काठमाडौं - नेपाल प्रहरीको साइबर ब्यूरोले केवाइसी अपडेटका नाममा खातामा रकमान्तर गरेर ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापालाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए। उनीहरूले केवाइसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने,ओटिपी कोड माग्ने र त्यसका आधारमा पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।


0 comment