काठमाडौं - रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेका छन् ।
रुसको रक्षा मन्त्रालयले ६ वटा क्षेत्रमा ८४ वटा युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । युक्रेनको वायु सेनाका अनुसार रुसले शनिबार राति देशका हरेक भागमा १ सय ४५ वटा ड्रोन प्रहार गरेको थियो।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षाका बीच यो आक्रमण भएको छ ।
रुसको इराननिर्मित ६२ वटा ड्रोन खसालेको र ६७ वटा हराएको युक्रेनी वायु सेनाले बताएको छ । थप १० वटा विमानले युक्रेनको हवाई क्षेत्र छोडेर रुसका साथै छिमेकी बेलारुस र मोल्दोभातर्फ प्रस्थान गरेको बताइएको छ ।
युक्रेनले मस्कोमाथि गरेको आक्रमण युद्ध सुरु भएयताको सबैभन्दा ठूलो आक्रमण हो । आक्रमणलाई यस क्षेत्रका गभर्नरले समेत विशाल भनेका छन् ।
मस्कोको रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो जिल्लामा अधिकांश ड्रोन खसालेको अधिकारीहरुले बताएका छन् ।
मस्कोको दक्षिण–पश्चिममा पर्ने रामेन्सकोयमा पाँच जना घाइते हुनुका साथै चार घरमा आगलागी भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । दक्षिणी युक्रेनको ओडेसामा ड्रोन आक्रमणबाट धेरै क्षति भएको छ ।
अमेरिकाको राष्ट्रपतिमा चुनाव जितेपछि ट्रम्पले द्वन्द्वलाई कसरी सामना गर्ने छन् भन्ने बारे अड्कलबाजी भइरहेको छ ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा एक दिनमै युद्ध अन्त्य गर्न सक्ने बताउँदै आएका थिए तर उनले त्यो कसरी गर्ने भन्ने बारे विस्तृत विवरण भने दिएका छैनन् ।
ट्रम्पका पूर्व सल्लाहकार ब्रायन लान्जाले आगामी प्रशासनले युक्रेनलाई रुसको भूमि फिर्ता लिने तर्फ भन्दा शान्ति स्थापनामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
0 comment