काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तत्काल नेकपा एमालेसँग पार्टी एकता नहुने बताएका छन्। मंगलबार बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै एमालेसँग पार्टी एकता हुन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह समेत गरेका हुन्।

उनले चौथो महाधिवेशनबाट नेतृत्वमा रहेका मोहनविक्रम सिंह नेतृत्वको पार्टीबाहेक अन्य पार्टी नेकपामा एकीकृत भएको उल्लेख गरे। नेपालले यथास्थितिमा एमालेसँग पार्टी एकता सम्भव नभएको बताए।

सहसंयोजक नेपालले नेपाली कम्युनिस्ट पार्टी नै कम्युनिस्टहरूको मूल पार्टी भएको दावी गर्दै कम्युनिस्ट आन्दोलन अघि बढाउने दायित्वसमेत आफूहरूसँगै रहेको बताए।

उनले पार्टी समितिहरुलाई संख्यामा ठूलो र भद्दा देखिए पनि त्यो अल्पकालीन रहने र आगामी महाधिवेशनले पार्टी संगठनलाई चुस्त बनाउने विश्वास व्यक्त गरे।

उनले रास्वपा नेतृत्वको वर्तमान सरकारलाई हावाहुरीले बनेको सरकारको संज्ञा दिँदै यसले जनतालाई राहत सट्टा आहत दिएको बताए। जनतासँगै सरकारले छिमेकी राष्ट्र चीनलाई समेत चिडाएको उनले खुलासा गरे। उनले जनताको मुद्दा र असंलग्न परराष्ट्र नीतिबाट दायाँबायाँ हुन नदिन सरकारलाई खबरदारी गर्नुपर्नेमा जोड दिए।