प्रा. डा. शास्त्रदत्त पन्त

विदेशी दाताको निर्देशनमा देशका योजना चलाउने जस्ता समस्याहरु संवेदनशील रुपमा आ–आफनै ठाउँमा विद्यमान छँदै छन् । अर्कातिर शोषित, पिडित, दलितहरु स्वयं उत्थानका लागी सक्षम छैनन् । यिनलाई कति समयमा कसरी सरदर नेपालीको स्तरमा उठाउन सकिन्छ भन्ने तर्फ सरकारको दीर्घकालिन निति तथा कार्यक्रमहरु पनि छैनन् । यिनको समष्टी जात वा वर्गको उत्थान नहुनुमा राज्यको तर्फबाट दुईतर्फी गल्ती हुनु हो । पछिलो गल्ती अभिलेख नहुनु र दोस्रो राष्ट्रिय मूलनिति नबन्नु हो । त्यो भएको भए दलले शासन सत्ता हातमा लिएको ३० वर्ष भइसक्दा देशका सबै महिला, दबिएका, दुर्गमबासी, तराईबासी, आदिबासी - जनजाति, आदि सबैको स्तर माथि उठिसकेको हुने थियो । तर आजसम्म एउटा पनि भरलाग्दो कामको थालनी भएको छैन । 

एउटा उदाहरण यो कुरा बुझ्न सजिलो होस् । नेपालको बोटे जातिको पुख्यौली पेशा डुङ्गा तार्नु र माछा मारेर जीवन यापन गर्नु हो । स्थानियबाट बाली उठाउँथे र अस्थायीबाट भाडा लिने गर्थे । तिनको अरु सिप सम्पति केही थिएन, छैन । विकासका नाममा नेपालभरि धमाधम झोलुङगे पुल, सडक आदि बन्दै थिए । तिनका रोजगार खोसिँदै गए । २०२१ सालदेखि थालिएको व्यावसायीक शिक्षा पनि विदेशी निर्देशित भएकाले लेखा, कृषि, कार्पेन्ट्री र गृह विज्ञानमा सिमित भएकाले अरु व्यावसाय व्यावसायीक शिक्षाका विषय बन्न सकेनन् । पुल निर्माणका साथसाथै जनसंख्याको आधारमा बोटेलाई विशेष व्यावसायिक शिक्षाको व्यवस्था गरिदिन राज्यले प्रयास गरेन । बोटेहरुले बोटिङ (Boating, Yatching, Kayaking, Rafting, etc) मत्स्य पालन (Fish Farming, Fishiculture) पौडी (Swimming) गोता खोरी (Diving) जस्ता विषयमा उच्च स्तर सम्मको व्यवसायीक शिक्षा पाउनु पर्थ्यो । सो भएन । उनीहरुको वंशज ज्ञान (Hereditary Practical Knowledge) मा सिद्धान्त (Theory) हुँदैन, केवल प्राक्टिकल मात्र हो । त्यसै कारणले सृजनशील विवेकको प्रयोग गरेर समय सापेक्ष रुपमा आवश्यक सुधार गर्न सकेनन् । आज त्यो जात नै पछाडि परेको छ । अब उ दलित, पिडित वा जनजातिमा गनिएको छ र उसलाई गाविस, जिविस वा संसदमा एउटा सिट आरक्षण गरि नारा लगाउँदैछन् दलहरु । एउटा सिट आरक्षण गर्दैमा त्यो जात माथि उठदैन । नेपालमा पिछडिएका जातलाई सधैँ पिछडिएको अवस्थामा राखिराख्दा अर्को भुल हुन्छ । आरक्षणले त्यो जात उत्थान हुन्छ कि सम्पूर्ण बोटे व्यावसायिक र  उच्च शिक्षा पाएर ? आरक्षणले जाति र वर्गको उत्थान हुँदैन, व्यवस्थित बस्ती पद्धतिमा मात्र हुन्छ ।

जब डुङ्गा चलाउने ठाउँमा पुल हाल्ने योजना सुरु भयो, त्यसले पार्ने प्रभावको कसैले अध्ययन नै गरेनन् । पुल हाल्दा प्रत्येक घरधुरी बाली उठाएर जीवन धान्ने बोटेको विकल्प रोजगार के हो भन्ने कुरा राज्यले वेवास्ता गर्‍यो । यसरी एउटा निर्माण गरेर अर्को विनाश गर्ने अझ भनौँ सानो कुरा निर्माण गरेर ठुला कुराको विनाश गर्ने परम्पराले हामीले सबैको जीवनस्तर उचाल्ने पद्धति विर्सियौँ । सर्वे भवन्तु सुखिन: सूत्रको नै अपव्याख्या गर्‍यौँ । यो एउटा नमुना उदाहरण मात्र हो । यसरी हामीले दैनिक जीवनका आवश्यकतामा आधारित माटाका भाँडा, जडिबुटी, खल, लोहोरो–सिलौटो, कागज, कम्वल, चोयापोत्रा, जुत्ता सिलाई, ठेकाठेकी जस्ता हजारौँ रोजगारलाई व्यावसायिक गर्न सकेनौँ । प्रविधिलाई जोगाउन हुर्काउन सकेनौँ । हाम्रो बौद्धिक सिदान्त विपरित नारीलाई आफनो क्षेत्रमा पुरुष सरह शिक्षा र रोजगार दिन सकेनौँ । फलतः लैङ्गिक द्वन्दलाई निम्ता दियौँ । आज पनि हामीले राजनितिकरण गरेर दलका मुठीभर नेताको निहित स्वार्थको लागी आफनो जात, वंश, संस्कार र संस्कृतिलाई तिलाञ्जली दिईरहेका छौँ । त्यसो गर्नाले हामीलाई दाता र गैससका रुपमा देखिएका विदेशी सल्लाहकार साक्षी बसेर अझै झुक्याइरहेका छन् । अपनत्व बिर्सेर विदेशीको सिको मात्र गरेर आफू पछाडि परेका छौँ । पौरस्त्या सभ्यतामा जापानले मात्र त्यो भुल गरेन र उ प्रगतिको शिखरमा पुग्न सकेको छ । 

यसरी गुमाई रहेका छौँ पुख्यौली पेशा र लडाईरहेका छौँ संस्कारसँग नमिल्ने योजनाहरु । आज हामीले अपनत्व गुमाइरहेका छौँ । माथि भने जस्तै बोटेलाई व्यावसायिक शिक्षा दिएको भए उनीहरु नेपालका सबै नदी, खोला र तालका मालिक हुन्थे । उनीहरु ठुला–ठुला गोताखोर र पौडीबाज हुन्थे । जलक्रिडा र त्यससँग सम्बन्धित पयर्टन उगोग्हरुका मालिक उनीहरु नै हुन्थे । नेपालका मस्त्य विशेष र मस्त्य उद्ध्योगपति उनीहरु नै हुन्थे । चिसोपानीका मिठा मसला र महंगाा र ट्राउट माछा निर्यातहरु उनीहरुको नै हुन्थे । उनीहरुले नै जल प्रदुषण हुनबाट देशलाई बचाउँथे । यदि राज्यले उक्त दुई गल्ती नगरेको भए कुमालले आर्थिक र मानसिक दुवै अवस्थामा कमजोर हुनु पर्दैन्थ्यो । यी दुवै स्तरमा मानिस माथि उठेपछि जात लुकाउने र आरक्षण माग्नुपर्ने थिएन । उनीहरुका समकक्षी मारवाडी, थकाली, बाहुन, क्षेत्री सबै हुने थिए । त्यस बखत जातको बारले छेक्ने थिएन । 

सिद्धान्त : नेपालको जातीय समस्या समाधान हुनसक्छ । आज यदि राष्ट्रले राष्ट्रिय मुल निति बनाएर अध्यावधिक अभिलेखका आाधारमा बंशज रोजगारलाई व्यावसायिक रोजगार बनाइ दिएको भए नेपाल अहिलेसम्म विकसित र उन्नत देशका रुपमा स्थापित भईसक्ने थियो । हामीले खाँचो शिक्षा खास गरेर व्यावसयिक शिक्षा अपनाउन नसक्नुमा विदेशीको लहैलहैमा दौडनु हो । अझै त्यतिले नपुगेर बंशज सिप हस्तान्तरण गर्ने व्यावसाय – जस्तै माटाका भाँ, गहना, काठका काम, कविराजी, बुनाई, सिलाई ) लाई पनि बालश्रमको नारा लगाएर नयाँ पुस्तालाई सिक्नबाट वञ्चित गराईएको छ । त्यसरी बालश्रमको अपव्याख्या गर्ने हो भने त स्कुलमा पढ्नु, खेलकुद गर्नु पनि शोषण हो । बरु घरमा सिकिने पैत्रिक बंशज व्यावसायलाई नै विद्यालयमा पनि त्यही विषयको सैद्धान्तिक व्यावसायको ज्ञान दिन आवश्यक थियो, छ ।

यदि त्यसो गरेको भए आज दमाईहरु नेपालका गार्मेन्ट उद्ध्योगका मालिक हुने थिए । उनीहरु वाद्यबादन स्टुडियोका मालिक हुने थिए । गाइने होटल, फिल्म उद्ध्योगपति हुने थिए अथवा सिनेमा हलका मालिक बन्ने थिए । अनि त्यस्तै हुने थिए वादीहरु । कुसुण्डा र चेपाङहरुले रेड इण्डियन र एबोरजिनहरुको जस्तै आफनो संस्कृतिका म्यूजियम खडा गरेर पर्यटन केन्द्र स्थापित गर्ने थिए । कविराजले आफना छोराछारीलाई एलोपैथिक चिकित्सक बनाएर नेपाल भरी जडिबुटीको खेती गर्ने थिए । लाखौँ नेपालीलाई रोजगार दिएर वर्षि नै खरबौँ रुपयाँको औषधि निर्यात गर्ने थिए । सार्की जाति बासँबारी छाला जुता जस्ता कारखानाको मालिक हुने थिए । छालाका सामान निर्यात गरेर धेरै बाहुन क्षेत्रीहरुलाई आफना कर्मचारीमा नियुक्ति गर्ने थिए । प्रजापति अथवा कुमालेहरुले माटाका पुरातन पद्धतिलाई बदलेर केओलिन, चाईना क्लेका विशाल उद्ध्योगका मालिक हुने थिए । दैनिक उपभोगदेखि विद्युत उद्ध्योगसम्म उनीहरुको ठुलो बजार हुने थियो । छन्त्यालहरुको खानी, टनेल र ढुङ्गा उद्ध्योगलाई आधुनिककरण गरेर विश्वमा प्रतिष्ठा मात्र कमाउने थिएनन् । बल्कि ढुंङगा ईंटा निर्यात गेरेर सुनका ईंटा भित्रयाउने थिए । मगरहरुमा विद्यमान अपार सिप, लगनसिलता, मिहिनेतले नेपाली घरेलु हस्तकलाले विश्व बजार ढाक्ने थियो । त्यस्तै हुने थियो । गुरुङ, राई, लिम्बु, तामाङ, आदि जाती जनजातिको अवस्था ।