स्टकहोमबाट फिनलैण्डको तटिय शहर टुर्कु पुग्ने उध्देश्यका साथ रातीको पानी जहाज चढियो । जहाजमा सुत्ने ओछ्यानको लागि अतिरिक्त शुल्क बुझाएपछि मैले बेड पाए । दुइ तले चारवटा वेड भएको शयनकक्षमा मेरो अर्को पट्टी साइडमा म जस्तै ग्रीसको एक महिला विद्यार्थी पनि रहिछन् । पानयोट्टा रहेछ उनको नाम । उनी पनि फिनलैण्ड घुम्न एक्लै हिडेकी रहिछन् । म भने फिनलैण्ड घुम्ने क्रममा टुर्कुमा दुइ दिन बसी राजधानी हेलसिन्की तर्फ लाग्ने योजना भएको हुँदा हाम्रो गन्तब्य फरक परेको कारण भोली पल्ट पानी जहाजबाट ओर्लेपछि संगै ब्रेकफास्ट गरेर हामी छुट्टियौ । 

टुर्कुमा दुइ दिन बस्न चहानुको मेरो उद्देश्य त्यहाँकी याना भौरिनन नामकी एक फिनिस महिला साथीलाई मैलै इटलीमा भाषा सिक्दा चिनेको थिए । फिनलैण्ड जाने आफनो पहिले देखिनै सपना भएको हुँदा मैले उनीसँग लगातार पत्राचार गर्ने गर्थे । पानयौट्टा सँग छुट्टिना साथ मैले यानालाई फोन गरे र आफु टुर्कु आइपुगेको जानकारी दिए । एक घण्टा कुरे पछि उनी मलाइ लिन आइपुगिन् र मलाई ट्राममा लिएर गएर आफ्नो घर पुराइन् । 

घरमा पुगेर उनले आफ्ना माता पितासँग मलाइ परिचय गराइनन । दिनको साढे बाह्रवजे संगै लन्च गर्ने सहमति गरेर उनले मलाई आराम गर्ने कोठा, वाथरुम र साउना देखाइदिइन् । साउनमा नुवाइ धुवाइ गरेर आराम गरिसकेपछि म, याना र उनकी माता तिनजना डाइनिंग रुममा जम्मा भयौ । लन्च गर्ने क्रममानै टुर्कुमा हेर्न लायक ऐतिहासिक स्थलको बारेमा कुरा गर्दा यानाले त्यहाँ रहेको पुरानो दरवार सहितको क्याथेड्रल अवलोकन गर्ने सल्लाह दिइन र उनी आफैसँगै गएर मलाई क्याथेड्रल देखाइदिने इच्छा समेत ब्यक्त गरिन त्यसलाई मैले सहर्ष स्वीकार गरे र लन्च पछि हामी लाग्यौ टुर्कुको दरवार र क्याथेड्रल अवलोकन गर्न भनेर । 

टुर्कुको दरवार र क्याथेड्रल

यो दरवार र क्याथेड्रल पहिले फिनलैण्डको क्याथोलिक चर्च रहेछ तर पछि यो एभान्जेलिकल लुथेरान चर्चमा परिणत भएको रहेछ र लुथेरान चर्चका आर्कविशप यही बस्ने हुँदा यो सिंगै फिनलैण्डको केन्द्रिय लुथेरान चर्च रहेछ । यस्को साथै वास्तुकलाको दृस्टिकोणबाट यस चर्चले फिनलैण्डको ऐतिहासिक महत्व पनि वोकेको रहेछ । 

फिनलैण्डकै महत्वपूर्ण धार्मिकस्थल मध्य एक भएको कारण यहा विभिन्न ऐतिहासिक पर्वहरु मनाइएको कारण टुर्कुका जनताले गौरव गर्ने ऐतिहासिक सम्पदा भित्र पर्दो रहेछ । टुर्कुको आउरा नदीको किनारमा अवस्थित Old Great Square छेउमै यो चर्च रहेछ । हरेक दिन १२ वजे यो चर्चका घन्टा बज्दा पुरै टुर्कु शहर ध्वनिमय हुने रहेछ र क्रिसमस ताका फिनलैण्डका अरु शहरहरुबाट पनि धेरै मानिसहरु यहा क्रिसमस मनाउदा रहेछन् । 

मौलिक रुपमा १३औं शताब्दिमा काठले बनेको यो क्याथेड्रल सन् १३०० सम्म विशप रहने गरेको र फिनलैण्डको मुख्य चर्च रहेछ । फिनलैण्डको पहिलो विशप सेंन्ट हेरी यसै क्याथेड्रलमा बसेका रहेछन् । पछि १४औं र १५औं शताब्दिमा यस चर्च विस्तार गर्ने क्रममा ढुंगा प्रयोग गरिएको रहेछ । यस चर्च भित्र दर्शनयोग्य कुराहरु भनेको आठकुने गोथिक शैलीका स्तंभहरु, प्रार्थना गर्ने हल, संगीत कार्यक्रम गर्ने स्टेज र चर्चको गजुरको भित्री कलात्मक भाग पर्दो रहेछ । 

१५औ शताब्दिमा चर्चका उत्तर र दक्षिण मोहोडामा विभिन्न सन्तहरुमा समपर्ण गरिएको नया ४२ वटा गजुरहरु निर्माण भएका रहेछन् र छानालाई अग्लो वनाएर २४ मिटर कायम गरिएको रहेछ । तर सन १८२७ को ठूलो आगलागिमा परी यस टुर्कु शहर र यस चर्च नराम्ररी क्षति हुन पुगी पछि जिर्णोध्दार गरिएको रहेछ । जिर्णोद्धार पश्चात् १०१ मिटर अग्लो टावर पनि बनाइएको रहेछ जुन टावर र क्याथेड्रल टुर्कु शहरको सबै ठाउँबाट स्पष्ट देखिदो रहेछ । पछि धर्म सुधार जागरण (Reformation) ताका यो चर्च लुथेरान चर्चमा परिणत भएपछि यस चर्चलाई सिगार्ने काम भएको रहेछ । स्वेडिस कलाकार फ्रेडरिक वेष्टिनले बनाएको जेशस क्राइष्टको चित्र र जर्मन आर्किटेक्ट कार्ल लुडभीगले डिजाइन गरेको मुख्य प्रार्थना कक्ष (Altar) को भित्ता छोप्ने कलात्मक पर्दा Reredos निकै आकर्षक रहेछ । 

त्यसवाहेक चर्चका भित्ता र दलिनहरुमा रोहवर्ट विलहेल्मले वनाएका जेशस क्राइष्टका जिवन झल्कने रोमन शैलीका फ्रेस्को चित्रकारिता विश्वविख्यातनै मानिदो रहेछ । त्यसै गरी फिनलैण्डको चर्चको विकाशका दुइ महत्वपूर्ण घटना मध्य एक विशप हेनरीले पहिलो फिनीस नागरिकलाई क्रिश्चियन धर्ममा प्रवेश गराएको र फीनलैण्डको राजा गुस्ताभलाई फिनिस भाषामा मिखायल आग्रिकोलाले अनुवाद गरेको वाइवल (New Testament) बुझाएको अर्को चित्र पनि फिनिस कलाकारिताको अनुपम प्रस्तुति मानिदो रहेछ । त्यसै गरी यस चर्च भित्र विशप हेमिंग लगायत स्वेडिस राजकुमारी सिग्रीड र फीनलैण्डका सार्वजनिक जिवनका महत्वपूर्ण ब्यक्तिहरुको चिहान राखिएको रहेछ ।