काठमाडौं - हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोस्न खोजिएको ट्रम्प प्रशासनको योजनालाई एक न्यायाधीशले अस्थायी रूपमा रोक लगाउने आदेश दिएका छन्।
हार्वर्डले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेपछि यो आदेश आएको हो ।
हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको बिहीबारको निर्णयलाई "कानून र अभिव्यक्ति स्वतन्त्रताको खुला उल्लंघन" भनेको छ।
ट्रम्प प्रशासनले हार्वर्डले यहूदी विरोध विरुद्ध पर्याप्त कदम नचालेको र यसको नियुक्ति र भर्ना प्रक्रिया परिवर्तन नगरेको आरोप लगाएको छ । जुन आरोपलाई विश्वविद्यालयले कडा शब्दमा अस्वीकार गरेको छ। अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले शुक्रबार एक छोटो आदेश जारी गर्दै अस्थायी रोक लगाइदिएकी हुन्।
यो आदेशले बिहीबार गृह सुरक्षा विभागद्वारा गरिएको निर्णयलाई रोक लगाएको छ । जसअनुसार हार्वर्डलाई विदेशीसँग सम्बन्धित सरकारी डाटाबेस स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर कार्यक्रमबाट वञ्चित गरिन लागेको थियो।
यस मुद्दाको अर्को सुनुवाइ मे २९ मा बोस्टनमा हुनेछ।
सरकारले हार्वर्डका झण्डै एक चौथाइ अन्तर्राष्ट्रिय विद्यार्थी जसले विश्वविद्यालय र यसको उद्देश्यमा गहिरो योगदान दिएका छन् उनीहरुलाई हटाउने प्रयास गरेको भनी हार्वर्डले मुद्दामा दाबी गरेको छ।


0 comment