काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।

उक्त कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ । संशोधित विधानमार्फत सांसदहरूलाई संसद्मा उपस्थित हुँदा मर्यादा पालना गराउने, आ–आफ्ना जिम्मेवारी स्पष्ट पार्ने, जनपक्षीय आवाजलाई बुलन्द बनाउने र कानुन निर्माण प्रक्रियामा थप सक्रिय बनाउने उद्देश्य राखिएको उनले बताए ।

बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए–गरेका प्रगति विवरण र गतिविधिहरू बैठकमा राखेका थिए भने सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, जनताबाट प्राप्त गुनासाहरू र सरकारका कामका कमजोरी औंल्याएका थिए । सरकारले काम गरिरहे पनि त्यसको सन्देश आम जनतासम्म प्रभावकारी रूपमा पुग्न नससकेको बिषयमा आत्मसमीक्षा गरिएको पराजुलीले बताए ।

साथै रास्वपा सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख सिलिन्डर आपूर्ति भएकोमा साउन महिनामा बढेर ४० लाख सिलिन्डर पुग्दा पनि बजारमा किन अभाव देखियो भन्ने विषय उठाएका थिए ।

मन्त्रीहरूले ग्यास अभाव हुनुको प्राविधिक तथा व्यवस्थापकीय कारणहरू स्पष्ट पार्दै यस समस्यालाई समाधान गर्न भइरहेका प्रयासहरूबारे जानकारी गराएको समेत दलका उपनेता पराजुलीले जानकारी दिए।