काठमाडौं - नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। वर्षा यामकाे समयमा पहिरो गएर सडक जोखिमपूर्ण हुनुका साथै दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले राति सडक बन्द गराएको हो।
नुवाकोटबाट काठमाडौं प्रवेशका लागि छोटो दूरीको माछापोखरी–टोखा–छहरे–त्रिशूली सडक खण्डमा यही भदौ १ गते सोमबारदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ। उनका अनुसार उक्त सडकमार्ग अन्तर्गत टोखा–छहरे सडक खण्डमा रातिको समयमा आवागमन बन्द गरिएको हो।
नुवाकोटबाट काठमाडौं प्रवेश गर्ने छोटो र मुख्य सडक मार्गका रूपमा रहेको शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा वर्षातका कारण अचानक लेदो, पहिरो तथा गेग्रान आई सडक पटक-पटक अवरुद्ध हुँदै आएकाले जिल्ला प्रशासन कार्यालय नुवाकोटले रातिको समयमा उक्त सडक खण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको छ। एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनबाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
वर्षातको समयमा अत्यन्त जरुरी काम नपरी घरबाहिर तथा रातिको समयमा यात्रा नगर्न र यात्राका क्रममा सावधानी अपनाउन सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालालाई प्रशासनले आग्रह गरेको छ। साथै, वर्षातका बेला रातिको समयमा अनावश्यक आवतजावत नगर्नसमेत सचेत गराइएको छ।


0 comment