HMS भिक्ट्री जहाज अवलोकन गरे पश्चात् हामी जर्मनी फर्कने क्रममा डोभर तर्फ लाग्यौ । डोभरबाट कालेइ हुँदै जर्मनीको किल पुगेर अन्तमा हामी फ्रान्कफर्ट आइपुग्यौ । मेरी महिला मित्रले मलाई त्यही छाडी उनी आफ्नो घर स्पायर तर्फ लागिन म भने वर्षा विदा नसकिएको कारण डेनमार्क, स्वेडेन फिनलैण्ड र नर्वे घुम्ने बिचारले १५ दिने यूरेल टिकट काटी उही दिन बेलुकाको रेल चढी लागे डेनमार्कको राजधानी कोपनहागेन तर्फ । बिहान कोपनहागेन पुगेपछि त्यहाँ रेलवे स्टेशनको  पर्यटन सूचनाकेन्द्रमा गएर कोपनहेगेनमा अवलोकन गर्न लायक कुरा के छ भनेर सोध्दा त्यहाको समुद्रको किनार लान्गेलिनीमा रहेको चट्टान माथिको सामुद्रिक कन्याको मुर्ति भन्ने थाहा पाइयो । रेलवे स्टेशनमा रहेको शौचालयमा विहानको कार्य सकी अनि केही नास्ता गरी हातमा कोपनहेगेनको शहरी नक्सा लिएर लागे कोपनहेगनको बन्दरगाहको किनारै किनारै लान्गेलिनी समुद्र  तट  तर्फ ।

एक घन्टा हिडी सकेपछि म त्यो मूर्ति भएको सामुद्रिक तटमा पुगे । त्यहा एक ठूलो चट्टान माथि ती सामुद्रिक कन्याको धातुको मूर्ति अडाइएको रहेछ । यो १ दशमलव २५ मिटर अग्लो अनि १७५ किलो तौल भएको ढलौटको मूर्ति एडभार्ड एरिकसनले बनाएका रहेछन् । यो मूर्ति वनाउदा कस्को नांगो शरिरलाइ आधार बनाइ सो अनुरुप दुरुस्त बनाउने भन्ने विषय उठान हुंदा त्यतिखेरको डेनमार्ककी प्रख्यात नर्तकि एलेन प्राइसको शरिरलाई हेरेर वनाउने निर्णय भएकोमा उन्ले मूर्तिकारको अगाडि नांगो हुन नमानेपछि मूर्तिकारकी आफनै श्रीमती एलिन एरिकसनको नांगो शरिरलाइ हेरेर डेनमार्कका लेखक हान्स क्रिश्चियान आण्डरसनले लेखेको परिको कथामा वर्णन गरे अनुरुप वनाइएको रहेछ । सन् १९१३ मा यो मूर्ति बनाइ चट्टानमाथि अडाएपछि पछिल्ला समयमा यो ठाउँ कोपनहेगेनको मुख्य पर्यटकस्थल बन्न पुगेको रहेछ । कोपेन हागेनको तटमा यो मूर्ति वनाइ सजाएपछि युरोपका अन्य समुद्री तटका सहरहरु विशेष गरी व्रसेल्स, न्यूयोर्क, रियो द जेनारियो र सिंगापुरमा पनि यस्तै मुर्ति वन्न पुगेको रहेछ । पछि एसिया, यूरोप अनि अमेरिकी महाद्धिपका अन्य समुद्र तटीय शहरहरुमा पनि यो मूर्तिको दुरुस्तै प्रति वनाइ राख्ने कार्य गरिएको रहेछ ।

यो मूर्ति बनाइ कोपनहागेनको समुद्री तटमा राखेपछि कट्टरपन्थिहरुले वारंवार यस मूर्तिमाथि आक्रमण गर्ने गरेका रहेछन् । सन् १९६४ को अप्रिल १४ मा  योरगन नासको नेतृत्वमा भएको हुलदंगाले यस मूर्तिको टाउको निकालेर गायव गरेपछि नया टाउको बनाइ जडिएको रहेछ । त्यसै गरी सन १९८४को जुलाइ २२ मा भएको हुलदंगाले यस मूर्तिको दाहिने हात काटेर मिल्काएकोमा दुइ दिन पश्चात फेलापरी पुन जडान गरिएको रहेछ । आधा घन्टा जति सो समुद्री तटमा वसी म पुन कोपनहेगेनको मुख्य शहरी केन्द्र तर्फ फर्के ।