बकिंगघम दरवार, दरवार संगैको वगैंचा र भिक्टोरिया मेमोरियल हेर्दाहेर्दै समय वितेको पत्तै भएन । वेलुकीको ५ वजिसकेको थियो । हामी विस्तारै हाम्रो क्याम्पिंग साइट तिर लाग्यौ । भोलीपल्ट विहान १० वजे तिर हल्का नास्ता लिएर हामी लण्डनको हेम्पटन कोर्ट दरवार र त्यसको बंगैचा हेर्न तर्फ लाग्यौ । 

हेम्पटन कोर्ट 

यो हेम्पटनकोर्ट पनि कुनै वेलाको शाही दरवार रहेछ र लण्डनबाट ११ माइल टाढा दक्षिण पश्चिममा अवस्थित रहेछ । थेम्स नदिको किनारमा बनेको यो दरवारको निर्माण कार्य सन १५१५ मा कार्डिनल थोमास वोल्सेले शुरु गराउन लगाएको रहेछ, पछि सन १५२९ राजा हेनरी आठौंले यो दरवारलाई आफनो निजि स्वामित्वमा लिएका रहेछन् । पछि १७ औ शताब्दिमा राजा विलियम तेश्रोले यसलाई पेरिशको भर्साइ दरवार जस्तै वनाउने उध्देश्यले यस दरवारलाई विस्तार गरेका रहेछन् । एकै दरवारमा दुइ टुडोर र वारोक वास्तु शैली प्रयोग गरी वनाएको हुंदा यो दरवार विश्वमानै अनुपम मानिदो रहेछ । गोथिक वारोक शैलीकै लागि भनेर इटालियन वास्तुकर्मीहरुलाई बेलायत पुराइएको रहेछ जस्को नेतृत्व जोभानी दा माइआनोले गरेका रहेछन् ।  

यो दरवार र वगंचा बेलायतको मुख्य पर्यटक केन्द्रहरु मध्ये एक भएको रहेछ । यहा राजघरानाले संग्रह गरेका ५४२ वटा कलाकृतिलाई राम्ररी प्रदर्शनमा राखिएको रहेछ । यहा एक पुरानो तर चालु अवस्थामा रहेको ज्योतिषिय घंटाघर पनि रहेछ । यसले महिना, ऋतु, वर्ष, मिति लगायत लण्डनको पुलको कतिमाथि सम्म थेम्स नदिको पानी वढेको छ भनेर समेत देखाउदो रहेछ । यस दरवारमा राजा रानीको शयनकक्षको अतिरिक्त शाही पाहुनाको लागि भनेर पनि कक्षहरु छुट्टाइएको रहेछ ।

यस दरवारको सुन्दर वस्तुमा रातो इटले कलात्मक पाराले वनाएको धुवाजाने चिम्नी पनि पर्दो रहेछ । स्टुआर्ट वंशको समयमा पनि यहा राजदरवार कायमै रहेको रहेछ र राजा जेम्स प्रथमले सन् १६०४ तिर यही दरवारमा प्युरिटनका प्रतिनिधिहरुलाई भेट दिएका रहेछन जस्लाई बेलायतको इतिहासमा हेम्पटन कोर्ट सम्मेलन भनिदो रहेछ । विलियम तेश्रो र मेरी दोश्रोको शासनकालमा यस दरवारलाई पूर्णरुपमा जिर्णोद्धार गरी नया जस्तै वनाइएको रहेछ । यो दरवारमा वस्ने अन्तिम बेलायती राजा जर्ज दोश्रो रहेछन् ।

जर्ज दोश्रोले यो दरवार छाडेपछि त्यसपछिका कोही राजा वा रानीले त्यस दरवार पाइला टेकेका रहेनछन् । पछि १७९६ मा गएर यस दरवारको ठूलो हल जिणोद्धार गर्न शुरु गरिएको रहेछ जुन कार्य ४२ वर्ष पछि गएर सन १८३८ मा रानी भिक्टोरियाको शासन कालमा मात्रै सम्पन्न भएको रहेछ र त्यसपछि मात्र यो दरवारमा सर्वसाधारण जनता र पर्यटकहरुको लागि खुला गरिएको रहेछ । यस दरवार अवलोकन गर्ने पर्यटकहरुको संख्या वार्षिक एक करोडको हाराहारीमा हुने र उनीहरुले विशेष गरी दरवारको कार्टुन ग्यालेरी, रानी मेरीको शयनकक्ष र कलापूर्ण शिशाका झ्यालहरु वढी  रुचाउदा रहेछन् ।

हेम्पटनकोर्ट बगैंचा

दरवार वाहेक यहा एक ठूलो वगैचा जसभित्र टेनिस कोर्ट र विश्वकै ठूलो अंगुरको खेती पनि रहेछ । यो वगैचा सन १७०० मा बनाइएको रहेछ र पछि १७६९ मा अंगुरको बगैंचा थपिएको रहेछ । हरेक वर्ष अंगुर टिप्ने गरिदो रहेछ । यही वगैंचामा राजा रानीले आयोजना गर्ने रात्रीभोज हल (वैंकेट) पनि रहेछ र उनीहरुले पालेका जनावरहरुको मूर्ति पनि राखिएको रहेछ । यो वंगैचा भन्ने वित्तिकै बेलायती जनताले राजा हेनरी आठौंलाई संझिदा रहेछन् ।

उनैले वनाएको यो वगैंचालाई पूर्णरुपमा विकाश गर्ने कार्य राजा विलियम तेश्रो र रानी मेरी दोश्रोले गरेका रहेछन । रानी मेरी दुर्लभ विरुवा वनस्पती भनेपछि हुरुक्कै हुनेहुंदा विश्वका विभिन्न देशहरुबाट फुल विरुवा ल्याई यसै वगैंचा भित्र ९८ वटा नर्सरी स्थापना गरी फुल विरुवा हुर्काउने गर्ने गरेकी रहेछिन् । यसैकारणले गर्दा पनि यो वगैंचा विश्व वनस्पती उद्याननै वन्न पुगेको रहेछ । यहाँ ६० एकड जमिनमा फुल विरुवा मात्रै र ७५० एकड जमिन वनस्पती र पोखरीले ढाकेको रहेछ ।