई यसै साताको अन्त्यतिर सुरक्षा मन्त्रिपरिषद्‌मा पेस गरिने बताईएको छ।

गाजा सिटीका लाखौं फिलिस्तीनीलाई दक्षिणी गाजास्थित आश्रयस्थलतर्फ जान र सहर खाली गर्न आदेश जारी गरिने अपेक्षा गरिएको छ।

इजरायल डिफेन्स फोर्सेस्‌ले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, अपरेसन गिडियन’स चेरीअट्स” को अर्को चरणको तयारी स्वरूप ६० हजार  आरक्षित बोलाउने आदेश जारी गरिएको छ। यो स्थलगत आक्रमण मे महिनामा सुरु गरिएको थियो र जस अन्तर्गत हालसम्म गाजाको कम्तीमा ७५प्रतिशत भूभाग नियन्त्रणमा लिइ सकेको दाबी गरिएको छ।

त्यसका अतिरिक्त पहिले नै बोलाइएका २० हजार आरक्षितलाई तिनको आदेश अवधि थपिएको जानकारी दिइएको छ।

एक सैनिक अधिकारीका अनुसार वरिष्ठ कमाण्डरहरूले यस योजनालाई अनुमोदन गरेका छन् ।  जसलाई क्रमिक, सूक्ष्म र लक्षित अपरेसन भनेर वर्णन गरिएको छ, जसअन्तर्गत सेनाले गाजा सिटी भित्र र वरिपरिको त्यस्ता क्षेत्रमा प्रवेश गर्नेछ जहाँ उनीहरू पहिले गएका थिएनन्।

यस आक्रमणमा पाँच डिभिजन सहभागी हुने अपेक्षा गरिएको छ।

अपरेसन पूरा भएपछि गाजाको स्वरूप बदलिनेछ र यो अघिल्ला दिनझैं देखिने छैन  रक्षा मन्त्री  काट्जको भनाइ छ ।

उनले गाजा सिटीका बासिन्दालाई दक्षिणतर्फ विशेषगरी तटीय अल-मावासी क्षेत्रमा स्थानान्तरण गर्ने योजनालाई समेत अनुमोदन गरेका छन् जहाँ फिल्ड अस्पतालहरू स्थापना गरिने सैनिक अधिकारीले जनाए।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने सेनाको उद्देश्य हमासद्वारा अपहरण गरिएका सबै बन्धकहरूको मुक्ति र उद्धार गर्नु र प्यालेस्टिनी सशस्त्र समूहलाई पूर्णरूपमा पराजित गर्नु रहेको बताएका छन्।