मारियनवुर्ग किल्ला हेरी हामी बेलुका फेरी कोठा तिर लागियो । यी कुरा अवलोकन गरेपछि भुर्च्जवुर्गमा हेर्न पर्ने कुरा केही नभएको हुँदा भोलीपल्ट दुई बजेसम्म सेमिनारमै व्यस्त भई तत्पश्चात हामी स्पायर फर्कियौँ । म आफ्नो पढाइमै व्यस्त थिएँ । यसैबिच अक्टोबर महिनाको तेश्रो हप्तातिर तत्कालिन अर्मेनियामा अध्ययन गरिहेको ३ जना नेपाली भाइहरु बिदामा जर्मनी हेर्न भनी आएका रहेछन् । उनीहरु सरासर आएर हामीसँगै होष्टलमा बसे । उनीहरुले दक्षिण जर्मनीको अर्को ऐतिहासिक शहर हाइडेलवेर्ग अवलोकन गर्न इच्छा गरेको र हामी बसेको ठाउँ स्पायरबाट बस नै चढेर जाँदा पनि ४५ मिनेटमा पुगिने, अनि हामीले पनि नजिक भएतापनि अवलोकन नगरेको स्थल भएको कारण म, मेरो मित्र हिरामणी घिमिरे उनीहरुलाई लिएर हाइडेलवर्ग तर्फ लाग्यौँ । हामीलाई आफनो मिनी भ्यानमा हाम्रा गेष्ट फादर भाल्टर स्वाच्र्जले त्यहाँ लगिदिएको कारण बस चढ्न परेन । त्यहाँ हामीले दिन भरी पुरानो दरबार (क्यासल), पुरानो पुल र वजार क्षेत्र अवलोकन गरेर बितायौँ । 

पुरानो दरबार (क्यासल)

हाइडेलवेर्गको दरबार भग्नावशेषको रुपमा रहेको पुरातात्विकरुपबाट संरक्षित क्षेत्र रहेछ । आल्पस हिमालयको उत्तरमा रहेको पुनरजागरण कालिन संरचनाको एउटा मात्र उदाहरण यो दरबार रहेछ । १७ औँ र १८ औँ शताब्दिताका नै भग्नावशेषमा परिणत भएको यो दरबारको केही भाग मात्रै जिणोद्दार गरी संरक्षित गरिएको रहेछ । जर्मनीको ओडेनभाल्ड क्षेत्रको पर्वत श्रृंखलामा पर्ने यस दरबार रहेको क्षेत्र मैदानबाट ८० मिटरको उचाइमा अवस्थित रहेछ । यस दरबारमा मौलिक रुपको निर्माण सन् १२१४ अगाडि नै भएको, १२९४ मा गएर दुई दरबारसँगसँगै निर्माण् हुन पुगेको तर १५३७ मा आएको ठलो चट्याङ्गको कारण माथिल्लो दरबार ध्वस्त भएको रहेछ । सन् १६५० मा बाँकी रहेको दरबारको भागको जिणोद्दार भएतापनि युध्द र आगलागीको चपेटामा यो दरबार बारम्बार परेको रहेछ । फेरि सन् १७६४ मा आएको अर्को चट्याङ्गको कारण जिणोद्दार गरिएको दरबारको केही अंश आगलागिको कारण क्षति भएको रहेछ ।

यस दरबारबारे सन् १५२७ मा छापिएको क्यालेण्डरमा वर्णन गरिएको र हाइडेलवर्ग नै भनेर चाहिँ त्यो भन्दा धेरै अगाडि सन् ११९६ मा रोमन वादशाह फ्रेडेरिकले नामाकरण गरेका रहेछन् र यो जर्मनीको राइनलाण्ड फाल्च्जको इलेक्टोरेटको नामबाट चिनिन पुगेको रहेछ । जब सन् १४०१ मा जब रुपरेख्ट जर्मनीको राजा बने यो दरबार उन्को लागि सानो भएको कारण उनले त्यहाँबाट आउगुष्टटिनियान गुम्बाहरु हालको विश्वविद्यालयको स्थानमा सारेका रहेछन् । यसो गर्नको कारण उनले दरबारलाई सुरक्षा सहितको किल्लामा विकास गर्न चाहेका रहेछन् । सन् १४१० राजा रुपरेख्टको निधन भएपछि दरबारले ओगटेको जग्गा उनका चार छोराहरुलाई भाग लगाइएको रहेछ र यस क्षेत्रको मुटु मानिने समतल भाग जेठो छोरा लुइस तेश्रोको भागमा परेको रहेछ । जुनबेला फ्रेन्च लेखक भिक्टर ह्यूगो सन् १८३८ मा यस शहरको भ्रमणमा आए उनले आफनो पुरै समय दरबारको भग्नावशेष अवलोकन गर्नमा नै बिताएका रहेछन् । तत्पश्चात उनले आफन्तलाई लेखेको पत्रमा यस दरबार र शहरको ठूलो वर्णन गरेका रहेछन् । यस दरबारलाई कहिले पनि पुरानै स्वरुपमा ल्याउने प्रयास नगरी भग्नावशेषकै रुपमा छाड्नुको पछाडि यस्को पुरातात्विक महत्वलाई नबिर्गान र जर्मन रोमान्टिकवादको उदाहरुणको रुपमा यस दरबारलाई प्रस्तुत गर्न पर्ने कारण भएको बताईंदो रहेछ । यस दरबारको आर्कषण भनेको यो पहाडको काखमा रहेको र परबाट मनमोहक देखिने र त्यहाँ पुगेपछि त्यहाँबाट तल हाइडेलवर्ग शहरको पुरै दृश्य देखिने रहेछ । 

दोश्रो आर्कषण भनेको दरबारको सुन्दर र विलाशी बगैंचा जुन आगन्तुकको लागि निशुल्क रुपमा खुला रुपले घुम्न पाइने रहेछ । 

तेश्रो आर्कषण भनेको दरबार परिशरमा रहेको सबैभन्दा पुरानो पुनरजागरणको ओटहाइनरिख भवन रहेछ । दरबारको भित्री भाग सुन्दर मूर्तिहरुले सजिएका रहेछन् र त्यहाँ भएको इम्पेरियल हल विशेष किसिमका प्रदर्शनीहरुको लागि भनेर बनाइएको रहेछ । त्यसै दरबारको तलको छिँडीमा सन् १५९० देखिकै अंगुरको रक्सि बनाउने कारखाना रहेछ भने बनेको रक्सि जम्मा गर्ने संसारकै सबैभन्दा ठूलो काठको ढ्वांग (ब्यारेल) पनि देख्न पाईंदो रहेछ । जस्मा २ लाख २० हजार लिटर अंगुरको रक्सि अटाउँदो रहेछ ।