लण्डनको सेन्ट पाउल क्याथेड्रल हेरी सिध्याएर हामी क्याम्पिंग साइट तिर लाग्यौ । भोली पल्ट विहानको हल्का नास्ता गरी बेलायती साम्राज्यको युद्ध सम्वन्धी सामाग्री राखिएको इम्पेरियल वार म्यूजियम हेर्न तर्फ लाग्यौं । 

इम्पेरियल वार म्यूजियम 

यो म्यूजियमलाई बेलायतको राष्ट्रिय म्युजियम भन्दा रहेछन । यस म्युजियमका शाखाहरु इंगलैण्डमा ५ वटा रहेछन ती मध्य तीनवटा लण्डनमा रहेछन् । सन १९१७ मा सासंद सर वालफ्रेड मोण्डको सक्रियतामा यस म्युजियमको स्थापना भएको रहेछ । यस म्यूजियममा बेलायती औपनिवेषिक साम्राज्य खडा गर्ने क्रममा भएका अनि पहिलो विश्वयुद्ध ताका भएका सैनिक र गैरसैनिक वलिदानहरुको संग्रह गरिएको रहेछ ।

सन् १९१४ पश्चात बेलायत र यसका पूर्व औपनिवेषिक देशहरु जो कमनवेल्थमा समाहित छन् उनीहरुसंग भएका विवाद सम्बन्धी कुराहरुलाई पनि यस म्यूजियममा राखिएको रहेछ । साच्चै भन्दा आधुनिककालको युद्धको इतिहास बुझ्न यस म्युजियमले उल्लेख्य योगदान गरेको रहेछ । बेलायती राजा जर्ज पाचौंले सन् १९२० मा यो म्यूजियमको उद्घाटन गर्दा यो म्यूजियम क्रिस्टल प्यालेसमा थियो । पछि वेथलेहम रोयल हस्पिटल भएको यो ठाउमा सन् १९३६ मा यस म्यूजियमलाई सारिएको रहेछ ।

दोश्रो विश्वयुद्ध कालमा यस म्यूजियममा प्रदर्शन गर्न पर्ने वस्तु थपिएको कारण यस म्यूजियमलाई आमरुपमा विस्तार गरिएको रहेछ । सन १९७० मा आएपछि प्रदर्शन गर्नु पर्ने ऐतिहासिक वस्तुहरुको परिमाण वढ्दै गएको कारण यस म्युजियमका शाखाहरु खुल्न गएका रहेछन जस्मा डक्सफोर्ड र रोयल नेभी क्रुजरमा रहेका म्यूजियमहरु पर्दा रहेछन् । लण्डनको साउथवाकमा रहेको यस म्युजियममा भने ब्यक्तिगत र सरकारी कागजपत्रको संग्रह, फोटो, फिल्म भिडियो रेकर्ड, वृहत पुस्तकालय, कला संग्रह, सैनिक यातायातका साधन, वायुयान, यद्धका सामाग्रीहरु प्रदर्शनमा राखिएका रहेछन् ।

यस म्युजियमलाई बेलायतको मात्रै नभै पूर्व बेलायती कोलोनी अन्तर्गतका राष्ट्रहरु जो ब्रिटिस कमन वेल्थ संलग्न छन उनीहरुको पनि हो भनेर बुझाउनको लागि यस म्यूजियम संचालन गर्ने ट्रष्टिहरुको वोर्डमा भारत, दक्षिण अफ्रिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिलैण्डलाई पनि राखिएको रहेछ । म्यूजियम खोलिए पछिको पहिलो सार्वजनिक विदाको अवशरमा एकै दिनमा ९४१७९ जनाले यस म्यूजियम हेरेका रहेछन् र सन १९२१ को नोभेम्वरमा आइपुग्दा २२ लाख ९० हजार ७१९ जनाले यस म्युजियम हेरी सकेका रहेछन् ।  

दोश्रो विश्व यद्धमा जव संसारनै लडाइमा संलग्न थियो तर यो म्यूजियम भने लडाइ संवन्धी सामाग्रीहरु संकलन गर्न ब्यस्त रहेछ र त्यतिखेर वनाइएका युद्ध सम्वन्धी डकुमेन्टरीहरु हालपनि देखाइदो रहेछ । युद्धताका जर्मन वमको शिकार भएको यो म्यूजियमको पानी जहाज कक्ष ध्वस्त भएको रहेछ ।

त्यसपछि सन् १९६६ देखि पुन यो म्यूजियमलाई विस्तार गर्ने काम शुरु गरिएको रहेछ । वालक वालिकालाई यद्ध सम्वन्धी म्यूजियम देखाई उनीहरुलाई युद्ध प्रति मोह जगाउन खोजेको भन्दै सन १९६८ मा तिमोथि जोन भन्ने ब्यक्तिले यस म्यूजियममा आक्रमण गरी दुइ लाख पाउण्ड वरावरको क्षति पुराएका रहेछन् । यिनलाई त्यस्तो विध्वंशात्मक कारवाही गरेको कारण चार वर्ष कैद सजाय गरिएको रहेछ । पछि फाल्कलैण्ड यद्धमा अर्जेन्टिना माथि विजय हासिल गरेपश्चात त्यआ प्रयोग भएका हातहतियार पनि यहाँ सजाइएको रहेछ ।