हेम्पटन कोर्ट दरवार र त्यसको बगैचा हेरि सक्दा दिन वाँकीनै भएको हुंदा क्याम्पिंग साइट तर्फ लाग्नु अघि हामीले लण्डनको सेन्ट पाउल क्याथेड्रल हेर्ने निधो गरी त्यता लाग्यौ । 

सेन्ट पाउल क्याथेड्रल 
यो क्याथेड्रल लण्डनको विशपको कार्यालय भएको चर्च रहेछ । खास यो ठाउमा सन् ६०४ मा नै अंग्रेजी चर्च रहेको र सन् १६६६ को लण्डनको आगलागीमा परी नष्ट भएपछि अहिले भएको सेन्ट पाउल नाम भएको चर्च १७ औं शताब्दिको अन्त्य तिर निर्माण भएको रहेछ । लण्डन शहरको उंचो भागमा रहेको र यो चर्चको उचाइ १११ मिटर भएको र सन् १७१० देखि १९६७ सम्म लण्डनको सबैभन्दा अग्लो भवनमा यो चर्च गनिदो रहेछ । बारोक शैलीमा निर्माण भएको यो चर्चको डिजाइन सर क्रिस्टोफर रेनले गरेका रहेछन ।

विश्वको सबैभन्दा ठूलो गजुर (डोम) सहितको चर्चमा गनिने यो क्याथेड्रल संयुक्त अधिराज्य बेलायतमा भने लिभरपुलको क्याथेड्रल पछि दोश्रो ठूलो चर्चमा पर्दो रहेछ । यसै चर्चमा एडमिरल नेल्शन जो ड्यूक अफ वेलिंगटन थिए उन्को, सर विन्स्टन चर्चिल अनि आइरन लेडी भनेर चिनिने बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गारेट थेचरको अन्त्येष्टी कार्यक्रम, महारानी भिक्टोरियाको शासनको ५०औं वर्षगाठ समारोह, प्रथम र द्धितिय विश्व युद्ध समाप्ती पछिको शान्ती सन्देश कार्यक्रम आदि भएका रहेछन् । हालकै महारानी एलिजावेथको शासनको २५औं वर्षको कार्यक्रम अनि प्रिन्स अफ वेल्स र डायनाको विवाहपनि यसै चर्चमा भएको रहेछ ।

दोश्रो विश्वयुद्धकाल सन् १९४१ मा बमप्रहारबाट सामान्य क्षति पुगी जोगिएको यो क्याथेड्रलमा नियमितरुपमा दैनिक पुजाआजा र प्रार्थना सभा गरिदो रहेछ । रोमको भेटिकन स्थित सेन्ट पिटर क्याथेड्रलको वास्तुशैलीबाट प्रभावित यो चर्चको भित्रि भागका दलिन अड्याउने विशाल स्तंभहरु, संगीतकार्यक्रमको लागि वनाइएको उत्तरी र दक्षिणी मञ्च र त्यस अगाडिको तिनवटा लहर भएको विशाल हल हेर्दा तत्कालिन यूरोपेली देशहरुमा चर्च र क्याथेड्रल वनाउने कुरामा ठूलै प्रतिष्पर्धा हुदो रहेछ भन्ने स्पष्टै देखिदो रहेछ । खास दुइ तलामात्र भएको यो क्याथेड्रल यति अग्लोसम्म हुन सक्दो रहेछ भन्ने उदाहरण परको थेम्स नदिको किनारबाट हेर्दा अनुमान लगाउन गाहारो हुंदो रहेछ । १७५ मिटर लम्वाइ र ३७ मिटर चौडाइ भएको यस क्याथेड्रलको हलमा वस्नेहरु पादरी पुरोहित, क्याथेड्रलका कर्मचारी गायक र संगीतकारको लागि भनी लहरहरु छुट्टाएको हुंदो रहेछ । चर्चका भित्री भाग ग्रिनिंग गिब्सनका काष्ठ र प्रस्तरकलाका मूर्तिहरुबाट, थोर्नहिलको पेन्टिंगबाट अनि जिन टिजोउको धातुकलाबाट सजिएको रहेछ ।

त्यसै गरी विलियम रिचमण्डको मोज्याक कलाको पनि राम्रो प्रस्तुति यस क्याथेड्रलमा देख्न पाइने रहेछ । यस क्याथेड्रल भित्र ड्यूक अफ वेलिंगटन, फ्लोरेन्स नाइटिंगल लगायत २०० वटा स्मारक र चिहानहरु रहेको पाइयो । क्याथेड्रलको दक्षिण पश्चिम पट्टिको घण्टाघर सन १७०९ मा नै बनेको रहेछ र त्यहाँ रहेको घडी काम नलाग्ने भएपछि सन् १८९३ मा अर्को घडि राखिएको रहेछ ।