काठमाडौं - विद्युत् महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार बाराको सिमरामा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले नागरिकको हस्ताक्षर संकलन सुरू गरिएको पार्टीले जनाएको छ ।
उज्यालो नेपालले विद्युत् महशुलमा कर खारेजीका साथै डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि रोकिएको बक्यौता रकम तत्काल असुली गर्न माग गरेको छ । बक्यौता असुलीमा सरकारले आलटाल गरिरहेको आरोप लगाउँदै पार्टीले जनताको आवाजलाई एकताबद्ध गरी सरकारलाई जवाफदेही बनाउन अभियान अघि बढाएको स्पष्ट पारेको छ ।
विद्युत् केवल राजस्व संकलनको माध्यम मात्र नभई उत्पादन,रोजगारी र आर्थिक समृद्धिको मुख्य आधार भएकाले यसमा लगाइएका अनावश्यक करहरू हटाइनुपर्ने पार्टीको तर्क छ ।
विद्युत्लाई सस्तो,सहज र प्रतिस्पर्धी बनाउन मूल्य अभिवृद्धि कर पूर्ण रूपमा खारेज हुनुपर्ने माग अघि सारिएको छ । सरकारले विद्युत् उपभोगलाई प्रोत्साहन गर्ने नीति लिनुको साटो उल्टै नागरिकमाथि कर थोपर्ने काम गरेको भन्दै उज्यालो नेपालले तीव्र विरोध जनाएको छ । उज्यालो नेपालले विद्युतको भ्याट खारेज,डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता असुली,स्वदेशी बिजुली खपतलाई प्रोत्साहन,इन्डक्सन चुलो वितरण तथा प्रयोगलाई प्रोत्साहन,ग्याँसको आपूर्ति सहज गर्न माग राखेको छ ।
हस्ताक्षर संकलन अभियानका क्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग), जिल्ला सदस्य नविन लामा, सरिता लामालगायत उपस्थित थिए ।


0 comment