ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको जनताका अधिकारमाथि कसैबाट पनि प्रहार हुनु निकै दुखद् पक्ष हो । प्राप्त उपलब्धीलाइ रक्षा गर्न सकिएन भने हाम्रो गम्भीर कम्जोरी हुन जान्छ । एकले अर्कालाई निषेध गर्ने भन्दा पनि सबै एउटै मालामा जोडिएर मुलुकलाई अग्रगमनको यात्रामा हिँडाउन गम्भीर नबनी सुखै छैन । मुलुक यथास्थितिमा रहिरहन सक्दैन र रहन दिनु पनि हुँदैन । यथास्थितिको निरन्तरताले देशमा संकट चर्काउने मात्र कार्य गर्नेछ । 

राष्ट्रिय सार्वभौमिकता , स्वाधीनता एवं राष्ट्रिय एकता र  लोकतान्त्रिक परिवर्तनका उपलब्धिहरुमाथि खतरा उत्पन्न हुने र अन्ततः देश असफल राज्य बन्ने प्रक्रिया तिर धकेलिने खतरा बढ्दै जानेछ । त्यसैले यथास्थितिलाई जतिसके छिटो तोड्नु आवश्यक छ ।

हामी राजनीतिक पार्टीहरू र नेतृत्व यो कुरामा स्पष्ट हुनु आवश्यक छ कि प्रतिगमन मुर्दाबाद भनेर मात्र प्रतिगमनको खतरालाई अन्त्य गर्न र लोकतन्त्रको रक्षा गर्न सकिन्न । प्रतिगमनको विरुद्ध राजनीतिक प्रतिवाद त गर्नै पर्छ । तर मुख्य कुरा हो , सुशासन कायम गर्नु र विकास तथा समृद्धिको प्रक्रियालाई गुणात्मक रुपमा तिब्र पारेर त्यसको प्रतिफल आम जनतालाई उपलब्ध गराउनु हामी सबैको दायित्व हो । हामीले जनतालाई लोकतन्त्रले राजनीतिक अधिकार मात्र दिएको होइन , सामाजिक न्याय सहितको समृद्धिद्वारा हाम्रा जीवनका आधारभूत आवश्यकताहरू पनि पूरा गरेर हामीलाई नयाँ जीवन दियो भन्ने प्रत्यक्ष अनुभूति गर्ने अवसर दिन सक्नु पर्दछ । यो नै आजको मुख्य राष्ट्रिय कार्यभार हो । यसमा गणतन्त्रका पक्षधर दलहरु गम्भीर हुनुपर्दछ । 

तसर्थ सुशासन , सामाजिक न्याय सहितको समृद्धि , सकारात्मक संविधान संशोधन र  गुणात्मक सुधारका ठोस कदमद्वारा यथास्थितिलाई तोड्ने साहस गरौं  । त्यसरी मात्र प्रतिगमनको खतरालाई अन्त्य गर्न र लोकतन्त्रलाई रक्षा तथा सुदृढ गर्न सकिन्छ । त्यसका लागि राजनीतिक पार्टी र नेताहरु बदलिनु अनिवार्य छ , राजनीतिको सफाई र शुद्धीकरण अपरिहार्य छ । यसलाई केन्द्रबिन्दुमा राख्दै राष्ट्रिय एकता बलियो बनाउन सबैसँग आवश्यकता अनुसार  छलफल , सहकार्य , सहमति र सम्झौता गर्न तयार रहनु पर्दछ । वर्तमान व्यवस्था खोसियो भने मुलुक र जनताको लागि निकै ठूलो घात हुनेछ । कम्जोरीहरुको गम्भीर समिक्षा गरी प्रतिगमनलाई परास्त नगरेसम्म परिवर्तनको स्थायित्व नहुने खतरा चलिदै जान्छ ।