नर्वेको राजधानी ओस्लोबाट रातिको ११ बजे छुटेको रेल बिहान ६ः४५ बजे स्टाभान्गरको रेलवे स्टेसनमा आएर रोकियो । म स्टाभान्गर आउनुको पहिलो उद्देश्य त्यहाँ माम्मी सुन्ड्ट नामक एक नर्वेली महिलालाई भेटनु थियो जसलाई मैले इटालीमा इटालियन भाषाको प्रशिक्षण लिँदा सन् १९८५ मानै चिनेको थिएँ र आफ्नो नर्वे जाने योजना पहिलेदेखि नै भएकोले उनीसँग मेरो वर्षमा तीन–चार पटक चिठीपत्र आदानप्रदान हुने गर्दथ्यो । अनि हरेक चोटी उनले मलाई नर्वे आउँदा फिओर्ड अवलोकन गर्न स्टाभान्गर आउनु, त्यहाँ उनको आफ्नो घर भएको कुरा भन्थिन । बस्न खान सबैको ब्यवस्था भएको कुरा बताउँथिन । स्टाभान्गरको रेलवे स्टेशनमा आएपछि पहिले आफ्नो नुवाइ धुवाइ त्यहीको शौचालयमा गरी त्यहीकै रेष्टुरामा एक कप कफी र एउटा क्रोशन खाएँ । त्यति गर्दा बिहानको ७ः१० भएको थियो । त्यहाँबाट माम्मी सुन्ड्टलाई फोन गरी आफू आइपुगेको खबर गरेँ । उनले मलाई स्टेशनमा नै आधा घण्टा कुर्ने सल्लाह दिइन् र करिब ७ः४५ मा उनी मलाई लिन स्टेशन आइपुगिन् । स्टेशनबाट उनको कारमा घर पुग्न १० मिनेट मात्रै रहेछ । घर पुगेपछि मैले उनलाई नेपाली दालभात पकाएर खुवाउने आफ्नो योजना सुनाएँ । उनले पनि त्यो स्वीकार गरिन ।

त्यसपछि हामी दुवै अगाडिको सुपर मार्केटमा गएर चामल, मुसुरोको दाल अनि काउली किन्यौ । करिब ११ः४५ बज्दा मैले नेपाली लन्च तयार गरिसकेको थिएँ । हामी दुवै मिलेर दाल भात तरकारी खायौं र केही वेर आराम गरी दिनको ३ बजेतिर हामी स्टाभान्गर शहर घुम्न निस्कियौं । घुम्ने क्रममा बेलुका उनका सबै नर्वेली साथीहरु एकजनाको घरमा जम्मा हुने, गीत गाउने अनि नर्वेली डिनर गर्ने योजना भएको र त्यो जमघटमा म पनि आमन्त्रित भएको उनले मलाई जानकारी गराइन् । मैले त्यो निम्तालाई सहर्ष स्वीकार गरँे । शहर घुम्ने क्रममा त्यहाँको बन्दरगाहमा रहेको माछा बजार हामीले अवलोकन ग¥यांै ।

त्यहाँ माछाको अतिरिक्त ठूलाठूला गँगटाहरु पनि बिक्री हुँदो रहेछ र गँगटा नर्वेलीहरुको मुख्य खानाभित्र नै पर्दो रहेछ भन्ने थाहा पाएँ । करिब बेलुकीको ६ बजे हामी जमघटमा भाग लिन माम्मीको एक मित्रको घरमा पुग्यौं । त्यहाँ बाह्र–तेह्र जना महिला पुरुष जम्मा भएका रहेछन् र हामी पुग्नासाथ चिनजानी गर्ने कार्य गरियो । त्यहाँ जम्मा भएका मित्रमध्ये एकजना त्यहाँको प्रख्यात गिटारिष्ट रहेछन । उनले चार–पाँच वटा नर्वेली लोक गीत गाएर सुनाए । म आफू पनि थोरै थोरै गीतार बजाइ गीत गाउने भएको हुँदा मैलै पनि दुई तीन वटा नेपाली लोक गीत उनीहरुलाई सुनाएँ । मेरो गीत सुनेपछि उनले एउटा नेपाली गीत रोमन अंग्रेजीमा लेखिदिन अनुरोध गरे बमोजिम मैले चिसोचिसो हावामा...... भन्ने गीत लेखिदिएँ ।

त्यसपछि उनले मलाई त्यो गीत फेरि गाउन अनुरोध गरे, मैलै गाएँ, उनले रेकर्ड गरे र चार–पाँच पटक दोहो¥याई दोहो¥याइ सुनेपछि उनले त्यो गीत गाएर हामीलाई सुनाए । एक जना नर्वेलीले नेपाली गीत गाएको त्यो पनि केही समयमा सुनेको भरमा, विश्वास नै गर्न नसकिने भयो मेरो लागि । उनले ठूलो ताली पाए र आउने क्रिसमसमा त्यो गीत सार्वजनिक रुपमा गाउने उनले प्रतिबद्धता जाहेर गरे । त्यस कुराले मलाई निकै आनन्दित बनायो । तत्पश्चात हामी नर्वेली रात्रि भोज गर्नेतर्फ लाग्यौं । उसिनेको गँगटा, मटरकोसा र उसिनेको आलु त्यस रात्रि भोजको मुख्य खाना थियो । खाना खाएर घर फर्कंदा रातको १० बजेको थियो । सूर्यास्त हुने छाँटकाँट थिएन । घर आएपछि माम्मीले मलाई भोलि क्रुज चढेर फिओर्ड हेर्न जाने जानकारी गराइन् । भोलिपल्ट बिहान उठ्दा आठ बजेको थियो । ब्रेकफाष्ट सकेर घरबाट निस्किँदा ९ः१५ भएको थियो । त्यहाँबाट हामी स्टाभान्गरको बन्दरगाह पुगेर क्रुजमा चढ्यांै फिओर्ड हेर्न भनेर । 

के हो फिओर्ड ?

नर्वे पुग्नुभन्दा अगाडि मलाई फिओर्ड के हो भन्ने जानकारी थिएन । त्यसैले होला म ज्यादै उत्सुक थिएँ । हुन पनि बन्दरगाहबाट हरेक आधा आधा घण्टामा एउटा क्रुज टन्नै पर्यटक लिएर फिओर्डको  लागि छुट्ने रहेछ । क्रुज चढेपछि माम्मीले मलाई फिओर्डबारे जानकारी गराइन् । फिओर्ड हिम नदीले अंगे्रजी अक्षर युको आकार काटेको ठूला ठूला समतल अग्ला समुद्रको जगमा ठडिएको चट्टानको समूह रहेछ । यस्ता दुई चट्टानको बीचको ताल हँुदै पानीजहाज क्रुज अगाडि बढ्दो रहेछ । हाम्रो सेती र काली नदीले बनाएको साँघुरो गल्छीको ठीक विपरीत फिओर्ड बीचको गल्छीहरु धेरै चौडा हुने अनि कहीँ त ससाना उपत्यका जस्तै देखिने रहेछ । दुवैतिरको कडा धारिलो अनि भिरालो चट्टान, केही चट्टान बीचबाट निस्केका झरना, फिओर्डको तल्लो भागमा रहेको हरियाली, सफा स्वच्छ निलो पानीले हरेक पयर्टकको मनलाई आनन्दित गर्दो रहेछ । क्रुजको छतमा बसी फिओर्ड बीचको गल्छी हुँदै अगाडि बढ्दा स्वर्गीय आनन्दको अनुभव हुने रहेछ ।

पर्यटकको इच्छाबमोजिम क्रुजमा बसी फिओर्ड अवलोकन ३ घण्टादेखि लिएर लगातार ३ दिनसम्म गर्न सकिने रहेछ । फिओडबारे जानकारी दिने क्रममा माम्मीले नर्वेको २५ सय किलोमिटरको समुद्र किनारमा १२०० फिओर्डहरु भएको बताइन् । यी फिओर्डहरु प्राग्ऐतिहासिक कालमा हिम नदीहरु पग्लने क्रममा बनेका रहेछन् । यी फिओर्डहरुको जग समुद्रको सतहभन्दा पनि गहिरोसम्म हुने गर्छन् भन्ने पनि थाहा पाइयो ।  पानीको गुणस्तरको कुरा गर्दा फिओर्ड बीचका तालहरु हिउँदमा स्वच्छ सफा पानीको हुने र यिनीहरु उत्तर एटलान्टिक नुनिलो महासागरसँग जोडिएको कारण फिओर्ड बीचको ताल र समुद्र जोडिने ठाउँहरुमा कतै ताजा पानी र कतै नुनिलो पानी र कतै दुवै गुणका पानी मिसिएको अवस्थामा हुने जानकारी पनि पाइयो । तर वर्षाकालमा आकासे पानी परेको कारण फिओर्ड बीचको तालको पानीको सतह बढ्न गई समुद्र र तालको दोभान इलाकाका पानीहरु धेरै कम नुनिलो हुने गर्दछन् भन्ने थाहा लाग्यो ।  

करिब तीन घण्टा क्रुजमा बसी फिओर्ड, त्यस बीचको ताल, झरना उपत्यका हेरी स्टाभान्गर बन्दरगाहमा फर्कंदा दिनको दुई बजिसकेको थियो । माम्मीले अर्को एक दिन स्टाभान्गर बस्ने अनुरोध गरेकी थिइन् तर युरेलको १५ दिने टिकट अवधि सकिनुअगावै म जर्मनी फर्किसक्नुपर्ने कारण त्यसै दिन राति ११ बजेको रेल लिएर ओस्लो फर्कने उद्देश्यसहित घर फर्की आफ्नो रुकसेक लिएर रेलवे स्टेसन आएँ । माम्मीले मलाई रेलवे स्टेशन पु¥याइ दिइन्, उनलाई नेपाल भ्रमण गर्ने निम्तो दिएर म स्टाभान्गरबाट विदा भएँ ।